जनकपुरधाम । बर्दिवास नगरपालिका-१४, महोत्तरीका शहीद आलमकी ६ वर्षकी छोरी गुलाब आइतबार साँझदेखि हराइरहेकी थिइन् । चकलेट किन्न भनेर घरबाट गएकी उनको शव सोमबार राति १ बजेतिर हत्या गरेर बोरामा हालिएको अवस्थामा घर नजिकैको खेतमा भेटियो ।
बलिकाको बलात्कारपछि हत्या भएको हुन सक्ने स्थानीयको आंशका छ । तर पोष्टमार्टम रिपोर्ट नआएसम्म यसबारे केही भन्न नसकिने महोत्तरी प्रहरीले बताएको छ ।
उनको हत्या गरेको अभियोगमा अरुणकुमार साह पक्राउ परेका छन् । बर्दिबासमा किराना पसल सञ्चालन गर्दै आएका २५ वर्षका साहले सोमबार मदिराले मातेका बेला परिवारका सदस्यसँग बालिकाको हत्या आफूले गरेको बताएका थिए । त्यही सूचनाका आधारमा पक्राउ गरी सोधपुछ गर्दा अभियोग स्वीकार गरेको प्रहरीले बताएको छ ।
वालिकाको हत्या भएको जानकारी पाएलगतै स्थानीय आन्दोलित भए । आन्दोलनकारीहरु यति आक्रोशित भए कि साहको घरमा उनीहरुले आगो लगाइदिए । प्रहरीले दमकल बोलायो । तर, स्थानीयले त्यसलाई पनि अवरोध गरे । आगलागीबाट साहको घरमा क्षति भएको छ ।
स्थानीयको आक्रोश यतिमै सीमित रहेन् । पक्राउ परेका साहलाई आजीवन काराबासको सजायँ दिनुपर्ने भन्दै बजार बन्द गराए । पूर्व-पश्चिम राजमार्गमा टायर बालेर सडक जाम गरे ।
प्रहरीले निरन्तर प्रयास गर्दा पनि उनीहरुले सडक खोलेनन् । सडक सुचारु गर्ने क्रममा प्रहरीले अश्रु ग्यास र हवाई फायर गर्यो । प्रहरीको गोली लागेर तीनजना घाइते भएका छन् । घाइतेमध्ये श्याम कार्की र सञ्जय न्यौपानेलाई काठमाडौं लगिएको छ भने अफताब आलमको बर्दिवासमै उपचार भइरहेको छ ।
सामान्य त अपराधी पत्ता नलाग्दा आन्दोलन हुने गर्छ । तर, यो घटनामा अभियुक्त पक्राउ परेका छन् र उनले आफ्नो अपराध पनि कबोल गरेको प्रहरीले बताएको छ ।
त्यसो भए यो प्रदर्शन किन त ? स्थानीयको दाबी छ, साह यसअघि पनि हत्याका घटनामा संलग्न थिए । तर, उनी धरौटी तिरेर उम्कन सफल भएका थिए ।’
साहमाथि २८ वैशाखमा आफ्नै साथी दिलीप ठाकुरमाथि ढुुंगा प्रहार गरी हत्या गरेको अभियोग लागेको थियो । प्रहरीले उनलाई त्यसबेला पनि पक्राउ गरेको थियो र कर्तव्य ज्यान मुद्दा चलाएको थियो । तर, थुनछेक बहस हुँदा महोत्तरी जिल्ला अदालतले एक लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।
साह तीन साताअघि धरौटी बुझाएर छुटेका थिए । अहिले उनैले ६ वषिर्या बालिकाको हत्या गरेको प्रहरीको भनाइ छ ।
अनाकहमा अरुको हत्या गर्ने र र धरौटी बुझाएर छुटिरहने हो भने साहले धेरैको ज्यान लिन सक्छ भन्ने त्रास स्थानीयमा देखिएको बर्दिवासका मेयर बिदुर कार्की बताउँछन् ।
