नेपालगन्ज, गत वैशाख तेस्रो साता सुर्खेत वीरेन्द्रनगर नगरपालिकास्थित चिसापानी निवासी १७ वर्षीया किशोरी स्वास्थ्य समस्या लिएर कान्ति आरोग्य अस्पताल अस्पताल आइन् । पेटको दुखाई उनलाई सहनै मुश्किल भइरहेको थियो । ग्याष्ट्रोइन्टेरोलोजिष्ट डा.कृष्णमोहन अधिकारीले महत्वपूर्ण जाँच लेखाए । उनी ल्यावमा गइन् । रिपोर्टमा हर्निया देखियो । डा.अधिकारीलाई देखाउनु अघि ती बिरामी नेपालगञ्ज मेडिकल कलेज गएकी थिइन् । तर त्यहाँ शल्यक्रिया सम्भव नहुने भन्दै उनलाई काठमाडौं जान सुझाइएको थियो ।
डा.अधिकारीको नेतृत्वमा डा.सन्तोष सिर्पाली लगायतको टिमले कान्ति आरोग्य अस्पतालमा सफलतापूर्वक शल्यक्रिया ग¥यो त्योपनि दूरविन प्रविधिमार्फत । यो अस्पतालमा यस्ता जटिल खालका शल्यक्रियाहरु धमाधम भइरहेका छन् । साढे पाँच वर्ष अघि क्लिनिक हुँदै हाल १५ शैयाको अस्पतालका रुपमा रहेको कान्ति आरोग्यमा हालसम्म दुई हजार भन्दा बढी सफल शल्यक्रिया भइसकेका छन् । केही मेजर शल्यक्रिया पनि सफलतापूर्वक गरिएका छन् ।
अस्पताल सञ्चालक समेत रहेकी वरिष्ठ बालरोग विशेषज्ञ प्राध्यापक डा. रोमा बोरा दूरविन प्रविधिमार्फत हर्नियाको शल्यक्रिया भएको त्यो केस नेपालगञ्जमै पहिलो थियो । दूरविन प्रविधिमार्फत शल्यक्रिया गर्दा घाउ सानो हुने भएकाले दुखाई कम हुन्छ । घाउ छिटो निको हुन्छ । अस्पतालको बसाई समेत लामो हुँदैन । अस्पतालमा अहिले अधिकतम दूरविन प्रविधिबाटै शल्यक्रिया हुने गरेको प्रा.डा बोराको भनाइ छ । ‘अस्पतालमा हर्नियासँगै पित्तथैली, एपेन्डिक्स, हाइड्रोसिल, पाठेघर लगायतको शल्यक्रिया दूरविन प्रविधिमार्फत भइरहेको छ’ उनले भनिन् । दूरवीन प्रविधिद्वारा गरिने शल्यक्रिया सेवा कोहलपुर मेडिकल कलेजपछि कान्ति आरोग्य अस्पतालमा मात्र रहेको उनको दावी छ ।
नेपालगञ्ज धम्बोझी चोकदेखि करिव तीन सय मिटर दक्षिण र पूर्वपट्टि अत्याधुनिक भवनसहित कान्ति आरोग्यले आफ्ना सेवाहरुलाई स्तरीय बनाउँदै लगेको छ । जनरल अस्पतालका रुपमा रहेको कान्ति आरोग्यले दक्ष चिकित्सक र अत्याधुनिक प्रविधिको उपयोग गरेर बिरामीलाई स्तरीय सेवा प्रवाह गर्दै आएको छ । कान्ति आरोग्यले २४ सैं घण्टा इमरजेन्सी, ल्याव तथा फार्मेसी सेवा प्रदान गर्दै आएको छ । ‘पाइल्स, फिस्टुला, शरीरका विभिन्न भागको गाँठागुठीको चेकजाँच तथा शल्यक्रियाको सुविधा पनि दिइरहेका छौं उनी अगाडि भन्छिन्–‘अस्पताल आएका कुनैपनि बिरामीहरु फर्किन नपरोस् र अनावश्यक दुःख झेल्न नपरोस् भन्ने उद्देश्यले सम्पूर्ण सेवाहरुलाई एउटै छातामुनि राख्ने प्रयासमा छौं ।’
