सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सय वर्षपछि पेरिसमा फर्किएको ओलम्पिक

काठमाडौं। विश्वको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता यसपटक फ्रान्सको राजधानी पेरिसमा शुक्रबारदेखि औपचारिक रूपमा हुँदैछ ।

जुलाई २६ देखि अगस्ट ११ सम्म पेरिसमा हुने ३२९ खेलमा विश्वभरका करिब १०,५०० खेलाडीले ओलम्पिक पदकका लागि प्रतिस्पर्धा गर्नेछन्। जसमा नेपालका ७ खेलाडी पनि सहभागी हुनेछन् ।

अगस्ट २८ देखि सेप्टेम्बर ८ सम्म पेरिसमा आयोजना हुने पाराओलम्पिक खेलमा ४ हजार ४ सय खेलाडीले ५४९ इभेन्टमा पदकका लागि आफ्नो उत्कृष्ट प्रदर्शन गर्न चाहन्छन्। जहाँ नेपालबाट दुई खेलाडीले प्रतिस्पर्धागर्नेछन्। 

पाराओलम्पिकमा १८४ देश र ओलम्पिकमा २०६ देशका खेलाडी सहभागी छन्।

खेल अवधिभर १ करोड ५० लाखभन्दा बढी पर्यटक पेरिस पुग्ने अपेक्षा गरिएको छ।

सय वर्षपछि ओलम्पिक खेल पेरिसमा फर्किएको हो। यसअघि पछिल्लो पटक सन् १९२४ मा पेरिसमा ओलम्पिक भएको थियो।

पेरिस ओलम्पिक महिला र पुरुष खेलाडी समान संख्यामा सहभागी हुने पहिलो ओलम्पिक बन्दैछ। जहाँ ५२५० पुरुष र ५२५० महिला एथलीटहरूले प्रतिस्पर्धा गर्नेछन्।

अधिकांश खेलहरू पेरिसको बाहिरी भागमा रहेको ओलम्पिक स्टेडियम- स्टेड डे फ्रान्समा हुनेछन्। 

यसबाहेक ओलम्पिक खेलका १५ स्थान र सेन्ट्रल पेरिसमा नै पाराओलम्पिकका लागि ११ स्थान निर्धारण गरिएको छ ।

ड्रोन आक्रमण जस्ता धम्कीका बीच फ्रान्सेली सरकारले ओलम्पिक उद्घाटन समारोहमा दर्शकको संख्या घटाएको छ।

उद्घाटनमा मध्य पेरिसबाट सेइन नदीको छ किलोमिटर लामो खण्डमा विभिन्न देशका खेलाडीहरूको टोली डुंगाहरूमा परेडमा देख्न सकिनेछ।

यसअघि सेन नदीको किनारमा ६ लाख मानिसले कार्यक्रम हेर्न पाउने योजना थियो । तर अब सरकारले त्यहाँ तीन लाख आमन्त्रित पाहुना मात्रै आउन दिने बताएको छ।

फ्रान्स सरकारले सुरक्षाका लागि करिब २० हजार सैनिक र ४० हजारभन्दा बढी प्रहरी तैनाथ गरिरहेको छ।

सुरक्षा व्यवस्थाका लागि फ्रान्सले अन्य देशका करिब दुई हजार सैनिक र प्रहरी अधिकारीको सहयोग लिनेछ।

पेरिस ओलम्पिकमा आफ्नो टोली पठाउन नपाउने दुई देश छन्। पेरिस ओलम्पिकमा रुस र बेलारुस दुवै टोली सहभागी हुने छैनन्।

युक्रेनमाथि आक्रमण गरेको कारण रुसलाई पेरिस ओलम्पिकबाट टाढा राखिएको छ ।

यी दुवै देशका खेलाडीले पेरिस ओलम्पिकमा ‘न्युट्रल एथलीट’का रूपमा प्रतिस्पर्धा गर्ने अवसर पाउन सक्छन्।  तर ‘तटस्थ खेलाडी’ भने ओलम्पिकको उद्घाटन समारोहमा सहभागी हुन पाउँदैनन्। पदक जितेपछि पनि न राष्ट्रिय गान बजाइन्छ, न त राष्ट्रिय झण्डा फहराइन्छ ।

रुसले आफ्ना खेलाडीलाई गरेको व्यवहारप्रति ‘अत्यन्तै क्रोधित’ भएको बताएको छ। रुसले यसै वर्ष सेप्टेम्बरमा ‘विश्व मैत्री खेल’ आयोजना गर्ने घोषणा गरेको छ ।

यसअघि सन् १९८४ मा सोभियत संघले लस एन्जलस ओलम्पिक खेल बहिष्कार गरेर यस्तै कार्यक्रम आयोजना गरेको थियो।

भर्खरै

सम्बन्धित खबर

Language »