सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

प्रहरीकहाँ पुगेर जब युवकले आफूमाथि भएको क्रूरता देखाए

काठमाडौं।  जिल्ला प्रहरी परिसर काठमाडौंमा मंगलबार एक युवक आइपुगे।

परिसरकै एक जना प्रहरी अधिकारीले के-कस्तो घटना हो बुझ्न खोजे। जब उनले घटनाबारे बताए, प्रहरी अधिकारीहरू नै अचम्मित भए। ती युवकले घटना सँगसँगै आफूमाथि भएको क्रूरता देखाए।

ती युवकले पछाडि फर्केर आफ्नो ढाड देखाए। ढाडभरी नै आइरनले डामिएका ठूला घाउहरू थिए। ती घाउ केही हदसम्म निको समेत भइसकेको छ।

यसरी देखाएपछि प्रहरी अधिकारीले घटनाबारे थप विवरण सोधे।

उनले आफूलाई एक युवकले आफ्नो घरमा लगेर प्लमरले पाइप जोड्न प्रयोग गर्ने आइरन तताएर डामेको बताए। त्यसपछि परिसरबाट अनुसन्धान अधिकृत सहितको टोली मंगलबार राति बूढानीलकण्ठ नगरपालिका-१ स्थित एक घरमा पुग्यो। तीन तले अग्लो घरमा प्रहरी पुग्दा अरू कोही थिएनन्। 

ठूलो घरमा एक जना युवकमात्रै थिए। उनी हुन् ३३ वर्षीय आशिष देउला। 

सुत्ने तरखरमा रहेका उनको घरमा प्रहरीले तलासी लियो। उनले कोठामा ‘डनलप’ राखेका थिए। उनको घरमा गाडी थियो, जसभित्रबाट प्रहरीले विभिन्न निर्माणका क्रममा प्रयोग गर्ने औजारहरू फेला पारेको हो।

गाडीभित्र हम्‍मर, पाइप, नक्कली पेस्तोल, ब्लोबर मेसिन लगायत विभिन्न सामान प्रहरीले बरामद गरेको हो। प्रहरीले पीडित युवकमाथि डाम्न प्रयोग गरेको आइरन भने घरभित्रबाट फेला पारेको हो।

देउलालाई परिसरमा ल्याएर सोधपुछ गरेपछि भने उनको थप क्रूरता खुलेको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले बताए।

प्रहरीका अनुसार उनी बूढानीलकण्ठका धनाढ्य परिवारका व्यक्ति हुन्। उनी काम केही गर्दैनन्। दिनभरि सुत्ने र रातको समयमा उनी काठमाडौंका विभिन्न क्लब, होटल लगायत ठाउँमा जाने गर्छन्।

‘उनी दिनभर सुत्ने, रात परेपछि भने क्लब जाने। उनीसँगै कम्तीमा पनि चार-पाँच जना हिँड्छन्,’ अनुसन्धानमा संलग्न अधिकारीले भने। 

प्रहरीका अनुसार उनीसँग हिँड्‍दा अन्य साथीहरूले भने भरपुर फाइदा उठाउँथे। क्लबमा उठ्ने रक्सी/खानेकुराको बिलको भुक्तानी उनीबाटै हुने गरेकाले पनि उनको आसपास युवाहरू झुम्मिने गरेको प्रहरी बताउँछन्।

तर यसरी हिँडेबापत उनले साथीहरूसँग केही सहयोग भने लिने गर्थे। उनले आफ्नो क्रूरतामा साथीहरूबाट सहयोग लिने गरेको ती अधिकारी बताउँछन्।

परिसरका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार उनले साथीहरूसँग क्लब, डान्सबार जाँदा कोही व्यक्तिलाई निशानामा राख्थे।

युवालाई मात्रै नभएर युवती समेतलाई उनले निशाना बनाउँथे। यसरी उनले आफ्ना साथीहरूको साथ खोज्थे। खाने, पिउने सबै बिल तिरेपछि उनले आफ्नो गाडीमा बूढानीलकण्ठस्थित घरमा पुर्‍याउँथे।

यसरी नै ती पीडित युवकलाई पनि घरमा पुर्‍याएका थिए। यस घटनामा संलग्न भएको आरोपमा प्रहरीले अरू तीन जनालाई पनि पक्राउ गरेको छ। टोखा नगरपालिका-३ बस्ने २७ वर्षीय राजेन्द्र घले, ठमेल बस्ने २२ वर्षीय ओजस्‍वी तामाङ र स्वयम्भू बस्ने २२ वर्षीय साजन गुरूङलाई पनि पक्राउ गरेको हो।

घर पुर्‍याएपछि पनि उनीहरूले ती पीडित युवकलाई रक्सीमा थप नशालु पदार्थ राखेर खुवाएको एसपी अधिकारीले बताए।

लठ्ठ भएपछि भने अन्य साथीहरूले हात खुट्टा समाएर आशिषले आइरन तताएर डाम्ने गरेको पाइएको हो।

‘यसरी घटनापछि पनि पीडितलाई मार्ने धम्की दिएकाले तुरून्तै प्रहरीको सम्पर्कमा आउन सकेनन्,’ एसपी अधिकारीले भने, ‘पीडित अन्य पनि छन्। हामी अनुसन्धान गर्दैछौं।’

प्रहरीले उनको फोन पनि बरामद गरेको छ। जसबाट प्रहरीले युवतीमाथि समेत अनैतिक क्रियाकलाप गरेका भिडिओहरू फेला पारेको छ। 

अनुसन्धानमा संलग्न प्रहरीका अनुसार ती युवकले कतिपयको नंग्रा निकाल्ने, पोल्ने, घाउचोट बनाउने, शरीरका संवेदनशील अंगहरू च्याप्ने लगायत विभिन्न क्रूर गतिविधि गरेका छन्। 

‘यो क्रियाकलापमा अहिले तीन जना मात्रै पक्राउ परेका छन्। संलग्न अरू पनि पक्राउ पर्न सक्छन्,’ ती अधिकारीले भने, ‘उनी मानसिक रूपमा अस्वस्थ हुनसक्छ। यसरी आफ्नो स्वार्थपूर्ति गर्ने देखियो। अझै धेरै सोधपुछ गर्न बाँकी नै छ।’

पीडित युवकका साथीहरूले घटनाबारे थाहा पाएपछि उनलाई प्रहरीकहाँ जान सुझाव दिएका थिए। त्यसपछि भने उनी मंगलबार परिसर पुगेका हुन्। थप पीडितहरू पनि प्रहरीको सम्पर्कमा आउने प्रहरीको अनुमान छ।

भर्खरै

सम्बन्धित खबर

Language »