सरोज कुमार तामाङ
यो शीर्षक सुन्दा तपाईलाई अनौंठो लाग्ला तर, वास्तवकिता यही हो किनकि यहाँ विकास गर्ने नाममा राज्यसत्ता संचालकहरूले नै विकास भनेको के हो, बुझेन् । विकासको मौलिक परिभाषा बुझेका भए जति धेरै विकासका कामहरू नेपालको सन्दर्भमा हुँदै आएका छन्, त्यति नै मात्रामा विदेशिने नेपालीहरूको लर्को किन हाम्रो एकमात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल र नेपाल-भारत सिमानाहरूमा देखिदैँ आएका छन् ? यसमा कमजोरी कसको भन्दा राजकीय सत्ता संचालकहरूकै हो । उनीहरूमा विकासबारे यथार्थ जानकारी नभएर हो । विकास प्रकृतिको होइन, जनताको जीवनस्तरसँग जोडिएर जनताकै जीवनस्तरलाई आधुनिकीकरण गर्न हो भन्ने मान्यताले प्राथमिकता नपाएर हो ।
विभिन्न कारणहरू मध्ये यहाँ समाजको भौतिक विकास गर्दैमा समाजवादको आधार निर्माण हुन्छ भन्ने कम्युनिष्टहरूको गलत भाष्यको कारण यो देखिन्छ । कम्युनिष्टको कुनैपनि किताब र नेपालको विशिष्ट परिस्थितिले सृजना गरेको जनताको बहुदलीय जनवादले यस्ता सस्ता वकालत गरेको पाइदैन् जसरी एमाले पार्टीको मार्गनिर्देशक सिद्धान्त जबजलाई अपव्याख्या गर्नेहरूको ताँती रहेको छ । समाजको भौतिक विकासले समाजवादको आधार निर्माण गर्दछ भन्ने वाक्य नै अधुरो र अपुरो छ । पूर्ण त के हो भने सामाजिक विकास भनेको समाजमा भौतिक मूल्यको निर्माण गरेर मात्र हुँदैन, त्यसमा ती भौतिक निर्माणहरूलाई कसले उपभोग गर्ने हो, उसको स्वामित्व पनि हुनुपर्छ । त्यो भनेको जनजिविकासँग जोडिनुपर्छ भन्ने हो । यहाँ हिजोको निरंकुश सामन्ती व्यवस्था भन्दा कैयौं गुणा समाजको भौतिक विकास भएको छ तर, ती गरिएका भौतिक विकासहरूमा हामी कम्युनिष्टहरूले भने झैं सर्वहारा र श्नमजीवीवर्गहरुको स्वामित्व र प्रभुत्व भएको भए आज विदेशिनुको लर्को देख्नु पर्थ्यो त ? यहाँ शिक्षा, सडक-यातायात, स्वास्थ्य, कृषि लगायत समाजको पिंधमा बस्ने गरिखाने जनताको निम्ति समाजको भौतिक विकास त गरियो तर ती विकासहरूमा आज सामन्तवाद, दलाल नोकरशाही पूँजीवाद र साम्राज्यवादले जरा गाँडेर बसेको स्थिति छ ।
यो कसरी हो भने सर्वहारा र श्नमजीवीवर्गको निम्ति गरिने सामाजिक विकासले ती समाजको गरिखानेवर्गहरूको उत्पादन शक्ति र उत्पादकत्वलाई बजारको सरल पहुँच हुनुपर्नेमा उल्टै साम्राज्यवादका बहुराष्ट्रिय कम्पनीहरूको बजारको रूपमा हाम्रो समाज स्थापित भएको छ । सामाजिक विकासले गरिखानेवर्गले उत्पादन गरेका कृषि लगायत अन्य उत्पादनहरूलाई बजारको प्रबन्ध गर्नु पर्नेमा त्यो विकासमाथि साम्राज्यवादी शक्तिहरूका यहाँ स्थिति दलाल नोकरशाही पूँजीपतिहरूले श्नमजीवीवर्गहरूको उत्पादनलाई तहसनहस पार्दै असुरक्षित र प्रतिकूल स्वास्थ्य उत्पादनहरू हाम्रा समाजमा यही हामीले गरेका सामाजिक भौतिक विकासले गर्यो । हाम्रै कर, तिरोले समाजको भौतिक विकास गर्यौं, अनि हामीले नै हाम्रा सीप र ज्ञानले उत्पादन गरेका मालसामानहरूले बजार पाएनन् र बाध्यतावस हाम्रा उत्पादनहरूलाई शुन्यमा झार्न लगाएर असुरक्षित र अखाद्य पदार्थहरू सेवन गर्न विवश भयौं ।
