सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

एमाले कर्णाली अध्यक्ष गुलाबजंग शाहविरूद्ध यौन दुर्व्यवहारको उजुरी, पार्टीले छानबिन गर्दै

काठमाडौं।

नेकपा (एमाले) कर्णाली प्रदेश अध्यक्ष गुलाबजंग शाहविरूद्ध यौन दुर्व्यवहारको उजुरी परेको छ।

शाहले आफूलाई पटक-पटक यौन उत्पीडन गरेको भन्दै पार्टीमै क्रियाशील एक महिलाले प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नै सम्बोधन गरेर उजुरी दिएको पाइएको हो।

यौन दुर्व्यवहारजस्तो गम्भीर प्रकृतिको आरोप लागेपछि एमाले अनुशासन आयोगले दुई महिनाअघि नै कार्यदल बनाएर छानबिन गरिरहेको एक नेताले बताए।

ती नेताका अनुसार पार्टी अनुशासन आयोगले नेत्र पन्थी संयोजक रहेको तीन सदस्यीय कार्यदल बनाएको छ। कार्यदलले अध्यक्ष शाहसँग बयान लिएको ती नेताले जानकारी दिए।

कार्यदलले सुर्खेत पुगेर त्यहाँका मुख्यमन्त्रीसमेत रहेका पार्टी स्थायी कमिटी सदस्य यामलाल कँडेल, प्रदेश उपाध्यक्ष टेकराज पछाईं, सचिव ध्रुव शाहीसँग पनि सोधपुछ गरेको ती नेताको दाबी छ।

एमाले अनुशासन आयोग प्रमुख केशव बडालले पनि शाहबारे कार्यदल बनाएर छानबिन भइरहेको बताए। पार्टीमा उजुरी परेकोबारे उनले खुलाएनन्।

‘पत्रपत्रिकामा विभिन्न ढंगले कुरा आउन थालेपछि दुई महिनाअघि कार्यदल बनाएका हौं, कार्यदलले काम गरिरहेको छ। कार्यदलले प्रतिवेदन ल्याएको छैन। प्रतिवेदनका आधारमा निष्कर्षमा पुग्नुपर्ने हुन्छ,’ उनले भने।

पीडित भनिएकी महिलाले एमाले अध्यक्षलाई सम्बोधन गरेर दिएको उजुरी सेतोपाटीले फेला पारेको छ। अध्यक्ष ओलीलाई पीडित भनिएकी महिलाले गत जेठ ११ गते नै पत्र बुझाएकी थिइन्।

शाहलाई आवश्यक कारबाही गरी न्याय दिलाउन उनले माग गरेकी छिन्। उनले आफू आठ वर्षदेखि शाहको यौन शोषणमा पर्दै आएको पत्रमा उल्लेख गरेकी छिन्। 

‘एमालेका तत्कालीन सल्यान जिल्ला इन्चार्ज हाल कर्णाली प्रदेशको पार्टी अध्यक्ष गुलाबजंग शाहले विगत ८ वर्ष पहिलादेखि नै मलाई विभिन्न ढंगबाट मेरो सोझोपन, अपरिपक्क उमेर, मेरो घर गएर बाबा दाइहरूसँग पनि तपाईंको छोरीलाई नेता बनाउँछु भन्ने, अनेक सपना देखाउने हुदाँ मलाई साँच्चिकै अभिभावक होला भन्ने लागेर मैले विश्वास गरेँ,’ उनले उजुरीमा लेखेकी छन्, ‘जसका कारण मलाई अनेक प्रलोभनमा, दबाब पारेर ४ वर्षसम्म बिएड अध्ययनको सिलसिलामा सुर्खेतमा उनकै सल्लाहले गएँ। उनले आफ्नो योजनामा त्यहाँ विभिन्न डर–त्रास, धम्कीका साथ राखे। सुर्खेत रहँदा पटक–पटक यौन शोषण हिंसा, शारीरिक तथा मानसिक रूपमा तनाब दिएका छन्।’

केही समयअघि अध्यक्ष शाह र आफू रहेको एक भिडियो पनि बाहिरिएको र त्यसपछि निकै मानसिक तनाब झेल्नुपरेको उनले बताएकी छन्।

