काठमाडौं । चितवनको चित्रवन स्कुलको बस दुर्घटनामा घाइते भएकामध्ये एक विद्यार्थीको उपचारका क्रममा मृत्यु भएको छ।
कालिका–४ स्थित विद्यालयका विद्यार्थीहरु गत शनिवार स्काउटको तालिम र वनभोजका लागि जिल्लाको उपरदाङगढीमा पुगेका थिए। वनभोज सकेर फर्कनेक्रममा बसको ब्रेक फेल भएर दुर्घटना भएको थियो।
घाइतेमध्ये कालिका–३ का ८ वर्षीय आरम्भ पोखरेलको सोमवार बिहान साढे ५ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।
उनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको थियो।
दुर्घटनामा घाइते भएका ७ जनाको चितवन मेडिकल कलेजमा र ५ जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। बसमा सवार ३२ जनामध्ये २८ जना घाइते भएका थिए।