सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कठिन यात्रा पार गरेर सांगीतिक क्षेत्रमा उदाउन खाेजेकी ”अमिता दाेङ”काे संघर्षकाे कथा

काठमाडौँ । कलाकारिताको क्षेत्रमा आफ्नो भविष्य सुनिश्चित गर्नका लागि धेरै कलाकारहरुले यो कङ्क्रिटको शहरमा संघर्ष गरिहेका छन् । ती संघर्षको दौरानमा कसैले जीवनको महत्वपूर्ण समयलाई नै बर्बाद गरेका छन् भने कसैले उज्ज्वल भविष्य निर्माण गरेर सुख र आनन्दको जिन्दगी बिताइरहेका छन् ।

सफलता र असफलताको दौरानमा कलाकारको जिन्दगी बयल गाडा जस्तै चलिरहेको नै छ । कलाकारिता पेशा सम्मानित पेशा पनि हो । सामाजिक प्रतिष्ठा, निष्ठा र कदरको पेशा हो कलाकारिता, त्यसैले यो बयल गाडा होइन सुपर मेट्रो ट्रेन पनि हो ।

समाजमा कलाकारलाई सबैले माया गर्छन् । कलाकारको जात र थर हुँदैनन् । कलाकार सबैको साझा र प्यारो हुन्छ । त्यसैले पनि कलाकार हुनका लागि धेरै संघर्ष गर्नुपर्छ ।

यही संघर्षको मैदानमा उत्रिएकी छिन् “अमिता दोङ”

कडा मेहनत, निरन्तरता अनि धैर्यता यी तीन सुत्रलाई अनुशरण गरेमा कलाकारिताको क्षेत्रमा “अमिता दोङ” को भविष्य छ भन्दा फरक नपर्ला ।

सिन्धुपाल्चोकको मेलम्चीमा जन्मेकी अमिता दोङले घरमा विद्रोह गरेर नै १२ सम्मको अध्ययन पुरा गरेको संवादको क्रममा बताउनु भयो ।

हुन त उनी बाल्यकाल सम्झन पनि चाहन्नन् । तर उनी जवाफ दिन भने बाध्य भइन् । सायद यो उनको जीवनको व्यक्तिगत कुरा पनि हुन सक्छ तर सारा खबरको शैली संवादमा जीवनका केही तिता पलहरुको पोका खोलेर आनन्दले सास लिइन् जसरी उनले धेरै पछि ठुलै भारी बिसाएकी थिइन् ।

सिन्धुपाल्चोक छोडेर काठमाडौँ आउँदाको दिन सम्झँदा अमिताले बौद्ध स्तुपाको टुप्पो तिर हेर्दै आँशु लुकाउन खोजिन् । आँखामा ति दुःखका आँशुहरु अडिरहन सकेन । भोटे कोशीको कन्चन पानी जस्तै निर्जल थियो उनको आँशु तर त्यहाँ धेरै पिडाका कथाहरु बगिरहेको थियो ।

”दाजु, यो शहरमा धेरै दुःख गरेको छु । बालाजुको जनजागृति स्कुलमा अध्ययन गर्दा मैले गरेका ति संघर्षको दिनहरु सम्झने हो भने सायद तपाईको यो स्टोरीमा अटाउन सकिँदैन होला । बाबा-ममीको म एक्लो छोरी, दाजुभाईको एक्लो बहिनी तापनि मेरो कथा, संघर्षको यात्रा अत्यन्तै कठिन छ । म ति पलहरु सम्झिन चाहनन्थे । आज आफ्नो सम्झेर दाजुको सामु बहिनीको कथा सुनाउँदै छु ।

पढ्दै, पापी पेट पाल्नका लागि जागिर पनि खाँदै यो शहरमा मैले बाँच्न सिकेकी हुँ । मैले शुरुमा साइबर दोकानमा रिसेप्सनीष्टको पोष्टबाट जागिरको यात्रा थालेको हो । गाउँकै एक जना दिदी हुनुहुन्थ्यो । उहाँसँग केही समय ब्युटीपार्लरमा पनि काम गरे । मलाई १२ सकाउन धेरै कठिन भएको थियो । हिक्मत हारिन । आखिर सफल नै भयो ।