अब यति प्रष्ट भएपछि किन यसो भयो भनि चर्चा गरौं । यो हुनुमा केही बुर्जुवावादीहरू व्यवस्थासँगै जनताको अवस्था परिवर्तन भएन भन्दै गोहीको आँशु बगाउँदै छन् । ती गोहीको आँशु बगाउने अरू कोही नभएर मार्क्सवादको बस्त्र धारण गरेर सर्वहारा श्नमजीवीवर्गहरूलाई झुक्याउने संशोधनवादी र यान्त्रिक कम्युनिष्टहरू नै हुन् । ठोस परिस्थितिको ठोस विश्लेषण भन्ने तर मार्क्सवादको सृजनात्मक प्रयोग भने उसैले बुझेको छैन् । व्यवस्था परिवर्तनसँगै जनताको अवस्था परिवर्तन नहुने हुन्छ र ? वास्तवमा अहिलेसम्म नेपालको सन्दर्भमा व्यवस्था परिवर्तन नै भएको छैन् । व्यवस्था परिवर्तन भनेको ती हिजोका सामन्तवर्ग, दलाल नोकरशाही पूँजीपतिवर्ग र साम्राज्यवादका प्रतिक्रियावादी शक्तिहरूलाई राजकीय क्षेत्रबाट पूर्ण रूपमा निर्मूल पार्नुपर्छ, अनि समाजमा देखिएको ती अवशेष र तिनका आधारहरूलाई समाप्त पार्न सर्वहारावादी साँस्कृतिक क्रान्ति गर्नुपर्छ । संस्कृति भनेको राजकीय सत्ता र आर्थिक पक्षको सामाजिक प्रतिबिम्ब हो । यसको गहन अर्थ भनेको अझैंपनि राजकीय सत्तामा ती हिजोका शासकवर्गहरूले रंग रूप परिवर्तन गरेर अड्डा जमाउँदै आएका छन् ।
तिनका शोषकीय राजकीय र सामाजिक रूपलाई चिन्न छाडेर समाजको भौतिक विकासले दयनीय जनताको जीवनस्तरमा खासै परिवर्तन हुनसक्दैन् । हामी जनताको बहुदलीय जनवादको पक्षधरताहरूले यी कुरा कहिले बुझ्ने ? अझैपनि राजकीय सत्ताको वरिपरि ती शोषक सामन्तवर्गहरू फन्को मार्दैछन् भन्ने सर्वहारा चिन्तनबाट कहिले विचार गर्ने ? हाम्रा पुराना सोच र चिन्तनहरूलाई मार्क्सवादको विश्वव्यापी सच्चाईसँग कहिले तुलना गर्ने ? नेपाली समाजको पिंध बुझ्न जनताको बहुदलीय जनवादलाई कहिलेबाट सृजनात्मक प्रयोगमा ल्याउने ? जबजको दूरवीनबाट समाजको वर्गीय संरचनाहरूलाई मिहिन ढंगले बुझ्न छाडेर पूँजीवादको यो अहिलेको लोकतन्त्रमा जबजले भने झैं एमाले सर्वहारा श्नमजीवीवर्गको असल प्रतिनिधि राजनीतिक शक्ति कहिले बन्ने ? लोकतान्त्रिक गणतन्त्रको ठाउँलाई जबजले भने झैं सर्वहारा र श्नमजीवीवर्गको जनवादी गणतन्त्रले कहिले विस्थापित गर्ने ? यदि यसो गर्न नसकिएको खण्डमा र राजकीय सत्ताको त्यो राज्य-व्यवस्था र शासन-व्यवस्थामा जबजको बहुलवादी खुला समाजको अपव्याख्या गर्दै ती हिजोका गरिब जनतामारावर्गहरूलाई नै सिंहासन गर्दै जाने हो भने समाजवाद होइन कि हिजोको ती प्रतिक्रियावादी शक्तिहरूलाई मलजल पुग्दै प्राप्त सिमित राजनीतिक अधिकारहरू पनि गुम्ने खतरा हुनसक्छ ।
