सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

परिलक्षित संस्थाको २४ औ साधारण सभा सम्पन्न

शर्मिला विश्वकर्मा,ललितपुर

नेपालका विभिन्न क्षेत्रमा रहेका अपाङ्गता भएका व्यक्तिहरूको शिक्षा, आय-आर्जन, रोजगारी लगायतका अन्य धेरै क्षेत्रमा काम गर्दै आएको परिलक्षित संस्थाको हिजो शनिवार २४ औ साधारण सभा ललितपुरमा सम्पन्न भएको छ ।

यस संस्थाले विभिन्न अपाङ्गता भएका व्यक्तिहरूको शिक्षालाई निरन्तरता दिनको लागि विद्यालय देखि उच्च शिक्षा सम्म छात्रवृत्ति प्रदान गर्ने, सीप सिकेर आय- आर्जन गर्न चाहनेका लागि उनीहरूको रुचि अनुसारको सीप सिक्ने अवसर प्रदान गर्ने र व्यवसायका लागि केही सहयोग गर्ने, अपाङ्गता भएका विद्यार्थीहरू अध्ययन गर्ने विद्यालयका भौतिक संरचना, शौचालयका संरचनाहरू अपाङ्गता अनुकूलका बनाउन सहयोग गर्ने, स्टेशनरी, विद्यालय ब्याग, फर्निचर सहयोग गर्ने, on the job Training (OJT) तालिम प्रदान गर्ने लगायतका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।

परिलक्षित संस्थाको २४ औ वार्षिक साधारण सभाका अवसरमा ललितपुरमा आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष राम बहादुर मुखियाले यस संस्था मार्फत अपाङ्गता भएका विद्यार्थीहरूले शिक्षा लिने अवसर प्राप्त गर्नुका साथै विभिन्न आय – आर्जन मूलक तालिमहरू पनि प्राप्त गरेको बताउनु भयो । साथै उहाँले परिलक्षित संस्थाले गरेका यस्ता कार्यक्रमहरूले नेपाल सरकारलाई पनि केही मात्रमा सहयोग भएको महसुस गरेको भन्दै संस्थाले अपाङ्गता भएका व्यक्तिहरू प्रति सामाजिक दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउनु भयो ।

त्यसै गरी उहाँले आगामी दिनमा पनि यस संस्थाका कार्यक्रमहरूलाई निरन्तरता दिनको लागि सबैको साथ सहयोगको अपेक्षा रहेको बताउनु भयो । संस्थाको २४ औ वार्षिक साधारण सभाका क्रममा संस्थाका उपाध्यक्ष भरत श्रेष्ठले कार्यक्रममा सहभागीहरूलाई स्वागत गर्दै अपाङ्गता भएका व्यक्तिहरूका लागि यस संस्थाले सञ्चालन गर्दै आएका कार्यक्रमहरूलाई सफल बनाउनका लागि सबैले आ-आफ्नो तर्फबाट आवश्यक सहयोग गर्नु पर्ने बताउनु भयो । त्यसै गरी परिलक्षित संस्थाका कार्यकारी निर्देशक सूर्य बहादुर थापाले यस वर्ष भरी गरेका कामको प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भयो ।

