काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा असामाजिक क्रियाकलापहरु फस्टाउन नदिइने बताएका छन् ।
मंगलबार सशस्त्र प्रहरी बल नेपालको निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विभिन्न शक्तिहरु नेपाली मनलाई विभाजित गर्न खोजेका बताएका हुन् ।
उनले साम्प्रदायिक विद्वेष र अराजक क्रियाकलापहरुमार्फत नेपाली मनलाई विभाजित गर्न कोशिस भएको भन्दै त्यसलाई सफल हुन नदिने बताए ।
‘विभिन्न नाममा नेपाली मनहरुलाई विभाजित गर्ने, साम्प्रदायिक विद्वेष अथवा अरु प्रकारका क्रियाकलापहरु अराजकता, संविधान विपरीतका क्रियाकलापहरु र कानुन विपरीतका क्रियाकलापहरु, असामाजिक क्रियाकलापहरु, अराजकता मच्चाउने खालका क्रियाकलाप र प्रयासहरु भइरहेका छन् ।
हामीले कुनै पनि हालतमा यस्ता असामाजिक क्रियाकलापहरुलाई मौलाउन, फस्टाउन पनि दिँदैनौं’, उनले भने ।
प्रधानमन्त्री ओलीले सशस्त्र प्रहरी बल नेपालको कानुन सुधारका लागि सरकार दत्तचित्त भएर लागेको पनि बताए ।
सो कानुन संसदको आगामी अधिवेशनमा पारित गर्ने तयारी रहेको उनको भनाइ छ ।
हामी कानुनी क्षेत्रमा, कानुनमा के–के सुधार गर्नुपर्छ र कसरी सुविधा दिनुपर्छ भन्ने कुरामा अझ दत्तचित्त भएर लागेका छौं ।
आगामी संसदको अधिवेशनबाट हामी यी कुराहरु अगाडि बढाउँछौं’, प्रधानमन्त्री ओलीले भने ।
नयाँ कानुनमार्फत सशस्त्र प्रहरी बलको ३० वर्षे सेवा अवधि हटाउने पनि उनले बताए ।