सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

प्रतिनिधि सभामा ओलीले बताएका सरकारका आठ प्राथमिकता

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक सेवा प्रभावकारी बनाउन र नागरिकको दैनिक जीवनलाई सहज बनाउन आठ काम गर्ने प्रतिबद्धता जनाएका छन्।

प्रधानमन्त्री ओलीले आइतबार प्रतिनिधि सभामा विश्वासको मत माग्दै यी काम गर्ने प्रतिबद्धता जनाएका हुन्।

प्रधानमन्त्री ओलीले नेपालभित्र जुनसुकै भौगोलिक क्षेत्रमा बसोबास गर्ने नेपालीलाई राज्यले उपलब्ध गराउने नागरिकता, राष्ट्रिय परिचयपत्र र सवारी चालक अनुमतिपत्र अनलाइन प्रणालीबाट उपलब्ध गराउने व्यवस्था गर्ने बताएका छन्।

त्यसबाहेक सवारी साधन दर्ता बिलबुक नवीकरण र, घरजग्गा लगायतका सम्पत्ति खरिद–बिक्री कर, विद्युत्, खानेपानी लगायतका सरकारी शुल्क तथा कर लाइनमा बसेर होइन अनलाइनबाट तिर्ने  व्यवस्था मिलाउने छौं। स्वास्थ्य तथा कृषि प्राविधिक लगायतका सेवाहरू पनि अनलाइन प्रणालीबाटै उपलब्ध हुने बताएका छन्।

नागरिक प्रशासन र सुरक्षा निकायलाई सक्षम, व्यावसायिक र जनताप्रति उत्तरदायी बनाउने प्रधानमन्त्रीको प्रतिबद्धता छ।

सार्वजनिक सेवा–प्रवाहको गुणस्तर र प्रभावकारिता बढाउने, विद्यालय शिक्षा विधेयक, निजामती विधेयक लगायत सदनमा विचाराधीन एवम् निर्माण गर्नै पर्ने करिब दुई दर्जन नयाँ ऐन तर्जुमा गर्ने प्रधानमन्त्री ओलीले बताएका छन्। 

नेपाललाई आकर्षक अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने ओलीको प्रतिबद्धता छ। 

त्यस्तै जैविक विविधता तथा पर्यावरण प्रणालीको दिगो संरक्षण गर्ने र जलवायु परिवर्तनका असर कम गर्नेगरी रणनीति तर्जुमा गरी कार्यान्वयन गर्ने प्रधानमन्त्रीले बताएका छन्। 

जलवायु परिवर्तन तथा माउण्टेन इकोनमीप्रति विश्वको ध्यानाकर्षण गर्ने समेतको उद्देश्यले प्रस्तावित सगरमाथा सम्वादको परराष्ट्र मन्त्रालयले तयारी गर्ने उनको उद्घोष थियो।

निरोगी नेपाल यो सरकारको मुख्य स्वास्थ्य नीति हुने ओलीको भनाइ छ। यसका लागि निरोधात्मक र प्रतिरोधात्मक दुवै पद्धति अवलम्बन गरिने, गर्भवती महिला, ज्येष्ठ नागरिक, फरक क्षमता भएका नागरिक र बेसहारा नागरिकहरूको स्वास्थ्योपचार तथा पोषणको जिम्मा सरकारले लिने ओलीको भनाइ छ। 

सुकुम्बासी, मुक्त हलिया, मुक्त कमैया र अव्यवस्थित बसोबासीका समस्या समाधान गरिने उनले बताए।

हरेक कामलाई मर्यादित बनाइने ओलीको भनाइ छ।  ‘श्रमिकको हक, हित र कल्याण सरकारको प्राथमिकता हुनेछ। कार्यथलोमा हुने सबै प्रकारका विभेदको अन्त्य गरिनेछ। श्रमिक तथा कर्मचारीलाई सामाजिक सुरक्षा प्रणालीमा आवद्ध गरिनेछ,’ प्रधानमन्त्रीले सम्बोधनका क्रममा भने।

वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित गरिने ओलीको भनाइ छ। विदेशबाट फर्केका व्यक्तिहरूको ज्ञान, सीप र पुँजीको सदुपयोग गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अभियान नै सुरू गर्ने ओलीले बताए।

खेललाई राष्ट्रिय एकता, अन्तर्राष्ट्रिय प्रतिष्ठा र मित्रता अभिवृद्धि गर्ने माध्यमका रूपमा विकसित गरिने ओलीले प्रतिबद्धता जनाए।

उनले सामाजिक सदभाव, राष्ट्रिय एकता, सांस्कृतिक र धार्मिक सहिष्णुता एवं उदार मूल्यहरूको अभिवृद्धि गरिने पनि बताए।

कानुनको शासन, स्वतन्त्र न्यायालय, शक्ति पृथक्कीकरण, नियन्त्रण र सन्तुलन र जनताका हक र अधिकारको प्रत्याभूति गरिने उनको प्रतिबद्धता थियो। न्यायालयप्रति जनताको विश्वास र भरोसा अभिवृद्धि गर्न आवश्यक सुधारका प्रक्रिया अघि बढाइने पनि ओलीले बताए।

भर्खरै

सम्बन्धित खबर

Language »