कलाकारितामा लाग्छु भन्ने मैले कल्पना नै गरेकी थिइन । भाग्यले यतै तिर डोर्याएको छ । एयरहोस्टेज भन्ने सपना थियो । त्यसैले तीन महिनाको तालिम पनि लिएँ । त्यत्तिबेला डोमेस्टीक प्लेनहरु दुर्घटना भैइरहन्थे । ट्रेनिङमा साथीहरु रोएको देखेर मलाई पनि तालिम नै छोडुँ कि भन्ने लागेको थियो । मैले मेरो सपना पुरा गर्ने लक्ष्य लिएर ट्रेनिङ पुरा गरे ।

इन्टरनेश्नल एयरहोस्टेज भन्ने सपना बोकेर विदेश गएको थिएँ तर मेरो विदेशको यात्राले मोड अन्तैतिर मोडी दियो ।

जानेर या नजानेर हो ”हेभन इज द ब्ल्याक” भन्ने सर्ट मुभिको लागि कथा लेख्न पुगेछु । त्यो सर्ट मुभिले अन्तरास्ट्रिय अवार्ड जित्न पनि सफल भएको थियो । त्यो मेरो आफ्नै गाउँको सत्य घटनामा आधरित कथा थियो । हुन त म कथाकार होइन । यो संयोग मात्र हो भन्दा फरक पर्दैन ।”

संघर्षको यात्रामा यसरी भौँतारी रहकँदा परिवारको सहयोग कस्तो थियो ? भन्दा उनले आमा सम्झेर आँशु झारिन् ।

”दाई, आमाले साथ दिएको भए आज म यो स्थानमा हुने थिएन होला । म अर्कै मान्छे हुने थियो । मैले अध्ययन ढिलै शुरु गरे तर विद्यालयमा म कहिले पनि तेस्रो भईन , पहिलो या दोस्रो मात्र भएको थियो ।”

आमालाई किन दोषी ठान्नु हुन्छ नी ? भन्ने प्रश्नमा उनी भन्छिन् ।

”दाजु, आमा सम्झेर अहिले पनि एक्लै रुने गर्छु । त्यही आमाको दुध चुसेर हुर्के तर त्यही आमाले म प्रति विश्वास नगर्दा मैले यो दुःख भोग्नु परेको छ । समाजले आरोप लगाउनु स्वभाविक हो । आमाले दुध र पानी छुट्टाउन सक्नु भएन । मलाई नै गलत देख्नु भयो । म गाउँ छोडेर यो कङक्रिडको शहरमा बास्न बाध्य भएँ ।”

अमिता बहिनीको आँखाबाट आँशु बगिरहेको थियो । मैले थप प्रश्न सोध्ने आँट गरिन । मेरो बाध्यता थियो । प्रश्न सोध्नु मेरो पेशा हो । कस्तो खालको आरोप लागेको थियो ? प्रश्न अनुतरित घुमि रह्यो ।

उनले पुनः सिन्धुपाल्चोक सम्झिन् । उही पुरानो घटना सम्झिन पुगिन् । विस्तारै घटनाको फेरिस्ता खुलाइन् ।

”दाजु, सायद म १६ वर्षको थिएँ होला । गाउँमा मेराे जीवनमा मैले कल्पना गर्न नै नसक्ने घट्ना भयाे । नराम्रो हल्ला फैलियो । घरमा सबैलाई मैले बुझाउन सके तर आमालाई सम्झाउन सकिन । आमाले मेरो विश्वास नै गर्नु भएन । त्यसैले घर छोड्न बाध्य भएँ । अहिले पनि म गाउँ जान्छु एक दिन या दुई दिन बस्छु अनि काठमाडौँ आइहाल्छु । आमासँग कुरा नै मिल्दैन । मेरो लक्ष्य, उदेश्य, योजना ठुलै थियो । यही कारणले ब्रेकफेल भएको हो कि, अहिले पनि मनमा खड्की रहन्छ । सायद त्यही घट्नाकाे कारणले पनि हाेला म सबैसँग साहसका साथ, निरका साथ बाेल्न, काम गर्न सकेकी छु । हाेइन भने म सिन्धुपाल्चाेककाे कुनै गाउँमा एक अबला नारी जस्तै सहेर बस्ने नारी हुने थियाे हाेला । मलाइ त्याे घट्नाले समाज चिन्ने अवसर पायाे । संसार हेर्ने अवसर मिल्याे । अहिले चाहि ठिकै भएछ जस्ताे लाग्छ । ”

