सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पाँच लाख नयाँ संगठित सदस्य थप्दै जनता समाजवादी पार्टी (जसपा) नेपाल


ललितपुर, जनता समाजवादी पार्टी (जसपा) नेपालले पाँच लाख नयाँ संगठित क्रियाशील सदस्य थप्ने लक्ष्य निर्धारण गरेर आधारभूत संगठन निर्माण अभियान सुरु गर्दैछ । भदौ पहिलो साता जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले उद्घाटन गर्नेगरी तयार गरिएको संगठन निर्माण अभियान मङ्सिरको मसान्तसम्म जारी रहनेछ ।


केन्द्रीय र प्रदेश सत्ताबाट बाहिर बसेको जसपा नेपालको सिङ्गो पार्टी पंक्ति आगामी चार महिनासम्म विशुद्ध संगठन निर्माणमा होमिने र त्यसका लागि जसपा नेपालले आफ्ना केन्द्रीय नेतृत्वलाई एक दिवसीय प्रशिक्षण समेत दिएको छ ।
ललितपुरको महालक्ष्मी स्थान ६, सानोगाउँको थसी ब्याङक्वेटमा आइतबारदेखि जारी केन्द्रीय समिति बैठक जारी रहेको छ । बैठकको दोस्रो दिन सोमबार दुई सय १५ जना केन्द्रीय सदस्यहरुलाई संगठन निर्माण अभियानबारे प्रशिक्षण दिइएको छ ।
केन्द्रीय सदस्यहरुलाई प्रशिक्षण दिँदै जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले आगामी चार महिनासम्म संगठन निर्माण, बिस्तार, सुद्धिकरण र सुद्दढिकरण अभियानमा होमिन सम्पूर्ण पार्टीपंक्तिलाई निर्देशन दिनुभएको छ ।
‘जनतासँग जसपा नेपाल, आधारभूत संगठन निर्माण’ नाम दिइएको सो अभियानलाई व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउन सक्रिय भएर लाग्न अध्यक्ष यादवले केन्द्रीय सदस्यहरुलाई आह्वान गर्नुभएको छ ।
संगठनलाई चुस्त दुरुस्त र बलियो बनाउनु त छँदैछ, पार्टी फुटाएर गएका लोभी, स्वार्थी र अवसरवादीहरुले आम समुदायमा छरेको भ्रमलाई चीर्ने र उत्पीडित समुदायको नेतृत्व गरेको एकमात्र पार्टीलाई क्षति पुर्याउनेहरुको भण्डाफोर गर्ने उद्देश्यले यो अभियान सुरु गर्न लागेको अध्यक्ष यादवले बताउनुभयो।


यो अभियान टोल, बुथ, गाँउ, नगर, पालिका, प्रदेश, संघीय निर्वाचन वा क्षेत्रमा केन्द्रीत हुनेछ । पार्टी संगठन टोल, बुथ, वडा, गाँउ, नगर, प्रदेश, संघीय निर्वाचन क्षेत्रमा समिति गठन र पुनर्गठन, संगठन विस्तार, प्रशिक्षण, अन्तक्रिया, गोष्ठि, जनसभा, लगायत अन्य कार्यक्रमहरु गर्ने र सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरण गरिने बताइएको छ ।
यस्तै देशव्यापी रूपमा जनपरिचालन अभियान, जसमा सदस्यता वितरण, सङ्गठन निर्माण र परिचालन, प्रशिक्षण, सेमिनार, गोष्ठी, जनसभालगायत आवश्यक कार्यक्रमहरू तय भएको पनि जसपा नेपालले जनाएको छ । गोरखापत्र अनलाइन

भर्खरै

सम्बन्धित खबर

Language »