काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को तयारीमा जुटेको विराटनगर किङ्सले युथ-१९ महिला टिमका प्रमुख प्रशिक्षक महेश रिजाललाई मंगलबार विराटनगरमा सम्मान गरेको छ।
टिमले आफ्नो आधिकारिक जर्सी सार्वजनिक गर्न आयोजना गरेको कार्यक्रममा प्रशिक्षक रिजाल सम्मानित भएका हुन्।
उनलाई कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सम्मान पत्रद्वारा सम्मान गरेका हुन्।
विराटनगर -५ का रिजालको प्रशिक्षणमा रहेको नेपालको युथ-१९ महिला टिम पहिलोपटक विश्वकपमा पुगेको छ।
नेपालको महिला क्रिकेटले इतिहासमै पहिलोपटक आफूलाई विश्वकपको मन्चमा उभ्याउदा विराटनगरका रिजाल त्यसका प्रमुख नेतृत्वकर्ता थिए।
देशलाई खुसी दिने यही कोशेढुङ्गा पार गराएका उनी गृहनगरमा सम्मानित भएका हुन।
नेपालको युथ -१९ महिला टिमले आउँदो डिसेम्बरमा एशिया कप र जनवरीमा विश्वकप खेल्दैछ।