सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कांग्रेस, एमाले र माओवादी उपनेताविहीन

काठमाडौं । प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले दलको संसदीय दलको उपनेता हालसम्म चयन गर्न सकेका छैनन् ।

नेपाली कांग्रेस र माओवादी केन्द्रका संसदीय दलको उपनेता पद निर्वाचन देखि नै रिक्त छ भने एमालेका उपनेता सुवासचन्द्र नेम्बाङको निधन पछि अर्को व्यक्ति तोकिएको छैन ।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ अनुसार संघीय संसद् र प्रदेशसभामा कम्तीमा दुई स्थानमा निर्वाचित हुने दलले संघ र प्रदेश संसदीय दल गठन गर्नसक्ने व्यवस्था छ । निर्वाचित सांसदहरू मध्येबाट एक जना दलको नेता हुने र दलको नेताले उपनेता छनोट गर्ने अधिकार छ ।

कांग्रेसका सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाले वर्तमान संसदका लागि उपनेता हालसम्म तोकेका छैनन् ।

०७९ पुस ६ मा संसदीय दलको नेता चुनिएका देउवाले डेढ वर्षसम्म उपनेता चयन गरेका छैनन् । ०७४ सालको निर्वाचन पछि संसदीय दलका नेता बनेका देउवाले तत्कालीन समयमा उपसभापति विजयकुमार गच्छदार उपनेता तोकेका थिए ।

पार्टी वरीयतामा दोस्रो स्थानमा रहेका उपसभापति पूर्णबहादुर खड्का दलको उपनेताको आकांक्षी भए पनि देउवाले मनोनीत गरेका छैनन् ।

कांग्रेसका संसदीय दलको उपनेतामा इच्छा राख्नेमा नेताहरू विमलेन्द्र निधि, शशांक कोइराला लगायत पनि छन् ।

१३ साउनमा संसद् भवन बाहिर पत्रकारसँग कुरा गर्ने क्रममा नेता कोइरालाले सभापति देउवालाई उपनेता चयन गर्न ध्यानाकर्षण गराए ।

दलको नेताको अनुपस्थितिमा उपनेताले संसदीय बागडोर सम्हाल्ने भएकाले तोक्न देउवालाई आग्रह गरे ।

कोइरालाले पत्रकारसँग भने, ‘उपनेता बनाउनुपर्छ । तर किन त्यो भएको छैन, शेरबहादुर देउवाजीलाई नै सोध्नुपर्ला ।’

सुवास नेम्वाङको गत भदौ २६ गते निधन भएसँगै एमाले संसदमा उपनेताविहीन भएको छ । पार्टी अध्यक्षले केपी शर्मा ओलीले २०७९ सालको निर्वाचन सकिएको करिब चार महिना पछि (२९ फागुन, २०७९) नेम्बाङलाई उपनेता तोकेका थिए ।

पार्टी पदीय वरीयताले उपनेताका लागि स्वभाविक पात्र उपाध्यक्षद्धय विष्णु पौडेल र उपमहासचिव पृथ्वीसुब्बा गुरुङ देखिए पनि ओलीले उक्त पद रिक्त राखेका छन् ।

एमालेको बिहीबार बसेको बैठकले पार्टी केन्द्रीय कमिटीमा उपाध्यक्ष लगायत कतिपय मनोनयन गरे पनि संसदीय दलका बैठकहरुमा उपनेता चयनको विषय उठान भएको छैन ।

संसदको तेस्रो दल माओवादी केन्द्रका अध्यक्ष एवं उक्त पार्टीका संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्ड पनि दलको उपनेता चयन गर्न चासो देखाएका छैनन् ।

संसदीय दलको नेतामा सर्वसम्मत चयन भएका प्रचण्डले १८ महिनासम्म दलको उपनेता चयन गरेनन् । माओवादी केन्द्रबाट संसदीय दलको उपनेतामा उपमहासचिवद्वय जनार्दन शर्मा र वर्षमान पुन आकांक्षी छन् ।

संसदीय दलको उपनेताको जिम्मेवारीमा दलको नेता अनुपस्थिति हुँदा संसदीय दल वैठकको अध्यक्षता गर्ने हुन्छ । दलको नेता अनुपस्थिति बैठकबाट निर्णय गर्नुपरे समन्वय गर्ने अधिकार उपनेतालाई रहेको हुन्छ । संसदीय दलको नेता माथिको अविश्वास प्रस्ताव आएको अवस्थामा छलफल गर्नुपर्दा उक्त बैठकमा अध्यक्षता उपनेताले गर्नुपर्ने हुन्छ ।

१४ दल रहेको प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, एकीकृत समाजवादी र जनमतले भने दलको उपनेता चयन गरेका छन् ।

संसदको चौथो ठूलो शक्ति रास्वपाले उपनेतामा विराजभक्त श्रेष्ठलाई चयन गरेको छ । राप्रपामा बुद्धिमान तामाङलाई संसदीय दलको उपनेता बनाएको छ । एकीकृत समाजवादीमा दलको उपनेता राजेन्द्र पाण्डे छन् । जनमत पार्टीमा अब्दुल खान दलको उपनेता छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »