सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

झरीले रोकेन तीजको उल्लास

काठमाडौं । व्रतालु महिलाहरुले झरीको पर्वाह नगरी तीज मनाइरहेका छन् । पशुपतिनाथ मन्दिर परिसरमा छाता ओढ्दै पूजा गर्नेहरुको घुइँचो देखिन्छ । उनीहरु नाचगान पनि गरिरहेका छन् ।

भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीजको दिन व्रतालुले शिव–पार्वतीको विशेष पूजा आराधना गर्दछन् । यसो गर्दा परिवारमा सुख, शान्ति र कल्याण हुने धार्मिक विश्वास छ ।

सत्य युगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएको कथा छ ।

त्यसैले आजको दिन निराहार व्रत बसेर विधिपूर्वक शिव–पार्वतीको पूजा गरे मनोकामना पूरा हुने विश्वास छ । यही विश्वासका साथ व्रतालुहरुको आज बिहानैदेखि पशुपतिनाथ मन्दिर लगायतका शिवालयहरुमा गएर पूजा गरिरहेका छन् । कतिपयले घरमै पूजा गरेर तीज मनाइरहेका छन् ।

तीजको अवसरमा महिलाहरुले वर्षदिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई गीतका माध्यमबाट सार्वजनिक पनि गर्दछन् । उनीहरु भेला भएर सुखदुःख भावका गीत र भजन गाउँदै नाचगान गर्दछन् ।

बिहीबार दर खाएपछि औपचारिक रुपमा शुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धती सहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ ।

भर्खरै

सम्बन्धित खबर

Language »