एनआइसीयू, पीआइसीयू, आइसीयूको समेत व्यवस्थापन गरिएको छ । ‘नवजात, शिशु तथा बाल शल्यक्रिया समेत गर्दै आएका छौं’– बालरोग विशेषज्ञ समेत रहेकी डा. रोमाले भनिन् । पछिल्लो समय बर्न (जलेको) विरामीको उपचार सेवा समेत अस्पतालले प्रवाह गर्दै आएको छ । यो सुविधा नेपालगञ्जमा कान्ति आरोग्य अस्पतालबाहेक अरुमा नभएको उनको भनाइ छ । विशेषज्ञ चिकित्सकद्वारा सेवा प्रवाह गरिने भएकाले परामर्श, रोगको पहिचान, निदान र उपचारमा महत्वपूर्ण प्रभाव पार्ने प्रा.डा.बोरा बताउँछिन् ।
महिला डाक्टरको नेतृत्वमा यसरी व्यवस्थित रुपमा सञ्चालन भइरहेको कान्ति आरोग्य अस्पताल नेपालगञ्जकै पहिलो र एक्लो अस्पताल हो । पछिल्लो समय नेपालगञ्जका अस्पतालहरुले बिरामीलाई स्तरीय सेवा दिइरहेको उनी बताउँछिन् । निजी क्षेत्रको लगानीमा ठूल्ठूला अस्पताल खुलिरहेका छन् । विशिष्टिकृत सेवा दिन सक्ने चिकित्सकहरुले नेपालगञ्ज भरिन थालिसक्यो । ‘अव पनि उपचारका लागि काठमाडौं वा भारत जानु पर्छ भन्ने मानसिकता राम्रो होइन् उनी भन्छिन्–‘९० प्रतिशत भन्दा बढी उपचार नेपालगञ्जमै सम्भव छ ।’ भारतका अस्पतालले लिने महंगो शुल्क, भाषागत कठिनाई लगायतले नेपालीहरुले धेरै झन्झट भोग्नु पर्ने अवस्था छ । उनी भन्छिन्–‘नेपालगञ्जमै गुणस्तरीय स्वास्थ्य उपचार भइरहेको छ । यहाँ आउनेहरु निको भएर फर्केका छन् ।
उनीहरु सन्तुष्ट पनि भएका छन् ।’ विशेषगरी थारु समुदायमा हुने रक्त अल्पता सम्बन्धि बंशाणुगत रोग सिकलसेल एनिमिया र थालेसिमिया रोगको पहिचान, निदान र उपचारमा पनि प्रा.डा.रोमाको महत्वपूर्ण योगदान छ । उनले भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा.राजन पाण्डेसँग सँगै रहेर सिकलसेल एनिमिया तथा थालेसिमिया रोग अनुसन्धानमा महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् ।
अहिले पनि सिकलसेल र थालेसिमियाका बच्चाबच्ची उपचारका लागि उनीसँग आउने गरेका छन् । थारु समुदायमा जनस्वास्थ्य समस्याका रुपमा रहेको थालेसिमिया र सिकलसेल एनिमिया पहिचान, उपचार र रोकथाममा महत्वपूर्ण योगदान गरेको भन्दै बाँकेको कोहलपुर नगरपालिका र बर्दियाको बारबर्दिया नगरपालिकाले प्रा.डा रोमालाई सम्मान समेत गरेको थियो ।
को हुन् डा.रोमा बोरा ?
कपिलबस्तुको कृष्णनगरस्थित सोमविहेमा बि.स २०३८ सालमा रोमा बोराको जन्मभयो । राजेन्द्र प्रसाद बोरा र उषा बोराको कोखबाट जन्मिएकी रोमाको बाल्यकाल सीमावर्ती सौहरतगढमा बित्यो । उनले सौहरतगढबाटै २०५३ सालमा एलएलसी उत्तीर्ण गरिन् । पढ्नमा मेधावी रोमा कक्षामा दोस्रो कहिल्यै भइनन् । रोमाले एसएलसीमा उत्कृष्ट अंक ल्याएपछि बुवा राजेन्द्रले सौहरतगढमै आइएस्सीमा भर्ना गरिदिए । रोमाले २०५५ सालमा उत्कृष्ट अंकका साथ आईएस्सी पास गरिन् । उनलाई डाक्टर बन्ने बाटो खुल्यो । रोमालाई डाक्टरनै बनाउने चाहना थियो बुवा राजेन्द्रको । रोमाले एमबीबीएसका लागि दुई वर्ष तयारी गरिन् ।
२०५७ सालमा नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा एमबीबीएस अध्ययनका लागि भर्ना भइन् । २०६३ सालमा एमबीबीएस पास गरिन् । दुई वर्ष नेपालगन्ज मेडिकल कलेजमै मेडिकल अधिकृतको रुपमा काम गरिन् । २०६८ सालमा उनले मेडिकल कलेजबाटै एमडी पूरा गरिन् । रोमालाई किन बालरोग विशेषज्ञनै हुन मन लाग्यो ? ‘म एउटी महिला हुँ उनले अगाडि भनिन्–‘महिला भएकाले बालबालिकाप्रतिको मोह धेरै छ । त्यसैले बालबालिकाहरुकै उपचारको विशेषज्ञ बन्न मन लाग्यो ।’
बालरोग विशेषज्ञता हासिल गर्ने महिलाहरुको सूचिमा पश्चिम नेपालमै रोमाको नाम अगाडि आउँछ । ‘एउटा पुरुष सफल हुनुको पछाडि महिलाको हात भए जस्तै एउटा महिला सफल हुनुमा पुरुषको हात हुन्छ उनले भनिन्–‘चाहे त्यो श्रीमान होस् चाहे बुवा ।’ उनलाई एमबीबीएससम्म पढाउन बुवाको हात र साथ महत्वपूर्ण रह्यो भने एमडी पढाउन श्रीमान र परिवारको साथको पाइन् । सन्दिप अग्रवाल रोमाका श्रीमान हुन् ।
नेपालगञ्ज निवासी सन्दिप व्यापारी घरानाका हुन् । रोमाले सन्दिपकै घरमा बसेर पढ्नि । सन्दिपको बुवा र रोमाको बुवा मिल्ने साथी थिए । ‘पारिवारिक चिनजान थियो रोमाले भनिन्–‘वुवाले डाक्टरसँगै विहे गर्नुपर्छ भन्नुहुन्थ्यो तर मैले सन्दिप छानिसकेकी थिए बुवालाई ‘कन्भिन्स’ गरे । पारिवारिक सहमतिमा विहे भयो ।’ यो दम्पतीको एउटी छोरी छिन् । उनी नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरकी प्रध्यापक हुन् । करिव चार वर्षदेखि उनी कलेजमा सहप्रध्यापकको रुपमा कार्यरत थिइन् ।
काठमाडौं विश्वविद्यालयले गएको असारमा उनलाई प्राध्यापकमा पदोन्नति गरेको थियो । पोर्टफोलियोमा प्राध्यापकलाई विशिष्ट श्रेणीको सचिव स्तरको मानिन्छ । नेपालमा महिला प्राध्यापक निकै कम छन् । सबैभन्दा कम उमेरमा प्राध्यापकमा पदोन्नति हुनेमा डा.बोराको नाम सम्भवतः पहिलो नम्वरमा सूचिकृत भएको छ । कान्ति आरोग्य अस्पतालमा समेत कार्यरत उनी पश्चिम क्षेत्रका बालबालिकाहरुलाई स्तरीय स्वास्थ्य सेवामात्र नदिएर शैक्षिक गतिविधि र अनुसन्धानमा समेत दखल राख्छिन् । (स्वास्थ्य पेज)