सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

निर्धारित समयभन्दा महिना दिन ढिलागरी आज आउँदैछ धरानको बजेट

काठमाडौं। यसअघि दुई–दुई पटकसम्म आयोजना हुन नसकेको धरान उपमहानगरको नगरसभा आइतबार हुने भएको छ।

असार १० भित्र आयोजना भइसक्नु पर्ने नगरसभा विवादका कारण झण्डै महिना दिन पछाडि धकेलिएको हो।

मेयर हर्क साम्पाङ एकातिर अरु सबै जनप्रतिनिधि अर्कातिर हुने अवस्थाले धरान साउन १ देखि बजेटविहीन अवस्थामा छ। नगरसभा हुन नसक्दा बजेट र नीति कार्यक्रम आउन सकेको थिएन।

‘करार कर्मचारीहरुको विषयमा रहेको विवादमा सहमति भयो’, धरानका प्रवक्ता सूर्यबहादुर भट्टराईले भने ‘आज (आइतबार) तीन बजे नगरसभा बस्दैछ।’

करारमा रहेका कर्मचारीहरुलाई हटाउने गरी मेयर साम्पाङले कार्यपालिकामा प्रस्ताव ल्याएको भन्दै अरु जनप्रतिनिधिले विरोध गरेका थिए। त्यस्तै कार्यपालिकाले निर्धारण गरेको सीमाभन्दा बढी बजेटहरु विभिन्न शीर्षकमा राख्न मेयरले दबाब दिएपछि धरानको नगरसभा अनिश्चित बन्दै आएको थियो।

तीन दिनदेखि विभिन्न चरणमा भएको छलफलपछि कर्मचारी विवादबारे सहमति भएको छ।  ‘धरान उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालयमा २०७४–०६–२९ भन्दा अगाडि वा पछाडिका करार र अस्थायी सेवामा कार्यरत कर्मचारीहरुले स्थानीय सरकारी सेवा (गठन तथा सञ्चालन) ऐन २०८० को दफा १६ को ‘ग’ ९३० बमोजिम लोकसेवामा भाग नलिने कर्मचारीहरुका लागि विशेष सुविधा (गोल्डेन ह्याण्डसेक) उपलब्ध गराउने प्रयोजनका लागि आवश्यक प्रतिवेदन तयार गर्न र वजेट व्यवस्थापनका लागि लेखा प्रमुख  भेषराज अधिकारीको संयोजकत्वमां ३ सदस्यीय समिति गठन गरी सो समितिले दिएको प्रतिवेदनको आधारमा कार्यपालिकामा छलफल तथा निर्णय गरी कार्यान्वय गर्ने निर्णय’ भएको छ।

त्यस्तै अनुशासन र कार्यकुशलता मूल्यांकन गर्दै करार र ज्यालादारीमा कार्यरत कर्मचारीहरुको करार नवीकरण गर्ने सहमति पनि भएको छ।

१५ औं  नगरसभा हुने बाटो खुलेको हो।आइतबारको नगरसभाको पहिलो एजेण्डा आर्थिक बर्ष २०८१–०८२ को नीति तथा कार्यक्रम रहेको छ भने दोस्रो एजेण्डामा आर्थिक विधेयक, विनियोजन विधेयक र बजेट तथा कार्यक्रम राखिएको छ भने तेस्रो एजेण्डामा विविध रहने भनिएको छ।

यसअघि असार १० गते सैनिक भवनमा नगरसभा शुरु नै नभई भाँडिएको थियो भने असार ३१ गते पनि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अडोटरियम हलमा सभा बस्न सकेको थिएन। असार १० गते बजेट विना नगरसभा गर्ने कि नगर्ने भन्ने विवादले हुन सकेन भने पछिल्लो पटक करारमा रहेका कर्मचारीहरुको म्याद थप गर्ने कि नगर्ने भन्ने विवादले नगरसभा हुन सकेको थिएन।

असार भित्र नगरसभाबाट बजेट, नीति तथा कार्यक्रम पास हुन नसकेपछि धरान बजेट होलिडेको स्थितिमा छ।

उपमहानगर बजेटविहीन अवस्थामा हुँदा मेयर साम्पाङ भने एक जना पत्रकारले प्रश्न गरेकै भरमा ‘धरानको प्रतिष्ठा गिराएको’ आरोप लगाउँदै उनी विरोधी अभियानमा सक्रिय थिए, छन्। अहिले पनि पत्रकार सन्जिता धमलामाथि अस्पतालमै पुगेर आक्रमण गर्ने आफ्ना सात जना समर्थकलाई प्रहरीले पक्राउ गरेको विरोधमा उनी फेसबुकमा निरन्तर प्रहरी र गृह प्रशासनविरुद्ध लागिरहेका छन्।

भर्खरै

सम्बन्धित खबर

Language »