काठमाडौं । साउने झरीसँगै उर्लंदो खहरे मिसिएको त्रिशूलीको बहाव उच्च छ । बर्खायाममा लेदो मिसिएर आउने त्रिशूली सङ्लो हुने कुरै भएन । हाइ करेन्टका कारण गोताखोर कुनै एक ठाउँमा स्थिर भएर खोजी गर्न सक्ने अवस्था छैन ।
त्रिशूलीको मध्ये भेलमा पुग्ने बित्तिकै थकित हुने अवस्था छ । तर सशस्त्र प्रहरीको गोताखोर टोली २१ दिनदेखि अनवरत रुपमा त्रिशूलीको भेलमा हेलिएको हेल्यै छ ।
गोताखोरले चितवनको सिमलतालदेखि भारतको गण्डक नहरसम्म २१ दिनसम्म खोजी गर्दा समेत दुईवटा बस र ४१ यात्रुको अवस्था अझै अज्ञात छ ।
पछिल्लो केही दिउँसो पानी नपरेकाले खोजी तथा उद्दारमा केही सहज त भएको छ, तर राति पानी परेका कारण त्यतिकै असहज पनि । त्यसका बाबजुद गोताखोरहरू दिनभर खोजीमा जुट्छन् । खोजी गरिसकेको ठाउँमा केही संकेत गरेर साँझ निथुक्क हुँदै गोताखोर कुरिनटारको उकालो चढ्छन् ।तर रातभरको पानीले अघिल्लो दिन लगाएको संकेत चिन्नसक्ने अवस्था हुँदैन । नदीको सतह बढ्छ, अनि फेरि रनभल्लु । पहिल्यै खोजेको ठाउँमा दोहोर्याइतेहेर्याइ होइन, दर्जन बढी पटक पनि खोजिन्छ । तर अवस्थामा केही फरक छैन ।
करिब ६५ यात्रु सहित हराएका दुई बस हराएको छ । २४ शव फेला परे पनि ४१ यात्रुको अत्तोपत्तो छैन । दुर्घटनाको सुरुवाती दिनमा नदी किनारमा बाक्लो संख्यामा उपस्थित भएका आफन्तजनहरू अहिले आश मारेर घर फर्किसके । गोताखोरहरू भने अझै आश मारेका छैनन्, त्रिशूलीमा दिनहुँ हेलिएका छन् ।
यसरी त्रिशूलीमा २१ दिनसम्म हेलिने गोताखोरका कमाण्ड हुन् सशस्त्रका सई रमेश थापा । बंगलादेशमा गएर पहिलो पटक गोताखोर तालिम लिएका उनी १२ वर्षसम्म निरन्तर गोताखोरीमा सक्रिय छन् । १२ वर्षमा उनले निकै उतार चढाव देखे ।
केही व्यक्तिलाई जिवित्तै उद्दार गर्दा संसार जितेजस्तो भान भयो । अहिले २१ दिनसम्म खोज्दा पनि सबै मान्छेको शव नभेटिँदा उनी त्यति नै चिन्तित छन् । ‘जो जहाँको भए पनि बेपत्ता हुनु भएको छ । सास नभए पनि लास मात्रै उपलब्ध गराउन पाए पनि एउटा चित्त बुझाउने बाटो हुन्थ्यो’ रमेश थापाले अनलाइनखबरसँग भने, तर अहिलेसम्म भेट्न नसक्दा निकै दुःख लागेको छ ।’गोताखोर कमाण्डर रमेश थापाको टोली बिहानै खाजा खाएर त्रिशूली नदीमा पुग्छ । कमाण्डर थापाको साथमा १९ जनाको गोताखोर टोली पालैपालो त्रिशूलीमा हेलिन्छ । दिउँसोभर घामपानी नभनी बेपत्ताहरूको खोजीमा जुट्छन् ।
यसरी नदीमा पस्नु निकै पीडादायी हुन्छ । ‘९९ प्रतिशत जोखिम नै हो, बाँकी १ प्रतिशतको आशामा पानी मुनी जान्छौं’ गोताखोर कमाण्डर थापा भन्छन्, ‘गोही घिस्रिए जसरी ढुंगा समाउँदै नदीभित्र पस्छौं । नदिले बगाएर ल्याएका गेग्रान, ढुंगा मुढाले हिर्काएर घाइते समेत बनाउँछ ।’ स्थलचर प्राणी मान्छे जलचरको रुपमा काम गर्नुपर्दा निकै कठीन हुने उनले अनुभव छ ।
पानीमा जति गहिराइमा गयो, त्यति गाह्रो हुन्छ । भन्छन्, ‘नेपालको हकमा ३३ फिट गहिराइमा पुगेपछि ६ लिटर फोक्सो थियो भने खुम्चिएर ३ लिटरमा आउँछ । अर्थात् आधा खुम्चिसक्छ । यो पानीको प्रेसरको कारण हो ।’
फोक्सो खुम्चिएपछि स्वभाविक रुपमा असहज हुन्छ । अर्कोतर्फ पानीभित्र देखिन भन्दा पनि इसाराले छोएर काम गर्नुपर्दा असहज हुने उनी बताउँछन् । यस्तो जोमिख मोलेर खोजी तथा उद्दारमा जुटेको विषय उनीहरू सकेम्म घर परिवारलाई धेरै सुनाउँदैनन् । ‘हामी गोताखोरलाई भन्दा तनाब आफन्त घरपरिवारलाई हुने रहेछ । त्यसैले यस्ता धेरै कुराहरू म घर परिवारमा शेयर नै गर्दिनँ’ भन्छन् ।