सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

१०० दिनमा ओलीजीले राम्रो काम गरेका छन्: देउवा

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको कामप्रति कांग्रेस सन्तुष्ट रहेको बताएका छन्।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा संघीय सरकार बनेको १०० दिन पूरा भएको छ। असार १७ मा कांग्रेस र एमालेबीच ७ बुँदे सहमति भएको र उक्त सहमतिको जगमा असार ३० गते ओली प्रधानमन्त्री बनेका थिए।

ओली सरकारका कामप्रति कांग्रेस सन्तुष्ट रहेको सभापति देउवाले बताएका हुन्। सरकारका कामप्रति असन्तुष्टि जनाउनुपर्ने कुनै कारण नरहेको पनि  सभापति देउवाको भनाइ छ।

कांग्रेस-एमाले गठबन्धन सरकार पूरा कार्यकाल चल्ने पनि सभापति देउवाले बताएका छन्।

‘अब मलाई त राम्रो लाग्छ, धेरै कुराले गर्दा राम्रो छ। सय दिनलाई मैले त राम्रो मानेको छु,’ न्‍युज एजेन्सी नेपालसँग कुराकानी गर्दै सभापति देउवाले भने, ‘सय दिनलाई हनिमुन डेज भन्छन्, १०० दिनमा ओलीजीले राम्रो काम गरेका छन्।’

उनले विपदका बेला पनि सरकारले राम्रो काम गरिरहेको बताए।

‘बाढी पहिरोमा सरकारले उद्धार र खोजी गरेको छ। हेलिकप्टरबाट पनि उद्धार गरेको हो। ठिक छ, त्यस्तो केही छैन, सबैको राम्रो छ सय दिनको काम,’ सभापति देउवाले भने।

पूर्वसहमतिअनुसार ओलीले दुई वर्ष र आफूले डेढ वर्ष सरकारको नेतृत्व गर्ने सभापति देउवाको भनाइ छ।

‘दुई वर्ष उहाँले चलाउने भनेको हो, डेढ वर्ष मलाई भनेको हो। कसले भन्यो कांग्रेस असन्तुष्ट छ भनेर?,’ सभापति देउवाले भने, ‘सानातिना समस्या एउटै पार्टीभित्र त हुन्छ भने त्यो अर्को पार्टी हो, त्यस्तो केही छैन।’

भर्खरै

सम्बन्धित खबर

Language »