काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १६ मा यहि मंसिर १६ गते हुने उप निर्वाचनमा स्वतन्त्र उम्मेदवारको रुपमा उम्मेदवारी दिने देवेन्द्र कुमार श्रेष्ठले घोषणा गर्नु भएको छ ।
नेकपा(माओवादी केन्द्र)को काठमाडौं जिल्ला सदस्य समेत रहेका व्यवसायी तथा समाजसेवी श्रेष्ठले केहिदिन अगाडी माओवादी पार्टीको कुनैपनि जिम्मेवारीमा नरहने भनि आफ्नो आधिकारीक फेसबुक मार्फत जानकारी गराउनु भएको थियो ।
गत स्थानिय निर्वाचनमा नेपाली काँग्रेसबाट निर्वाचित वडाध्यक्ष मुकुन्द रिजालको निधन भए पश्चात रिक्तरहेको यो पदमा निर्वाचन हुन लागेको हो । उक्त स्थानमा अहिले कार्यबहाक वडाध्यक्षको रुपमा पुष्प महर्जनले जिम्मेवारी पाउनु भएको छ ।
वडा अध्यक्षको लागि ठुला राजनैतिक दलको उम्मेदवार घोषणा हुन सकेको छैन भने रास्वपा तथा राप्रपा नेपालको भने उम्मेदवारी घोषणा गर्ने अन्तिम तयारी भईरहेको स्थानिय श्रोतले बताएको छ ।
लामो समय माओवादी आन्दोलनमा जोडीएका देवेन्द्र कुमार श्रेष्ठ व्यवसायी तथा समाजसेवी समेत भएकाले श्रेष्ठको उम्मेदवारीलाई निकै महत्वको साथ हेरीएको छ । यस क्षेत्रमा श्रेष्ठको उम्मेदवारीले मओवादीलाई ठुलो धक्का लाग्नुका साथै एमाले र नेपाली काँग्रेसलाई समेत प्रभाव पार्ने अनुमान लगाउन थालिएको छ ।