काठमाडौँ। कोरोना महामारीका कारण लकडाउन अवधिमा देशभरका ४१ प्रतिशत महिलाले रोजगारी गुमाएका छन् । रोजगारी तथा व्यावसायिक क्षेत्रहरू बन्द हुँदा आयस्रोत गुमाएका महिलाहरूको यो संख्या पुरुषको तुलनामा बढी हो ।
यूएनडीपीको सहयोगमा इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलभमेन्ट स्टडिज (आईआईडीएस)ले तयार पारेको रिपोर्टअनुसार उक्त अवधिमा २८ प्रतिशत पुरुषले रोजगारी गुमाएका छन् ।
‘महिलाहरू कोभिड महामारीले अधिक प्रभावित छन् किनकि उनीहरू काम गर्ने होटल, रेस्टुराँ, आतिथ्य, थोक तथा खुद्रा व्यापारहरूमा कोभिडले प्रभावित पारेको छ, ती सेवा क्षेत्रहरू बन्द छन्,’ रिपोर्टमा भनिएको छ । आईआईडीएसले नेपालमा सामाजिक तथा आर्थिक क्षेत्रमा कोरोनाले पारेको असरबारे अध्ययन गरेको हो ।
सर्भेमा देशैभरका हिमाली, पहाडी र तराईका २७ जिल्लाका ११ सय सहभागी थिए । दैनिक ज्याला मजदुरी गर्ने ७ सय र ४ सय साना तथा लघु व्यवसायी र उद्यमीहरूलाई सर्भेमा सहभागी गराइएको थियो ।
केन्द्रीय तथ्यांक विभागको सन् २०१७/१८ को श्रमशक्ति सर्वेक्षणअनुसार नेपालमा काम गर्ने उमेर समूहका ९१५ वर्षमाथि झन्डै २ करोड ७ लाख जनसंख्या छ । जसमध्ये ५५।६ प्रतिशत महिला पर्छन् । काम गर्ने उमेर समूहका करिब ७१ लाख जनसंख्या रोजगारी तथा श्रम बजारमा सहभागी छन् । जसमा महिला सहभागिता ४६।२ प्रतिशत छ ।
रोजगारीमा पुरुषको तुलनामा महिलाको संख्या कम भए पनि रोजगारी गुम्नेमा धेरै रहेको अन्तरपुस्ता महिलावादी समूहको प्रतिनिधि एवम् श्रम तथा रोजगारविज्ञ सरु जोशी बताउँछिन् ।
उनका अनुसार सरकारले यौन व्यवसायलाई वैधानिक रोजगारीका रूपमा स्वीकार नगरेको भए पनि यो क्षेत्रका ५५ हजार महिला बेरोजगार भएर बसेका छन् ।