जारी सिजनको च्याम्पियन्स लिगको सेमिफाइनल अन्तर्गत हिजो राति भएको खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले जर्मनी आरबी लाइप्जिगलाई ३-० हराउँदै फुटबल इतिहासमै पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।
खेलको १३ औं मिनेटमा डी मारियाको कर्नर पासलाई सदुपयोग गर्दै मार्किन्हसले पिएसजीलाई अग्रता दिलाए । त्यसपछि नेमारको पासमा ४२ औं मिनेटमा डी मारियाले गोल गर्दै पि एस जीको अग्रतालाई दोब्बर बनाए ।
दोस्रो हाफको ५६ औं मिनेटमा डी मारियाको पासमा बर्नाटले गोल गरे । त्यसपछि बाँकी समयमा दुवै टोलीबाट गोल हुन नसक्दा पिएसजीले ३-० गोल अन्तरले खेल जित्दै फाइनलमा स्थान पक्का गरे ।
अब अर्को खेलमा पिएसजीले फाइनलमा जर्मन क्लब बायर्न म्युनिख र फ्रेन्च क्लब लियोन बिचको विजेतासँग खेल्नेछ । लियोन र बायर्न को खेल आज राति हुँदैछ ।