सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

दुर्गा प्रसाईं समर्थित समूहले ट्रक आगजनी गर्दा घाइते भएका चालकको मृत्यु

काठमाडौं। दुर्गा प्रसाईं समर्थित समूहले ट्रक आगजनी गर्दा गम्भीर घाइते भएका चालकको उपचारको क्रममा मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय झापाकी प्रहरी निरीक्षक मेहेन्दी तामाङका अनुसार गम्भीर घाइते रहेका चालकको उपचारको क्रममा मृत्यु भएको हो।

मृतक भारतको इस्लामपुर बस्ने ४० वर्षीय पोदो राय छन्। उनी असोज ७ गते डब्ल्यु बी ७३ ई ३०५६ भारतीय नम्बरको गाडी चलाएर बिर्तामोड-६ गिरिबन्धु टी-इस्टेट हुँदै काँकडभिट्टातर्फ जाँदै थिए।

त्यसक्रममा एक समूहले उनलाई रोकेर कुटपिट एवं पेट्रोल झर्केर गाडीमा आगजनी गरी फरार भएका थिए। आगजनी गर्ने क्रममा चालक पनि गम्भीर भएका थिए।

मेडिकल व्यवसायी एवं राष्ट्र, राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई साइबर ब्युरोले पक्राउ गरेपछि विरोध गर्ने क्रममा उक्त घटना भएको गरेको खुलेको हो। दुर्गा प्रसाईं ६ गते पक्राउ परेका थिए।

उक्त घटनामा संलग्न रहेको आरोपमा महाअभियानका झापा संयोजक (पब्लिक डिफेन्स फोर्स) भिम तुम्बापो लिम्बूसहित ८ जनालाई पक्राउ गरेको थियो। 

घाइते भएका चालक रायलाई प्रारम्भिक उपचारको लागि बिएन्डसी अस्पताल लगिएको थियो। उनको थप उपचारको लागि भारतमा पठाइएको थियो। 

उपचारको क्रममा शनिबार दार्जलिङस्थित बंगाल मेडिकल कलेजमा मृत्यु भएको थियो। जिल्ला प्रहरी कार्यालय झापालाई आइतबार खबर भएपछि पोष्टमर्टमको लागि भद्रपुर अस्पतालमा शव ल्याइएको छ।

यस घटनामा महाअभियानका संयोजक लिम्बू, सहसचिव सुरेश चौधरी, सदस्यहरू विवश लिम्बू, बलिहाङ माबो लिम्बू, राजेश महत, रुद्र भुजेल, वीरबहादुर गुरूङ र उदय लिम्बू प्रहरी हिरासतमा छन्।

उनीहरूमाथि आपराधिक उपद्रव र ज्यान मार्ने उद्योग कसुरमा अनुसन्धान भइरहेको थियो। अब कार्यालयले उनीहरूमाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाउनेछ।

भर्खरै

सम्बन्धित खबर

Language »