सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सिन्धुलीको स्कुलमा बालकको मृत्युलाई लिएर धनुषामा चक्काजाम

काठमाडौं ।सिन्धुलीको एक निजी विद्यालयमा विद्यार्थी मृत भेटिएको विषयलाई लिएर धनुषाको जनकपुर-ढल्केवर सडकखण्डमा स्थानीय बासिन्दाले चक्काजाम गरेका छन् ।

लक्ष्मीनियाँ गाउँपालिका–४ स्थित सपहीमा वडा नम्बर –४ का वडाध्यक्ष रमेश साहसहितका स्थानीयले सडक अवरुद्ध गरेका हुन् । बिहान ८ बजेदेखि ११ बजेसम्म उनीहरु सडकमै धर्ना बस्दै यातायात अवरुद्ध पारेका छन् ।

२ भदौमा सिन्धुलीको कमलामाई नगरपालिकामा रहेको भगवतीमाई इंग्लिस माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत १४ वर्षीय रजनीश साह होस्टेलमा मृत फेला परेको थियो । घटना शंकास्पद रहेको भन्दै पीडित परिवारले छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै आएका छन् ।

मृतक रजनीशका बुवा गणेश साहका अनुसार घटनाबारे स्कुलले ढिलो जानकारी दिएका थिए । राति दुई बजे धुलिखेल अस्पताल पुग्दा छोरोको मृत्यु भइसकेको पाएको र घटना शंकास्पद रहेको उनको दावी छ ।

गणेशले जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा छोराको पोष्टमार्टम रिपोर्ट माग्न जाँदा वकिल र डाक्टर उपस्थित गराएर मात्रै रिपोर्ट देखाउने भनेको बताए । त्यस्तै   विद्यालयका सञ्चालक, प्रिन्सिपल र होस्टेल वार्डेनसहित चार जनाविरुद्ध किटानी जाहेरी नलिएर प्रहरी विद्यालयको पक्षमा उभिएको उनको आरोप छ।

मृत्यु घटना पश्चात् उनीहरूले विद्यालय अगाडि केहीदिन धर्ना दिएर प्रदर्शन गरेका थिए । भदौ २१ मा सपहीमै सडक अवरुद्ध गर्दा धनुषाका प्रमुख जिल्ला अधिकारीले जाहेरी दर्ता गर्ने आश्वासन दिए पनि अहिलेसम्म दर्ता नभएको वडाध्यक्ष साहको गुनासो छ ।

बाध्य भएर सडक अवरुद्ध गरेको वडाध्यक्ष साहले बताउँदै जाहेरी दर्ता नभए कडा आन्दोलन गर्ने चेतावनी दिए ।

भर्खरै

सम्बन्धित खबर

Language »