काठमाडौं । कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारी जोडिएको मानव बेचबिखन प्रकरणमा मुख्य बिचौलिया महेश पाण्डेले घुम्ने उद्देश्यले मात्रै एक जना युवकलाई जापान पठाएको बयान दिएका छन् ।
धादिङ घर भएका ३४ वर्षीय महेश पाण्डेले जापानमा आफ्नो साथी दिवाकर बाबु भट्टराईले सांस्कृतिक कार्यक्रमको आयोजना गरेको र त्यहाँ आफूले २२ वर्षीय कञ्चन देवकोटालाई पठाएको बयान दिएका छन् ।
बयानमा उनले भनेका छन्, ‘भट्टराईले जापान जान चाहने मान्छेको नाम मागेको कञ्चन देवकोटाले जापान घुम्न मलाई पठाइदिनु भनेपछि पठाएको हुँ ।’
होटल खर्च र प्लेन टिकटका लागी आवश्यक ५ लाख ५० हजार रकम देवकोटासँग लिएर भट्टराईलाई दिएको पाण्डेले बताएका छन् ।
बालाजुमा कृषि मल्टी प्रपोज सञ्चालन गर्ने पाण्डेले भट्टराईले कार्यक्रमबारे बताउँदै जान चाहनेको नाम दिन भएको र सो कुरा आफूले गोपाल भन्ने योगराज गौतमसँग सेयर गरेको बताएका छन् ।
बयानमा भनेका छन्, ‘योगराज गौतमले लिलाबल्लभ अधिकारीलाई फोन गर्दा उहाँले जाने हो भन्नुभएको थियो, त्यसपछि मैले मन्त्रीको नाम भट्टराईलाई दिएको हुँ ।’