सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

ललितपुरमा व्यवसायीमाथि खुकुरी प्रहार गर्ने ८ जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका–९ छेडामा व्यवसायी मनोज बाँनियामाथि खुकुरी प्रहार गरेको आरोपमा ८ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयल ललितपुरले ८ जनाविरुद्ध ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । ज्यान मार्ने उद्योगको कसुरमा ८ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर भएको छ । जसमा ३ जना भने फरार प्रतिवादी छन् ।

बाँकी ५ जनालाई भने पक्राउ गरेर प्रतिवादी बनाइएको छ । यसअघि सुरुमा ललितपुर प्रहरीले ६ जनालाई पक्राउ गरेको थियो । पक्राउ परेका आयुमान अधिकारीको हकमा भने प्रमाण नदेखिएको भन्दै मुद्दा चलाइएको छैन । बाँकी ५ पक्राउ प्रतिवादीहरुमा धराने भनिने विभाग गुरुङ, ललितपुरको भैसेपाटीका बाबा भनेर चिनिने राजेश केसी, आलिंकन लामिछाने, सुरेन्द्र महर्जन र दीपक वान्तवा राई छन् ।

फरार प्रतिवादीहरुमा प्रवीण महत, सुजन श्रेष्ठ र सोप्निल भण्डारी छन् ।

बाबा भनिने राजेश केसीको समूहले छेडामा कटेज बनाउँदै गरेका बाँनियामाथि ७ असारमा खुकुरी प्रहार गरेका थिए । बाँनिया र बाबाबीच जग्गा सम्बन्धी विवाद रहेको खुलेको छ । सोही विषयलाई लिएर बाँनियामाथि खुकुरी प्रहार भएको पाइएको ललितपुर परिसरका एसपी नरेशराज सुवेदीले बताए ।

खकुरी प्रहारबाट घाइते भएका बाँनियालाई नख्खुस्थित मेडिसिटीमा उपचार गराइएको थियो । उनको बायाँ हात, खुट्टा र तीघ्रामा गहिरो चोट लागेको थियो । अहिले भने उनी डिस्चार्ज भइसकेका छन् ।

खकुरी प्रहार घटनामा पक्राउ परेका अधिकांश व्यक्ति आपराधिक पृष्ठभूमिको रहेको खुलेको छ । धराने भनिने विभाग गुरुङ यसअघि ठगी र सरकारी कागजात कीर्ते प्रकरणमा फरार रहेका अभियुक्त रहेको खुलेको छ । ठगी कीर्तेमा उनको समूहलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको थियो भने उनी फरार हुँदै आएका थिए ।

दीपक वान्तवा भने बाँनियामाथि खुकुरी हान्ने मुख्य व्यक्ति रहेको खुलेको छ । उनी खुकरी प्रहार गर्नकै लागि भनेर धनकुटादेखि काठमाडौं आएको खुलेको छ । ललितपुरको भैंसेपाटीस्थित गोकुल आवासका बाबाको मुख्य योजनामा उनले खुकुरी प्रहार गरेको खुलेको छ । राई यसअघि लागु औषधको कसुरमा जेल बसेर छुटेका व्यक्ति रहेको खुलेको प्रहरीले जनाएको छ ।

त्यसैगरी अर्का व्यक्ति सुरेन्द्र महर्जनको पृष्ठभूमि पनि आपराधिक रहेको खुलेको छ । जावाखेलका स्थानीय महर्जन प्रहरी हत्यामा १० वर्ष जेल बसेका व्यक्ति रहेको पाइएको छ ।

कालिमाटी वृत्तका सादा पोशाकका प्रहरी जवान विष्णु राना मगरको हत्या आरोपमा महर्जन १० वर्ष जेल बसेर २०७१ सालमा छुटेको खुलेको छ । जवान राना मगर र समृद्ध गुरुङबीच आर्थिक लेनदेन भएको थियो ।

२९ वैशाख २०६१ मा समृद्ध हाल पक्राउ परेका सुरेन्द्रलाई लिएर प्रहरी जवान राना मगरलाई भेट्न कालिमाटी पुगेका थिए । सो क्रममा विवाद भएपछि उनीहरुले खुकुरी प्रहार गरेर जवान विष्णुको हत्या गरेका थिए ।

उक्त घटनामा काठमाडौं जिल्ला अदालतले सुरेन्द्रलाई सर्वश्वसहित जन्मकैद र समृद्धलाई जन्मकैदको फैसला सुनाएको थियो । जिललाको फैसला उल्टाउँदै उच्च अदालत पाटनले समृद्धलाई ५ वर्ष र सुरेन्द्रलाई १० वर्ष कैदको सजाय सुनाएको थियो ।

मुद्दा चलाइएकाहरुविरुद्ध घाइतेको उपचारमा खर्च भएको ५ लाख ६१ हजार ३३० रुपैयाँ भराउनुका साथै क्षतिपूर्ति समेत माग दाबी गरिएको छ । मुलुकी फौजदारी अपराध संहिताको दफा १८३ को ज्यान मार्ने उद्योगको कसुर उनीहरुले गरेको भन्दै १० वर्षसम्म कैद र १ लाख रुपैयाँसम्म जरिवाना समेत मागदाबी गरिएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »