काठमाडौं । कात्तिक २३ गते मात्र कर्णाली प्रदेशका विभिन्न ठाउँमा तीन वटा यात्रुवाहक सवारी साधन दुर्घटनामा परे।
सुर्खेतबाट नेपालगञ्ज जाँदै गरेको लु २ ख ५७८५ नम्बरको गाडी र नेपालगञ्जबाट जाजरकोट जाँदै गरेको भे १ ख ४२३४ नम्बरको गाडी सुर्खेत–नेपालगञ्ज सडक खण्डका छुट्टाछुट्टै स्थानमा दुर्घटनामा परेका थिए। यी गाडीमा सवार चार जना सामान्य घाइते भए।
लगत्तै सुर्खेतबाट दैलेख आउँदै गरेको एउटा कर्णाली प्रदेश ०२ ००१ ख ९९८ नम्बरको गाडी दैलेख र सुर्खेतको सिमानामा पर्ने रानीमत्ता नजिक दुर्घटना भयो। त्यही दिनका अरू दुई वटा दुर्घटनाभन्दा उक्त दुर्घटना भयानक थियो। दुर्घटनामा चार जनाको मृत्यु भयो। घाइते ३० जनामध्ये धेरैजसोको उपचार भइरहेको छ।
पर्सिपल्ट कात्तिक २५ गते कालीकोटमा अर्को सवारी दुर्घटना भयो। पलाँता गाउँपालिका–५ देखि वडा नम्बर ९ तर्फ जाँदै गरेको क १ ज ५६ नम्बरको बोलेरो जिप वडा नम्बर ३ को राडुनेटामा दुर्घटना हुँदा सात जनाको मृत्यु भयो। घाइते १३ जनाको उपचार भइरहेको छ।
भोलिपल्ट कात्तिक २६ गते जाजरकोटका छुट्टाछुट्टै ठाउँमा दुई वटा सवारी साधन दुर्घटनामा परे।
जाजरकोटको बारेकोट गाउँपालिकाबाट सदरमुकामतर्फ आइरहेको भे १ ज ५९५ नम्बरको जिप नलगाड नगरपालिकामा र सदरमुकामबाट नेपालगञ्जतर्फ गइरहेको बा ५ ख १८९२ नम्बरको भेरी नगरपालिकामा दुर्घटनामा परेका थिए। उक्त दुर्घटनामा ३९ जना घाइते भए। तीमध्ये ११ जनाको हेलिकप्टरबाट उद्धार गरी कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ।
त्यसकै भोलिपल्ट फेरि जाजरकोटमा दुई वटा सवारी साधन दुर्घटना भए। नेपालगञ्जबाट जाजरकोटतर्फ गइरहेको लु २ ख ८८३६ नम्बरको फोर्स गाडी र विपरीत दिशाबाट आइरहेको लु १ च ५२९९ नम्बरको जिप आपसमा ठोक्किँदा चार जना घाइते भएका थिए।
कात्तिक २३ देखि २७ गतेबीच पाँच दिनमा कर्णाली प्रदेशमा ८ वटा सवारी साधन दुर्घटना भए। ती दुर्घटनामा ११ जनाको मृत्यु भयो। ८६ जना घाइते भए।
पाँच दिनभित्र भएका आठ वटा सवारी दुर्घटनामध्ये तीन वटा दुर्घटना ठूला छन्। ती ठूला मात्र छैनन्, सवारी चालक वा सवारीधनीले जोखिम मोलेर कतिसम्म ‘ओभरलोड’ गर्छन् र यसलाई नियमन गर्न खटिने प्रहरीले कतिसम्म अनदेखा गर्छन् भन्ने कुरालाई दुर्घटनाले तस्बिरमा जस्तै प्रस्तुत गरिदिन्छन्।
२३ गते सुर्खेत आउँदै गर्दा रानीमत्तामा दुर्घटनामा परेको गाडी चालकसहित १५ सिट क्षमताको हो। गाडीले चालकसहित ३४ जना अर्थात् क्षमताभन्दा दोब्बर बढी यात्रु बोकेको थियो। जबकि उक्त गाडी छुटेको दैलेख बजारदेखि दुर्घटना भएको स्थान बीचमा चार ठाउँमा प्रहरी चेकपोष्ट छन्। त्यसयता सुर्खेत पुग्दासम्म थप दुई वटा चेक पोष्ट छन्।