त्यसैले, हाम्रा विचारधाराहरूलाई पूँजीवादको जलप लगाएर टल्काउने भन्दापनि साम्यवादका नीतिहरू अन्तर्गत पर्ने सुखी नेपाली र समृद्ध नेपालको आकांक्षा पुरा गर्न मार्क्सवाद-लेनिनवाद-माओवादको विश्वव्यापी र सर्वव्यापी मानव मुक्तिको सिद्धान्तमा घोटेर निखारपन ल्याउनु पर्छ ताकि शोषित उत्पीडितवर्गहरूले सामाजिक न्याय पाओस् ।
यसको निम्ति समाजको भौतिक विकास भनेको के हो, त्यो बुझ्न जरूरी छ । समाजको भौतिक विकास भनेको अन्य मुलुकहरूको विकासका नमूनाहरू संकल्न गर्दैमा हुने होइन् । हाम्रो समाजको विकास गर्न ती लामो समयदेखी हाम्रै समाजमा हुँर्केका र बढेका नेपाली समाजको मौलिक ऐतिहासिक विकासक्रमका सीप, ज्ञान, कला, दक्षता र पूँजीको परिचालन हो । आज यसको ठिक विपरित विकसित मुलुकहरूको नक्कल गरिदैँछ । यो नै अहिलेको हाम्रो समाजको विकासमा देखिएको दुर्दशा हो । हाम्रो विकासमा अरूको नक्कल गरेर होइन, हाम्रै गाउँघरमा हुँर्केका सीप र क्षमतालाई विकास गर्ने हो । उदाहरणार्थ, हाम्रै गाउँघरमा सार्की समुदायहरूले जुत्ता बनाउने काम गर्दै आएका छन् । ती सीपहरूलाई एककठ्ठा गर्दै उद्योगको रूपमा विकास गरे, हामीले आज विदेशबाट जुत्ता चपलको आयात गर्नु पर्दैन्थ्यो ।
ती हाम्रा दाजुभाईहरूले समाजको ऐतिहासिक विकासक्रममा आफ्नो सीप र क्षमताले विकास गरेका र, आफ्नै परिवेशको कच्चा पदार्थहरूको प्रयोगले बनेका जुत्ता चपलहरूलाई उद्योगको रूपमा विकास गरे देशभित्रै रोजगारीको सृजना र राष्ट्रिय पूँजीको निर्माण हुँदै सुखी नेपाली र समृद्ध नेपाल हुनसक्थ्यो । तर, यसो किन भएन भन्दा देश विकास गर्छौं भन्दै सत्तामा पुग्नेहरूसँगै मौलिक विकासका बुद्धि विवेक भएन् । आज युरोप अमेरिका लगायत विश्वका विकसित मुलुकहरूले हिजो उनीहरूको देशको विकासको प्रारम्भिक चरणमा यही अवधारणाको विकास गरेका थिए । उनीहरूले आफ्ना मुलुकमा छरिएर रहेका ती लघु सीप र श्नमहरूलाई उद्योगको रूप दिँदा आज बहुराष्ट्रिय कम्पनीहरूमा परिन्त भए । यो कुरा हाम्रा अर्थ-विज्ञ भनौदाहरूले कहिले बुझ्ने ? यहाँ त विकास भनेको अरूको नक्कल गरेर कपी एण्ड पेष्ट गर्ने बुझियो । यसरी अरुको कपी एण्ड पेष्ट गर्दा एक त उनीहरूको प्रविधि खरिद गर्न पूँजी अभाव हुने, मेसिनहरू खरिद गरेर ल्याए पनि प्रयोगमा ल्याउन उतैबाट कच्चा पदार्थ ल्याउनु पर्ने अनि यहाँको सीप र श्नमको कसरी सदुपयोग हुन्छ ? श्नमजीवी जनतामा भएको सीप र श्नमको सदुपयोग नभएपछि देश र समाजको विकास हुँदैन् र अहिले भएको पनि यही हो ।
