नेपालगन्ज, बाँकेको नरैनापुर गाउँपालिकाले प्रमुख प्रशासकीय अधिकृत जनकलाल चौधरीको सरुवा रोक्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गरेको छ।
गाउँपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाहले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजुकुमार गुप्तासँग फोनमा कुरा गरेर प्रमुख प्रशासकीय अधिकृत चौधरीको सरुवा रोक्न अनुरोध गर्नुभएको हो।
नरैनापुर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत चौधरीलाई सरुवा गर्ने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णय कानुन विपरीत भएर त्रुटिपूर्ण भएको भन्दै गाउँपालिकाका अध्यक्ष शाहले उक्त निर्णय बदर गरिदिन मन्त्री गुप्ता र सचिव भरतमणि सुवेदीसँग अनुरोध गरेको बताउनुभएको छ।
नरैनापुरका अध्यक्ष शाहले भन्नुभयो, ‘निजामती सेवा ऐन, २०४९ को दफा १८ को उपदफा ३ मा “‘निजामती कर्मचारीको सरुवा गर्दा सम्बन्धित अख्तियारवालाले सामान्यतः वर्षमा एक पटक कम्तीमा दुई वर्षको लागि सरुवा गर्नु पर्दछ”, भन्ने व्यवस्था रहेको छ।
मन्त्रालयले २०८१ मङ्सिर ९ मा चौधरीलाई सरुवा गर्दै उहाँको ठाउँमा प्रमुख प्रशासकीय अधिकृत नवराज वलीलाई खटाएको छ। चौधरीको सरुवा कानुन विपरीत भएको अध्यक्ष शाहले बताउँदै आउनुभएको छ। अध्यक्ष शाहले स्थानीय नागरिक र कर्मचारी नै आन्दोलनमा होमिएकोले वलीलाई हाजिर गराउन नसक्ने जानकारी गराउनुभएको छ।