सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालमा काेराेना भाइरसलाई किन नियन्त्रण गर्न सकिरहेकाे छैन ?

काठमाडौँ । के हामीले कोरोना भाइरस प्रति खेलवाड नै गरेको हो त ? के नेपाल सरकारको स्वास्थ्य नीति असफल भएको हो ? सार्क राष्ट्र भित्रको डाटा हेर्दा नेपालमा कोरोना भाइरसको संक्रमितको संख्या उच्च देखिएको छ ।

सार्कमा भारतलगायत अन्य मुलुकले कोरोना संक्रमण र निको हुने दरमा उल्लेख्य प्रगति गरिरहँदा नेपालको अवस्था चिन्ताजनक देखिएको छ। सार्क मुलुकमध्ये नेपालमा सबैभन्दा थोरै संक्रमित निको भएका छन्।

पाकिस्तानमा सबैभन्दा बढी ९३.८ प्रतिशत निको भएका छन्। त्यसपछि क्रमशः भारतमा ९२ र भुटानमा ९१.६, अफगानिस्तानमा ८२.५ र बंगलादेशमा ७९.८ प्रतिशत छ। नेपालमा निको हुने दर ७९.३ प्रतिशत छ। भारतमा सक्रिय संक्रमितको संख्या घटेर ५ लाख ३६ हजारमा झरेको छ। ७६ लाख ५६ हजारभन्दा बढी व्यक्ति निको भई घर फर्किसकेका छन्।

‘कोरोना संक्रमणलाई सामान्य रूपमा लिइयो। सरकार र नागरिक दुवै तहबाट हेलचेक्र्याइँ भयो’, जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनीले भने, ‘अहिले अरिंगालको गोलामा ढुंगा हानेजस्तो अवस्था हो। अरिंगाल त रिसाएर टोक्दै हिँडेजस्तो संक्रमितहरूले पनि अरूलाई संक्रमण फैलाउन पुगेका छन्।’ डा. मरासिनीले काठमाडौं उपत्यकालगायत सहरी क्षेत्र ‘अरिंगालको गोला’का रूपमा रहेको बताए। लक्षणविहीन संक्रमित पनि गाउँगाउँ पुगेको उनको भनाइ छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले संक्रमितको संख्या वृद्धि हुँदा उपचार व्यवस्थापनमा चुनौती थपिएको बताए। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मुलुक सक्रिय संक्रमितको संख्या ३६ हजार ९ सय ११ छ। पछिल्लो तीन दिनमा मात्रै ९ हजार ३ सय ५६ जना संक्रमित थपिएका छन्। बुधबार ३ हजार ३ सय ९ जनामा कोरोना पुष्टि भएको छ। कोरोनाबाट पछिल्लो २४ घण्टामा ३० जनाको ज्यान गएको छ।

नेपालमा संक्रमितमध्ये ६७.१ प्रतिशत पुरुष छन्। महिला संक्रमितको संख्या ३२.९ प्रतिशत छ। महाशाखाका अनुसार सक्रिय संक्रमित २०.२ प्रतिशत छ। पीसीआर परीक्षणमध्ये संक्रमणदर १२.३ प्रतिशत छ। प्रवक्ता डा. गौतमका अनुसार पोजिटिभमध्ये मृत्युदर ०.६ प्रतिशत छ। जम्मा मृत्यु प्रति दश लाख (पोजिटिभमा) ३५.४ प्रतिशत छ।

कोरोना संक्रमितले होम (घर) आइसोलेसन र समयमै उपचार नपाएर पनि ज्यान गुमाएको पाइएको छ। ३० हजार १ सय ३१ जना घरमै आइसोलेसनमा बसेका छन्। आईसीयूमा ३ सय ७९ र भेन्टिलेटरमा ७८ जना उपचाररत छन्।

प्रवक्ता डा. गौतमले घरमै आइसोलेसनमा बसेकाहरूले स्वास्थ्यकर्मीसँग परामर्श नलिएको बताए। ‘कोरोना संक्रमण निको भएकासँग सरसल्लाह गरी विभिन्न औषधि सेवन गरेको पाइएको छ’, उनले भने, ‘आइसोलेसनमा बसेका बेला तीन पटक ज्वरो र अक्सिजनको लेभल स्याचुरेसन नाप्नुपर्छ। यदि गाह्रो महसुस भए चिनेको चिकित्सक वा हटलाइनमा फोन गरी सहयोग लिनुपर्छ।’

मन्त्रालयको इन्सिडेन्ट कमान्ड सिस्टमले पनि सबै कोभिड प्रयोगशाला सञ्चालन गरेका अस्पताल एवं मेडिकल कलेजले होम आइसोलेसनमा टेली कम्युनिकेसन, कन्सल्टेसन र काउन्सिलिङ गर्नुपर्ने निर्णय गरेको छ। अस्पताल नभएका प्रयोगशालाले कुनै सरकारी वा निजी तवरबाट सञ्चालित अस्पतालसँग समन्वय गरी टेली कम्युनिकेसन, कन्सल्टेसन र काउन्सिलिङ गर्नुपर्ने व्यवस्था गरिएको छ। संक्रमितको संख्या बढेसँगै नेपाल प्रहरी अस्पताललाई ३ सय बेडको अस्थायी कोभिड अस्पताल सञ्चालन स्वीकृति प्रदान गरिएको डा. गौतमले बताए।

७ प्रदेशमा सक्रिय कोरोना संक्रमित
प्रदेश १ ५४२१
प्रदेश २ १०४९
बागमती प्रदेश २३५८८
गण्डकी प्रदेश २६०५
लुम्बिनी प्रदेश ३१८७
कर्णाली प्रदेश ३१४
सुदूरपश्चिम प्रदेश ७४७
कुल ३६,९११

स्रोत : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

भर्खरै

सम्बन्धित खबर

Language »