सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

विपद्जन्य घटनाले तीन महिनामा तीन अर्ब ४४ करोड मूल्य बराबरको क्षति

काठमाडौं। बाढी, पहिरो, डुबान, आगलागीजस्ता विपद्बाट चालु आर्थिक वर्ष २०८१/८२ को तीन महिनाको अवधिमा बागमती प्रदेशको उपत्यकाबाहेक १० जिल्लामा एक सय ९१ जनाको मृत्यु भएको छ।

सबैभन्दा बढी यही असोज ११/१२ गतेको वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी एक सय ७७ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय मकवानपुर हेटौडाले जनाएको छ।

बागमती प्रदेश प्रहरी कार्यालय मकवानपुर हेटौँडा प्रवक्ता प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार चालु आव २०८१/०८२ को साउनदेखि असोजसम्ममा पहिरोबाट १५७ जना, बाढीमा बगाएर ११ जना र डुबेर नौ जनाको मृत्यु भएको छ।

यस्तै सो अवधिमा करेन्ट लागेर आठ जना, चट्याङ लागेर चार जना र आगलागी तथा जनावरको आक्रमणबाट एक/एक जनाको मृत्यु भएको प्रहरी उपरीक्षक रेग्मीले बताए।

सो अवधिमा विपद्का घटनामा परी १७३ जना घाइते र ११ जना अझै बेपत्ता रहेको उनको भनाइ छ। घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको र बेपत्ताको खोजीकार्य जारी रहेको जनाएको छ।

विपद्बाट ती जिल्लामा नौ हजार ७७८ पंक्षी र ५१६ चौपायाको मृत्यु भएको प्रहरी उपरीक्षक रेग्मीले बताए।

सो अवधिमा भएका विपद्का घटनाबाट १७१ पक्की, ६७३ कच्ची घर र १६१ गोठ क्षतिग्रस्त भएको बागमती प्रदेश प्रहरी कार्यालय मकवानपुर हेटौँडाले जनाएको छ।

सो कार्यालयका अनुसार विपद्बाट ९३ सवारी साधन तथा २० उद्योग क्षतिग्रस्त भएको छ । यस अवधिमा विभिन्न जिल्लाका ८३ विद्यालय र १२ वटा सरकारी कार्यालयमा क्षति पुगेको प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिए।  

बाढी, पहिरोजन्य विपद्बाट सो अवधिमा ४८ वटा पक्की तथा झोलुङ्गे पुलमा क्षति पुग्दा विपद्बाट रु तीन अर्ब ४४ करोड ५३ लाख ६१ हजार ९६० मूल्य बराबरको धनमालको क्षति भएको बागमती प्रदेश प्रहरी कार्यालय मकवानपुर हेटौँडाले जनाएको छ ।

पुल तथा सडक बगाएपछि सङ्घीय राजधानी काठमाडौँलाई जोड्ने धेरै सडक अवरुद्ध भएको र विस्तारै मर्मतसम्भार गरी क्रमशः सञ्चालन भइरहेको प्रवक्ता प्रहरी उपरीक्षक रेग्मीले बताए।

भर्खरै

सम्बन्धित खबर

Language »