अपराधीले अपराध गर्ने, धरौटीमा छुट्ने र फेरि अर्को अपराध गर्ने, तर पीडितले न्याय नपाउने अवस्थामा स्थानीयमा आक्रोशित हुनु स्वभाविक भएको उनी बताउँछन् । ‘घटनाबारे कसैले पनि यो वा त्यो कोणबाट फरक कुरा गर्नुभएन’ मेयर कार्की भन्छन्, ‘अपराधीलाई सजाय दिलाउने विकल्पबारे सोच्नुपर्थ्यो । तर, आक्रोसित भएर कसैले पनि तोडफोड आगजनी गरेर राम्रो हुँदैन ।’
यसो भन्दै गर्दा कार्की यो स्वीकार गर्छन् कि न्याय सहज छैन । अपराधीले उन्मुक्ति पाइरहेका छन् ।
छिमेकी जिल्ला धनुषामा १८ वर्षीया युवतीको सामूहिक बलात्कार गरेर हत्या प्रयास भएको घटना सोमबार मात्र सार्वजनिक भएको छ ।
न्याय दिन राज्य चुक्दै जाँदाको परिणामबलात्कार, हत्याका अरु थुप्रै घटना छन्, जसमा पीडितले अझैसम्म न्याय पाएका छैनन् । सप्तरीको खड्क नगरपालिकामा बलात्कृत किशोरीले न्याय माग्दा पञ्चायती बसेर मिलापत्र गराएपछि आत्महत्याकै बाटो रोजेको धेरै भएको छैन ।
पीडितले न्याय नपाउने र अपराधीले सहजै उन्मुक्ति पाउँदा राज्यका वैधानिक निकायहरुमाथि नागरिकको विश्वास टुट्दै गएको छ । त्यसको एउटा प्रमाण हो- बर्दिबासमा अभियुक्त पक्राउ गरिसक्दा पनि स्थानीयको आक्रोश शान्त नहुनु ।
मानवशास्त्री सुरेश ढकाल राज्यले न्याय दिन्छ भन्ने विश्वास नभएकाले यस्तो आक्रोश देखिएको बताउँछन् । ‘प्रत्येक नागरिकको जीउधनको सुरक्षाको प्रमुख दायित्व राज्यको भए पनि राज्य त्यसमा चुकेकै कारण नागरिकमा आक्रोश बढेको छ’ ढकालले भने ।
आक्रोश भनेको एकखालको खास विशिष्ट अवस्थामा देखिने स्वभाव भएको बताउँदै ढकाल भन्छन्, ‘अहिले जुन किसिमको आक्रोश बढिरहेको छ त्यसका दुईवटा कारण छन्, एउटा- घटनाको प्रकृति । जुनखालको निर्मम, अकल्पनीय, अमानवीय घटना हुन्छ, त्यसले त्यति नै धेरै आक्रोश उत्पन्न गराउँछ । र, दोस्रो- न्याय पाइन्छ भन्ने विश्वास नभएपछि यस्तो आक्रोश बाहिर आउँछ ।’
समाजशास्त्री अजय यादव पनि समाजमा घट्ने हत्या, हिंसाका घटनालाई तत्कालै व्यवस्थापन गर्न नसक्दा यस्तो आक्रोश देखिनु स्वभाविकै भएको बताउँछन् ।
न्याय पाउने बाटो बन्द भएको देखेपछि तोडफोड र आगजनी हुने गरेको बताउँदै यादवले भने, ‘बर्दिवासमा बालिकाको हत्या गर्ने व्यक्ति यसअघि हत्याको अभियोगमा पक्राउ गरेर सहजै छुटेकाले जनताले न्याय पाउने आश नगर्नु स्वाभाविकै हो ।’
उनको विचारमा कुनै पनि घटना हुँदा न्याय दिलाउन पहिला त समाजले चासो राख्नुपर्छ । समाजले चासो नदिँदा प्रशासनले न्याय दिलाउन भूमिका खेल्नुपर्छ । प्र्रशासनले पनि सहयोग गरेन भने पीडित अदालत जान्छन् । तर, अदालतमाथि पनि विश्वास गर्न सक्ने अवस्था भएन भने यस्तो अवस्था आउँछ ।