यसै क्रममा उहाँले यस वर्ष परिलक्षित संस्थाबाट ६० जनाले आय आर्जन सम्बन्धी तालिम लिएको, ३० जनाले डिजिटल मार्केटिङको तालिम प्राप्त गरेको, तनहुँ जिल्लामा ३५ जना विद्यार्थीहरूले छात्रवृत्ति प्राप्त गरेको बताउनु भयो । साथै उहाँले सुर्खेत र कैलाली जिल्लाका ६ वटा स्थानीय निकायहरूसँग सहकार्य गरेर काम गरेको भन्दै यस वर्ष परिलक्षित संस्था मार्फत ११ सय ३८ जनाले सेवा प्राप्त गरेको, ती मध्ये १८४ जना व्यक्तिहरू स्वावलम्बी बनी व्यवसाय गरेर मासिक रूपमा ३० हजार देखि ७० हजार सम्मको आम्दानी गर्न सफल भएको बताउनु भयो । कार्यकारी निर्देशक सूर्य बहादुर थापाले यस साधारण सभामा प्रगति प्रतिवेदन प्रस्तुत गर्दै यस संस्था मार्फत यस वर्ष १ सय ९८ जनाले आय- आर्जन गर्न सफल भएको, कर्णाली प्रदेशका ११ वटा जिल्लाबाट आएका सुनाई सम्बन्धी अपाङ्गता भएका विद्यार्थीहरूलाई शिक्षाका लागि काम गरेको गत वर्षमा ४ वटा र यस वर्ष २ वटा अपाङ्गता मैत्री शौचालय निर्माणका लागि सहयोग गरेको पनि जानकारी दिनु भयो ।

साथै उहाँले यस वर्ष २४ जनाले विभिन्न क्षेत्रमा रोजगार प्राप्त गरेको पनि जानकारी गराउनु भयो । यस साधारण सभाका क्रममा संस्थाका कोषाध्यक्ष द्रोण बहादुर सेनले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । साथै उहाँले अपाङ्गता भएका व्यक्तिहरूको शिक्षालाई अगाडी बढाउनका लागि संस्थाका कार्यसमितिहरू, साधारण सदस्य तथा कर्मचारीहरू र सहयोगी निकायहरूको साथ सहयोग रहेको बताउँदै सबैलाई धन्यवाद व्यक्त गर्नु भयो ।

यसै क्रममा यसै संस्था मार्फत स्नातक तह देखिको अध्ययनको क्रममा छात्रवृत्ति प्राप्त गर्नु भएको पूर्ण दृष्टिविहीन अपाङ्गता भएकी महिला तथा हाल भक्तपुरमा शिक्षा विकास तथा समन्वय इकाईमा शाखा अधिकृतको रूपमा कार्यरत सृजना ढकालले यस संस्थाको छात्रवृत्तिले आफूले उच्च शिक्षा अध्ययन गर्न पाएको र आज शिक्षाको क्षेत्रमा काम गर्न सक्षम बनेको बताउनु भयो । साथै उहाँले सरोकारवाला निकायका व्यक्तिहरूले चाहेर पनि अपाङ्गता भएका व्यक्तिहरूको परिवर्तनका लागि काम गर्न नसकेको गुनासो गर्दै परिलक्षित संस्थाले हजारौँ अपाङ्गता भएका व्यक्तिहरूको शिक्षाको लागि लगानी गरेको भन्दै संस्थालाई धन्यवाद पनि व्यक्त गर्नु भयो भने आफूले यसै संस्थाको छात्रवृत्ति मार्फत अध्ययन गर्ने अवसर पाएको भन्दै यस संस्थाको अक्षयकोषका लागि आफूले पनि मासिक रूपमा संस्थालाई रु २५ सय प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

त्यसै गरी यसै संस्था मार्फत छात्रवृत्ति प्राप्त गरेर अध्ययन गर्नु भएका पूर्ण दृष्टिविहीन अपाङ्गता भएका व्यक्ति तथा कालीमाटीमा कार्यरत प्राविधिक सहयोगी, विद्यालय शिक्षक रवीन्द्र महतोले पनि यस परिलक्षित संस्थाले नेपालमा रहेका धेरै भन्दा धेरै अपाङ्गता भएका विद्यार्थीहरूको शिक्षाको सहारा बनेको भन्दै संस्थाको अझै प्रगतिको कामना व्यक्त गर्नु भयो ।

परिलक्षित संस्थाको २४ औ वार्षिक साधारण सभाको अवसरमा धादिङ जिल्लाकी शारीरिक अपाङ्गता भएकी महिला सरिता मगरले एउटा खुट्टाले नृत्य प्रस्तुत गर्दै कुनै पनि प्रतिभालाई अपाङ्गताले छेक्दैन भन्ने सन्देश दिनु भएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »