सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

निर्मला पन्त घटनाको प्रत्यक्षदर्शी दाबी गर्ने अर्याल छुटे

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले कञ्चनपुरकी निर्मला पन्त घटनाको प्रत्यक्षदर्शी दाबी गरेका नवराज अर्याललाई सोधपुछ गरेर छाडेको छ।

प्राइम टाइम टेलिभिजनमा अन्तर्वार्ता दिँदै गोरखा घर भई काठमाडौं बस्दै आएका अर्यालले आफू उक्त घटनाको प्रत्यक्षदर्शी दाबी गरेका थिए।

त्यसपछि प्रहरीले अर्याललाई नियन्त्रणमा लिएर सोधपुछ गरी बिहीबार राति नै छाडेको सिआइबी प्रवक्ता एवं एसपी होबिन्द्र बोगटीले जानकारी दिए। 

‘उनको स्वास्थ्यमा समस्या रहेकाले हामीले छाडेका हौं, बोलाएको बेला र आवश्यक परेको बेलामा हाजिर हुने शर्तमा छाडेका हौं,’ बोगटीले भने।

अन्तर्वार्ता सार्वजनिक भएपछि सिआइबीले उनलाई मंगलबार ३ घण्टाभन्दा बढी सोधपुछ गरेर छाडेको थियो। उनलाई बुधबार पनि उपस्थित हुन भने पनि उपस्थित नभएपछि सिआइबीले पक्राउ गरेको थियो।

साथै सिआइबीले अर्यालसँग अन्तर्वार्ता लिएका पत्रकार ऋषि धमलासँग बुधबार सोधपुछ गरेको थियो। धमलाले सिआइबीसँग उक्त अन्तर्वार्ता हटाउने प्रतिबद्धता जनाएको एसपी बोगटीले बताए।

२०७५ साउन १० गते निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो।

भर्खरै

सम्बन्धित खबर

Language »