सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बजारको ब्याजदर घट्दा बैंक तथा वित्तीय संस्थाको ऋणपत्रको मूल्य आकासिँदै

काठमाडौँ । बजारको ब्याजदर घट्दा बैंक तथा वित्तीय संस्थाको ऋणपत्र (डिबेञ्चर) को मूल्य आकासिँदै गएको छ ।

बजारको ब्याजदर सस्तो हुँदै जाँदा तुलनात्मक रूपमा धेरै प्रतिफल भएका यी ऋणपत्रको मूल्य बढ्दै गएको हो । 

अहिले बैंकिङ क्षेत्रको औसत ब्याजदर ५ प्रतिशत हाराहारीमा मात्रै छ । असोज मसान्तको विवरण अनुसार यस्तो दर ५.२५ प्रतिशत रहेको थियो । कात्तिक र मंसिर महिनामा घटेको ब्याजदरले यसलाई ५ प्रतिशत भन्दा तल झारिसकेको बैंकहरुको भनाइ छ । 

तर, बैंकहरुले तरलता समस्या समाधान हुनुअघि नै जारी गरेको ऋणपत्रको ब्याजदर भने उच्च छ । अङ्कित मूल्य १००० रुपैयाँ रहेका यस्ता ऋणपत्रको ब्याजदर परिपक्व अवधिसम्म तोकिएको बराबर नै हुन्छ भने प्रत्येक ६/६ महिनामा ब्याज भुक्तानी हुने व्यवस्था छ । 

अहिले बजारमा विभिन्न बैंक वित्तीय संस्थाहरुको ७३ वटा ऋणपत्र दोस्रो बजारमा सूचीकृत छन् । ती ऋणपत्रको ब्याजदर न्यूनतम ४ प्रतिशतदेखि अधिकतम १२ प्रतिशतसम्म रहेको देखिन्छ । 

अहिले सबैभन्दा धेरै ब्याजदर तोकिएका ऋणपत्रहरुमा आईसीएफसी फाइनान्स र गुडबिल फाइनान्सको ऋणपत्र रहेका छन् । यी ऋणपत्रको ब्याजदर १२ प्रतिशत छ भने २०८३ मा परिपक्व हुने कार्यतालिका छ ।

अहिले आईसीएफसीको उक्त डिबेञ्चर प्रतिकित्ता १३०० रुपैयाँ तथा गुडबिलको १२९० रुपैयाँमा अन्तिम कारोबार भएको छ । 

त्यस्तै, महालक्ष्मी विकास बैंक २०८९, लुम्बिनी विकास बैंक २०८९, कुमारी बैंकको २०८९ र एनआइर्एशी एशिया २०८२/८३ ऋणपत्रको ब्याजदर ११ प्रतिशत रहेको छ । यी ऋणपत्रहरू क्रमशः १२१० रुपैयाँ, १२५५ रुपैयाँ, १२७४ रुपैयाँ र ११६७ रुपैयाँमा कारोबार भइरहेको छ । 

त्यस्तै सिद्धार्थ बैंकको २०८९ मा परिपक्व हुने डिबेञ्चरको ब्याजदर १०.७५ प्रतिशत, एभरेस्ट बैंकको २०८५ मा परिपक्व हुने डिबेञ्चरको १०.५ प्रतिशत, सिद्धार्थ बैंकको २०८२ मा परिपक्व हुने डिबेञ्चरको १०.५ प्रतिशत ब्याजदर तोकिएको छ । यी डिबेञ्चरहरु बजारमा क्रमशः ११५३ रुपैयाँ, १११५ रुपैयाँ, १०८० रुपैयाँ रहेका छन् । 

बजारका धेरैजसो डिबेञ्चरको मूल्य १० देखि १०.५ प्रतिशतसम्म रहेका छन् । १०.३५ प्रतिशत ब्याजदर रहेको कृषि विकास बैंकको २०८३ मा परिपक्व हुने डिबेञ्चर मूल्य ११३५ रहेको छ । त्यस्तै, १०.२५ प्रतिशत ब्याजदर भई २०८६ सालमा परिपक्व हुने कुमारी बैंकको डिबेञ्चर ११७० रुपैयाँमा अन्तिम कारोबार भइरहेको छ । एनआईशी एसियाको २०८५/८६ मा परिपक्व हुने १० प्रतिशत ब्याजदर रहेको डिबेञ्चर समेत ११०० रुपैयाँमा कारोबार भइरहेको छ । 

अहिले बजारमा सबैभन्दा कम ब्याजदर भएको ऋणपत्र एनएमबि बैंकको इनर्जी बण्ड २०९२/९३ हो ।

यसको ब्याजदर सबैभन्दा कम अर्थात् ४ प्रतिशत रहेको छ । त्यस्तै, कृषि विकास बैंकको कृषि वण्डको ब्याजदर समेत ४ प्रतिशत नै रहेको छ । यी डिबेञ्चर  सूचीकृत भए पनि हालसम्म दोस्रो बजारमा कारोबार भएका छैनन् । 

हालसम्म सूचीकृत भई कारोबार समेत भएका ऋणपत्रमध्ये सबैभन्दा कम ब्याज भएको ऋणपत्र नेपाल इन्फास्ट्रक्चर बैंकको ऊर्जा ऋणपत्र हो । ७ प्रतिशत ब्याजदर रहेको र २०८५/८६ मा परिपक्व हुने यो ऋणपत्रको मूल्य अहिले ९८५ रुपैयाँ रहेको छ ।

ऋणपत्रको मूल्य पनि शेयरको जस्तै माग र आपूर्तिको आधारमा निर्धारण हुने गर्छ । तर, यसको प्रतिफल दर निश्चित हुने र जोखिम पनि कम हुने भएकाले सेयर बजार जस्तो बजार हल्लाले यसको माग र आपूर्तिमा धेरै असर गर्दैन ।

यसको मागलाई प्रभाव पार्ने प्रमुख तत्त्व बने बजार ब्याजदर र परिपक्व अवधिलाई मानिन्छ । बजारको ब्याजदर भन्दा ऋणपत्रको ब्याजदर बढी छ भने यसको मूल्य अङ्कित मूल्यभन्दा धेरै हुन्छ, यस्तो अवस्थामा परिपक्व हुने समय जति धेरै बाँकी छ, उति धेरै मूल्य हुने अवस्था रहन्छ । 

त्यसको विपरीत बजार ब्याजदरभन्दा ऋणपत्रको ब्याजदर कम छ भने यसको मूल्य अङ्कित मूल्यभन्दा तल आउँछ । यस्तो अवस्थामा परिपक्व अवधि जति धेरै हुन्छ त्यति नै मूल्य कम हुने अवस्था देखिन्छ । अहिले अधिकांश डिबेञ्चरको मूल्य बजार ब्याजदरभन्दा माथि छ । त्यसैले अधिकांश डिबेञ्चरको बजार मूल्य अङ्कित मूल्यभन्दा माथि देखिएको हो ।

भर्खरै

सम्बन्धित खबर

Language »