यसरी गाडीले चेकपोष्ट छल्ने वा चेकपोष्टमा बस्ने प्रहरीले छोडिदिने गर्नाले ‘ओभरलोड’ सवारी दुर्घटनाको प्रमुख कारणमध्येमा एउटा देखिएको छ।
विशेषगरी दसैं र तिहारका बेला सवारी साधनले क्षमताभन्दा बढी यात्रु बोक्ने गरेका छन्। २३ गते भएको उक्त दुर्घटनाको कारण पनि ओभरलोड नै भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ। यद्यपि यो घटनालाई अनुसन्धान गर्न सुर्खेत प्रहरीले दैलेख प्रहरीलाई पत्राचार गरेको छ। सुर्खेतले पनि आफ्नो तर्फबाट अनुसन्धान गरिरहेको छ।
‘गाडीको थोरै प्राविधिक समस्या पनि भएको र क्षमताभन्दा बढी लोड भएकाले साँघुरो बाटोमा नियन्त्रण गुमाएको भन्ने प्रारम्भिक निष्कर्ष हुन सक्छ,’ दुर्घटनासँग सम्बन्धित क्षेत्रका एक प्रहरी अधिकारीले भने, ‘यसमा अनुसन्धानको काम भइरहेको छ, निष्कर्ष अरू नै पनि आउन सक्छ।’
उनले थपे, ‘क्षमताभन्दा बढी यात्रुका सन्दर्भमा चालक वा सवारीधनीले चेकपोष्ट छल्ने गर्छन्। पोष्ट आउँदा झार्ने र अलि पर गएपछि पुनः चढाउने गरेको पाइन्छ।’
२५ गते कालीकोटमा भएको दुर्घटना पनि ओभरलोडकै कारण भएको थियो। कच्ची सडकमा अत्यधिक भार बोकेर गुडिरहेको गाडी साँघुरो ठाउँमा नियन्त्रण गुमाएको थियो। नियन्त्रण गुमेपछि जिप झण्डै ५०० मिटर तल खसेको थियो। उक्त बोलेरो जिप चालकसहित पाँच जना बसेर यात्रा गर्न मिल्ने सवारी साधन हो। त्यो दिन उक्त गाडीले २० जना यात्रु बोकेको थियो।
प्रहरीको प्रारम्भिक निष्कर्ष पनि दुर्घटनाको कारण ओभरलोड नै भन्ने छ।
‘गाउँमा कच्ची सडक, त्यसैमाथि साँघुरो छ, गाडीले धान्नेभन्दा बढी लोड गरिएको थियो,’ कालीकोटका प्रहरी प्रमुख डिएसपी टेकबहादुर रावतले भने, ‘यात्रु पनि धेरै, गाउँका मानिसको सामान पनि धेरै लोड गरेकाले साँघुरो सडकमा जिपले नियन्त्रण गुमाएको देखिन्छ।’
जाजरकोटमा २६ गते दुर्घटनामा परेको फोर्स गाडीमा ३२ जना घाइते भएका थिए।
नेपालगञ्जबाट जाजरकोट गइरहेको उक्त गाडीले पनि क्षमताभन्दा दोब्बर बढी यात्रु बोकेको थियो।
नेपालगञ्जबाट जाजरकोट जाने यात्रुवाहक सवारी साधनले दश वटा प्रहरी चेकपोष्टमा इन्ट्री गराउनुपर्छ। उक्त फोर्स आठ वटा चेकपोष्ट कटेपछि दुर्घटनामा परेको थियो।
जाजरकोटमा भएको उक्त गाडी दुर्घटनाको बारेमा पनि अनुसन्धान भइरहेको छ। प्रहरीले प्रारम्भिक निष्कर्ष समेत खुलाएको छैन।
कर्णाली प्रदेशका ९ वटा जिल्ला मात्र अहिलेसम्म राष्ट्रिय सडक सञ्जालसँग जोडिएका छन्। ती जिल्लाका सदरमुकाम जोड्ने मुख्य सडक मार्गले नै मापदण्ड पूरा भएका छैनन्। यस्ता सडकमा सवारी साधनले पनि मापदण्ड विपरीत यात्रु बोक्नु दुर्घटनाको मुख्य कारण देखिएको छ।