‘त्यतिबेला मेरोे बिहे पनि भइसकेको अवस्था थियो। त्यो भिडियोबारे सत्यतथ्य छानबिन गर्नुपर्छ भन्दा उल्टै मलाई दबाब दिएर गुलाबजंग शाहका विश्वास पात्र गोविन्द पुन, महेश देवकोटा लगायतले मलाई जबरजस्ती पत्रकार सम्मेलन गर्न लगाएका थिए,’ उनले भनेकी छिन्। 

उनीहरूले तयार गरेको पत्र आफूले पत्रकारका सामु भनेको पीडित महिलाको भनाइ छ। उक्त भिडियोका सन्दर्भमा त्यतिबेला प्रहरीको साइबर ब्यूरोमा छानबिनका लागि मुद्दा दर्ता गर्ने सहमति भएको पनि उनले बताएकी छन्।

‘त्यतिबेला गुलाबजंग शाहले मलगायत हाम्रो परिवारलाई फोन, फेसबुक सबैतिर ब्लक गरे। मलाई जिल्ला कमिटी सदस्यबाट हटाएका थिए,’ उनले भनेकी छन्।

अध्यक्ष शाहले अरूलाई पनि गलत नजरले हेर्ने गरेकाले यथाशीघ्र न्यायका निम्ति अपिल गरेकी छन्।

‘उनले मलाई जस्तै सल्यानमा पार्टीभित्रका अरू दिदी–बहिनीहरूलाई गलत नजरबाट हेर्ने, मैले भनेको मानेपछि संसद–पालिकामा टिकट दिलाउँछु भनेर प्रलोभन दिने पनि गरिरहेका छन्,’ उनले भनेकी छिन्, ‘न्यायको लागि विगत तीन वर्षदेखि सल्यानका पार्टीका नेताहरू लगायत स्थायी कमिटी सदस्य यामलाल कँडेललाई समेत फोन गरेँ। तर कसैले पनि सहयोग गर्ने अवस्था रहेन। सहयोग गर्न चाहेकाहरू पनि गुलाबजंग शाहको डर–धम्कीले गर्दा कोही खुलेर बोल्नसम्म सकेनन्।  जसका कारण मैले आफै अब अन्त्यमा एकपटक अध्यक्ष, हामी सबैका रक्षक केपी ओलीले मात्रै मलाई न्याय दिलाउनु हुन्छ भन्ने विश्वासका साथ यो निवेदन पेस गरेको छु।’ 

पटक–पटक शाहसँग जोडिएर आउने भिडियोले पार्टी र आफ्नो बेइज्जत भइरहेको उनले बताएकी छिन्।

‘यसै विषयले म विवाहित एक नारी मान्छे न घर न माइत जाने अवस्था छ। यो विषय छानबिन गरी निज नैतिक पतन नेता गुलाबजंग शाहलाई कारबाही गरी सल्यान जिल्ला तथा कर्णाली प्रदेशमा एमालेलाई बलियो बनाउनसमेत म अनुरोध गर्छु। पार्टीको प्रमुख भएर उसले गरेका अन्याय अत्याचारहरूको स्वतन्त्र छानबिन गरी कडाभन्दा कडा कारबाही गर्न अनुरोध गर्छु,’ उनले भनेकी छिन्। 

प्रदेश अध्यक्ष शाहले भने पुरानो भिडियोलाई लिएर इस्यु (मुद्दा) बनाइएको दाबी गरे। सेतोपाटीसँगको कुराकानीमा उनले उजुरीमा परेजस्तो विषय नभएको प्रतिक्रिया दिए। 

उनले यो घटनाका सन्दर्भमा पार्टी अनुशासन आयोगले आफूलाई सोधपुछ गरेको भने स्वीकार गरेका छन्। ‘विषय आएपछि एमालेजस्तो पार्टीले सोधपुछ गर्ने नै भयो। तर पुरानै भिडियोको विषय हो। नयाँ कुरा केही पनि होइन,’ उनले भने।

एमाले पोलिटब्यूरो सदस्य रहेका शाह गत असोजमा कर्णाली प्रदेश अध्यक्ष निर्वाचत भएका थिए। 

भर्खरै

सम्बन्धित खबर

Language »