यस्तै हाम्रा दमाई दाजुभाईहरूले लुगा सिलाउने सीपलाई हामीले गार्मेन्ट उद्योगको रूपमा विकास गरेर रोजगारी सृजना गर्न सक्छौ, बाँसको चोयाँबाट निर्माण गरिने दैनिक सामानहरूलाई उद्योगको रूपमा विकास गर्दै रोजगार र पूँजीको निर्माण सकिन्छ, गाउँघरमा छरिएर रहेका सिकर्मीहरूलाई एकता गर्दै उनीहरूको सीपलाई उद्योगको रूपमा विकास गरे, अहिले हामीले बाहिरबाट फर्निचरहरू ल्याउनु पर्दैन्थ्यो । राउटेहरूले बनाउने काठका ठेकीहरूलाई उद्योगको रूपमा विकास गर्न सके, उनीहरूपनि उद्योगपति हुन्थ्यो होला । यस्ता श्नम र सीपहरू हाम्रा मुलुकका बहुसंख्यक जातजाति, भाषाभाषी र भौगोलिक विविधतामा पाइन्छ । तर, खै त हाम्रो ध्यान ? हाम्रो ध्यान त कसरी हुन्छ अरूले विकास गरेका प्रविधियुक्त उद्योगहरूको शाखा नेपालमा खोल्ने गरिबी मानसिकताको भीड र त्यसको लागि पूँजी अभाव भन्दै विश्व बैंक, अन्तरराष्ट्रिय मुद्रा कोष र एशियाली विकास बैंक लगायत अन्य दातृ निकायहरूको द्धार चाहार्दैमा समय खर्च हुँदै आएको छ ।
यदि पूँजी बिना उद्योगधन्दा लगायत विकास निर्माणका कार्यहरू हुनसक्दैन भने हिजोको विकासको प्रारम्भिक चरणमा आजको विकसित मुलुकहरूले चाहिँ कहाँबाट पूँजीको संकल्न गरे, प्रविधिको विकास गरे ? के उनीहरूले आजको पूँजी र प्रविधि मंगल ग्रहबाट ल्याएका हुन् ? मुलत: विकास भनेको आफूमा रहेको निहित सीप र श्नमको आधुनिक रूप हो ।
उत्पादक शक्तिमा रहेका सीप र क्षमताहरूको समयसापेक्ष विकास हो । यो समयसापेक्ष हुँदै जानुपर्छ तर, हामीले त ती माथि उल्लेखित हाम्रै गाउँघरका सीप र दक्षताहरूलाई विकसित गर्दै जानुको सट्टा उल्टै वर्गीय र जातीय चपेटामा राखेर उपेक्षित गर्यौं । सीपयुक्त व्यक्ति र समुदायहरूलाई प्रोत्साहन गर्नुको सट्टा विभिन्न सामाजिक विभेदका श्नृंखलाहरू निर्माण गर्दै गयौं । अनि विकास भनेको हामीले होइन; अमेरिकन, जापानिज, युरोपियन र चिनियाँहरूको दिमागले मात्र गर्न सक्छ भन्ने गलत भाष्यको निर्माण गर्यौं ।
अन्त्यमा, मार्क्सवादको सृजनात्मक प्रयोग भनेकै त्यो मुलुकको वस्तुगत र मनोगत परिस्थितिको सही आंकल्न गर्दै त्यो मुलुकको श्नम र सीपको आधुनिकीकरण गर्दै जानु हो । यसैलाई मार्क्सवादको ऐतिहासिक भौतिकवादमा उत्पादन पद्धतिभित्रको उत्पादक शक्ति र उत्पादन सम्बन्धहरूमा व्यापक व्याख्या र विश्लेषण गरिएको छ र त्यसको नेपाली संस्करण जनताको बहुदलीय जनवादमा पनि त्यसका प्रत्येक हरफहरू र शब्द-शब्दहरूमा वर्णन गरिएको पाइन्छ तर, यो कुरालाई बुझ्न तपाई हामीमा सर्वहारावर्गीय चिन्तनको आवश्यकता छ ।
सरोजकुमार तामाङ यस अनलाईनका नियमित स्तम्भकारको रुपामा रहनु भएको छ ।