दबाव र अभावसँग संघर्ष गर्दै आकाशमा उड्ने सपना बोकेकी ”अमिता दोङ” अब सागीतिक क्षेत्रको आकाशमा उड्ने भएकी छिन् । उनीले जीवनको एक एक पाइलामा आमा, बुबा अनि दाजुभाई सम्झदै सफलताका लागि कठिन साँगुहरु तर्ने गरेको बताए ।

“अन्तराष्ट्रिय आकाशमा उठेर विदेशी पाहुँनाहरुलाई सत्तकार गर्ने सपना पुरा गर्न नसकेता पनि अब व्यवसाय र कलाकारितामा सफलता हासिल गर्ने लक्ष्य लिएकी छु । वर्षमा एक एक वटा म्युजिक भिडियोमा अभिनय गर्दै आइरहेको छ । यो वर्षमा मैले तीन वटा म्युजिक भिडियोमा अभिनय गरेको छु । यसले मलाई नयाँ उचाईमा पु¥याउछ कि भन्ने आशा लिएको छ ।अध्ययनले भन्दा व्यवहारिक ज्ञानले धेरै कुराहरु सिकाएका छन् ।”

कलाकार अमिता दोङसँग जीवनका भोगाईहरुकोबारेमा संवाद गरिरहदा यो कंक्रिटको शहरमा उज्जल भविष्य खोज्ने लाखौँ युवाहरुको सपना साँच्चिकै यही आकाशमा उडिरहेको छ कि जस्तो लागिरहेको थियो मलाई ।

तामाङ सांगीतिक क्षेत्रमा मात्र नभएर नेपाली सांगीतिक क्षेत्रमा पनि प्रभाव छोड्न सकिने गुणहरु पाइन्छन् अमिता दोङसँग । रुप अनि फोटो जेनिक, अभिनय साथमा स्पष्ट वक्ता, कलाकारितामा हुनु पर्ने महत्वपुर्ण गुणहरू अमिता दोङसँग छ ।

यही वर्षमा रिलिज भएको परदेशीलाई झझल्को दशैँ तिहार भन्ने म्युजिक भिडियोमा गरेको अभिनयलाई मात्र मुल्याङ्कन गर्ने हो भने पनि उनको यो यात्रा सफल छ ।

तामाङ सांगीतिक क्षेत्रमा मोडलिङ गर्ने हुडहुटी प्राय सबैमा देखिन्छ । सफलताको यात्रा कहाँ सम्म भन्ने प्रश्न मात्र हो तर कलाकार अमिता दोङको मोडलिङ क्षेत्रको विगत र वर्तमानलाई हेर्ने हो भने उनको यो रहर मात्र नभई किर्ति नै हो भन्ने बुझिन्छ । किनभने उनले मोडलिङ गरेको “छेउमा बस्न देऊ” पहिलो म्युजिक भिडियोमा कुनै चर्चा कमाएको कलाकारले भन्दा कम अभिनय गरेको देखिदैन । हुन त यो क्षेत्र भनेको ज्याली पिटेर चर्चा कमाउने क्षेत्र हो । मुल्याङ्कन पछि मात्र गरिन्छ । सायद अमिता दोङमा पनि यही सिद्धान्तले छोएको हो कि भन्ने लाग्छ ।


यही कार्तिक २१ गते संघर्षको यात्रामा दौडिरहेकी अमिता दोङद्वारा अभिनय गरेको दुईवटा “कान्छिला जवानी, तिम्रो साथ बिना” म्युजिक भिडियो सार्वजनिक हुँदैछन् । उनको अभिनयको भविष्यकोबारेमा यो म्युजिक भिडियोले पनि निर्धारण गर्ने छन् ।

बाँकी भिडियो संवाद चाडै आउँदै छन् हेर्न नभुल्नु होला ।

भर्खरै

सम्बन्धित खबर

Language »