कर्णालीमा सवारी दुर्घटनाको अर्को मुख्य कारणमा यातायात व्यवसायीले गर्ने प्रतिस्पर्धा पनि हो। यात्रु खोस्ने प्रतिस्पर्धाका कारण सवारी चालक वा धनीले गाडीको भारवहन क्षमता र सडकको बेवास्ता गर्ने गरेकाले दुर्घटना निम्तिने गरेको यातायात व्यवसायी रमेशकुमार सापकोटा बताउँछन्।
‘चाडवाडका बेला स्वाभाविकै रूपमा यात्रु बढी हुन्छन्, त्यसैमाथि यातायात व्यवसायी कसरी आफूले धेरै यात्रु बोक्ने र चाँडो पुग्ने भन्ने मनस्थितिबाट अघि बढेको देखिन्छ,’ उनले भने, ‘यसले सवारी साधनको समयमै मर्मत पनि हुन पाएको हुँदैन, तिनै साधनको गति तीव्र हुँदा दुर्घटना निम्तिन्छ।’
यो क्षेत्रमा केही समय अघिसम्म दश वटा यातायात प्रालिहरू मिलेर संयुक्त रूपमा यातायात सेवा दिएका थिए। त्यसबेला धेरै हदसम्म दुर्घटना कम भएको सापकोटा दाबी गर्छन्।
‘सबै प्रालि एक ठाउँमा भएर काम गर्दा कुन गाडी कति समयमा छुट्ने भन्ने निश्चित हुन्थ्यो, ढिलो वा चाँडो जान मिल्थेन, यसरी गाडी चलाउँदा गाडीले निश्चित क्षमताअनुसार मात्र यात्रु राख्न पाउँथे,’ उनले भने, ‘चाडपर्वका बेला हुने भिडलाई पनि मध्यनजर गरेर समितिले खाली भएका गाडी सम्बन्धित ठाउँमा पठाइदिन्थ्यो, यसरी काम गर्दा दुर्घटना धेरै हदसम्म घटेको थियो।’
केही समययता सडकमार्गमा हुने सवारी दुर्घटनामा कर्णालीको ग्राफ उकालो लागेको देखिन्छ।
नेपाल प्रहरीको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७९/०८० मा प्रदेशभित्र ६८४ वटा सवारी दुर्घटना भएका थिए।
यस्तै, आर्थिक वर्ष २०८०/०८१ मा दोब्बरभन्दा बढी दुर्घटना भएको तथ्याङ्कले देखाउँछ। उक्त वर्ष एक हजार ४४५ वटा सवारी दुर्घटना भएका थिए। चालु आर्थिक वर्षको चार महिनाभित्र ४४८ वटा सवारी दुर्घटना भइसकेका छन्।
मानवीय क्षतिलाई हेर्दा आर्थिक वर्ष २०७९/०८० कर्णाली प्रदेशमा भएका सवारी दुर्घटनाबाट १३१ जनाले ज्यान गुमाएका छन्।
यस्तै, १०९३ जना घाइते भएका थिए। गत आर्थिक वर्षभित्रका सवारी दुर्घटनामा परी ११२ जनाले ज्यान गुमाए भने दुई हजार ८७ जना घाइते भए।
यो आथिर्क वर्षको हालसम्म भएका ४४८ वटा सवारी दुर्घटनामा परी ४८ जनाले ज्यान गुमाएका छन्। ७१३ जना घाइते भएका छन्।
समग्रमा आर्थिक वर्ष २०७९/०८० देखि हालसम्म कर्णाली प्रदेशमा भएका सवारी दुर्घटनाबाट २९१ जनाको मृत्यु भएको छ। यस्तै, ३ हजार ८९३ जना घाइते भएका छन्।
ट्राफिक प्रहरीसँगको आर्थिक वर्ष ०७९/८० यताको तथ्याङ्कअनुसार सबैभन्दा धेरै दुर्घटना सुर्खेतमा भएका छन्। सवारी दुर्घटनामा धेरै मृत्यु पनि सुर्खेतमा भएको छ।
यसैअनुसार सवारी साधन दुर्घटना हुने र मानवीय क्षति हुने कर्णालीको दोस्रो जिल्लामा सल्यान पर्छ।