काठमाडौं। पर्सा प्रहरीले गत शनिबार वीरगन्जको एक अपार्टमेन्टबाट ठूलो परिमाणमा सुन बरामद गरेको छ ।
सुन बरामद गरेको ४८ घन्टामा सुन फेला परेको फ्ल्याट कसको नाममा रहेकोबारेमा पता लगाएको छ । प्रहरीका अनुसार अशोक सिन्हा बस्दै आएको फ्ल्याट उनकी छोरीको नाममा रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार नेपालमा विवाहित भएर बस्दै आएकी अशोक सिन्हाका छोरी निवेदिका सिन्हाकै नाममा फ्ल्याट रहेको फेला परेको छ ।
पर्साका प्रहरीका अनुसार बरामद भएको सुनमा हालसम्म क–कसको संलग्नता र कसको हो भन्ने प्रमाणित हुन नसकेको अवस्था छ ।
स्रोतका अनुसार सुन प्रकरण ठूलो भएकाले हतपत प्रहरीले केही बताउन नचाहेको र प्रमाण खोज्ने काम गरिरहेको दाबी गरेको छ । पर्सा प्रहरीले शनिबार नेपालबाट भारत तस्करी गर्न लागिएको २३ किलो सुन बरामद गरेको थियो ।
भारतीय नागरिक बस्दै आएको वीरगन्ज महानगरपालिका– ५ रेसमकोठीमा रहेको गणेश अपार्टमेन्टको ३०३ नम्बर फ्ल्याटबाट प्रहरीले शनिबार २३ किलो दुई सय ५७ ग्राम सुन बरामद गरेको हो ।