काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशमा विशेष रुपमा मनाइने गौरा पर्वका अवसरमा शुभकामना व्यक्त गरेका छन् ।
प्रधानमन्त्री ओलीले गौरा पर्व हाम्रो देशको सुदूरपश्चिम प्रदेशको विशिष्ट साँस्कृतिक पर्व भएको बताउदै प्राचीन कालदेखि नै मनाइँदै आएको यस पर्वले पारिवार र समुदायको जीवनमा परस्पर एकता र विश्वास विस्तार गर्दै आएको बताएका छन् ।
उनले भनेका छन्, ‘साँस्कृतिक विविधतायुक्त हाम्रो देशमा यस्ता पर्वहरु परस्पर एकाताका प्रतीक रहँदै आएका छन् । महिलालाई जन्मस्रोतकी देवीका रुपमा पूजन गर्ने हाम्रो सँस्कृतिमा स्थान अनुसार विभिन्न नामबाट तिनको सम्मान गर्ने विशिष्ट परम्पराको एक आयाम गौरा पर्व हो ।’
प्रधानमन्त्री ओलीले हाम्रो देश बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक र बहुधार्मिक विशेषतायुक्त रहेको भन्दै विविधता बीचको एकता र सामाजिक सहिष्णुता हाम्रो मौलिक विशेषता रहेको सन्देशमा उल्लेख गरेका छन् ।