नेपालगन्ज , अधिकाशं तिहारमा देउसीभैलो खेलेर जम्मा भएको रकम रमाइलो गर्न बनभोज जाने प्रचलन छ । नजिकै होस या टाढा पर्यटकिय स्थल सम्म पुगेर देउसी भैलोमा संकलित पैसा सकाउने गरिने भएपनि बाँकेको खजुरामा भने एक समुहले सामाजिक कार्यमा केहि रकम खर्चिएको छ ।
खजुरा गाउँपालिका ३ धवलागिरीमा देउसी भैलो खेलेको पैसा क्यान्सर पिडितलाई सहयोग गरिएको हो । धवलागिरीको सामाजी टोल सुधार समूहले स्थानिय ५२ वर्षिय भवानी श्रेष्ठलाई २० हजार ५ सय ५५ रुपैया देउसी भैलोमा संकलन भएको बाट हस्तान्तरण गरिएको हो ।
समुहका अध्यक्ष सोफिया गुरुङका अनुसार संकलित ८० हजार मध्य गाउँमा लामो समयदेखी मुल आन्द्रामा क्यान्सर भई उपचारात्मक रहेकी श्रेष्ठलाई र केहि रकम सडक बत्ति मर्मतमा खर्चिएर बजेको रकम मात्र बनभोजका लागि छुटइने बताइन । ८ वर्षदेखी विरामि अवस्थामा रहेकी भवानी श्रेष्ठलाई क्यान्सर भएको ४ वर्ष पुगिसकेको छ ।
आर्थिक स्थिती नाजुक अवस्थामा रहेका बिरामी श्रेष्ठलाई थोरै भएपनि राहत मिल्ने समुहले अपेक्षा लिएको अध्यक्ष गुरुङले जनाइन । गाउँमा धेरैले तिहारमा देउसी भैलो खेलेर रकम संकलन गरेका छन तर सामाजी टोल सुधार समूहले गाउँमै विरामी अवस्थामा रहेकी महिलालाई सहयोग गर्नु अति प्रशन्सनिय कार्य रहेको स्थानिय रुद्र रानाभाटले बताए ।
देउसी भैलोको रकम सामाजिक कार्यमा खर्चिनुले समाजकै भलो हुने अर्का स्थानिय खड्क बहादुर घर्तिले बताए । देउसी भैलो सांस्कृतिक मौलिक परम्परालाई जोगाउनका लागि खेलिए पनि समुहले विगतदेखि नै सामाजिक कार्यमा सहयोग गर्दै आईरहेको अध्यक्ष गुरुङले बताइन ।