काठमाडौँ । सामाजिक सञ्जालमा युवतीको चरित्रहत्या गरेको आरोपमा प्रहरीले एक जना व्यक्तिलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नुवाकोट शिवपुरी गाउँपालिका वडा नं. १ बस्ने ३८ वर्षीय सुरेन्द्र केसी रहेका छन् ।
केसीले सामाजिक सञ्जालमा साथी बनेर कुराकानी गर्ने क्रममा पीडित युवतीलाई प्रेम प्रस्ताव राखेर भिडियो कल गर्ने क्रममा पीडित युवतीलाई अश्लील अङ्ग देखाउन लगाई रेकर्ड गरेका थिए ।
पछि उक्त भिडियो पीडित र पीडितको आफन्तलाई समेत पठाएका थिए ।
आफ्नो अपमान र बेइज्जत गरी चरित्र हत्या गरेकोले आवश्यक कारबाही गरी पाउ भनी पीडित युवतीले साइबर ब्यूरोमा उजुरी दिएकी थिइन् ।
प्रहरी उपरीक्षक तथा प्रवक्ता दीपक राज अवस्थीका अनुसार निवेदन प्राप्त भए अनुसार आवश्यक अनुसन्धान तथा प्राविधिक विश्लेषणबाट उक्त कार्य गर्ने केसी रहेको खुल्न आएको थियो ।
उनलाई ब्यूरोको टोलीले मङ्सिर १२ गते पक्राउ गर्न सफल भएको थियो ।
केसीमाथि विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौँ जिल्ला अदालतबाट पाँच दिन म्याद थप भई आवश्यक अनुसन्धान कार्य भइरहेको अवस्थीले बताए ।