काठमाडौं / ११ असार
कोभिड –१९ का कारण रसुवागढी नाकाबाट बन्द व्यापारिक कारोबार फेरि सञ्चालनमा ल्याइने भएको छ।
नेपाल र चीन दुई देशका अधिकारीबीच बुधबार अपराह्न रसुवागढीस्थित मितेरी पुलमा सम्पन्न वार्तामा स्वास्थ्य परीक्षण, सीमा क्षेत्रमा विशेष सुरक्षा, क्वारेन्टिन जस्ता व्यवस्थापनबाट कारोबार अगाडि बढाउने सहमति भएको हो ।
दुवै देशका नागरिक आवतजावतमा भने यथावत् रोक लगाई अब चिनियाँ सवारी साधनले नै मितेरी पुलसम्म मालसामान उपलब्ध गराउने सहमति भएको रसुवाका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए।
चीनबाट आयात गरिने मालवस्तु दैनिक रूपमा १५ कन्टेनरसम्म रसुवागढीको मितेरीपुलमा ल्याइने छ। नेपाली कन्टेरमा सामान लाद्न कोभिड –१९ नियन्त्रण नीतिको मापदण्ड पूरा गरेका कामदार मात्र पठाउन चिनियाँ अधिकारीले आग्रह गरेको बताइएको छ।
एकदिनमा १५–१५ कामदार, चालक र कन्टेनर मात्र मितेरी पुलको सीमामा पठाउन ती अधिकारीले आग्रह गरेको रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले जानकारी दिए।
केरूङबाट नेपाली कन्टेनरले सामग्री ल्याउने गरेकामा चीनको वुहानमा कोरोना भाइरसको संक्रमण बढेसँगै गत माघ १५ गतेदेखि बन्द भएको थियो। कोरोना नियन्त्रण नभएसम्म नेपाली ट्रक तथा कन्टेनर केरूङ जान नपाउने जनाइएको छ।