ठाकुरद्धारा बर्दिया, बाल अधिकार संरक्षण र बालविवाह रोकथामका लागि तिव्र गतिमा काम गर्ने प्रतिवद्धता बर्दियाका आठवटै पालिकाले जनाएका छन् ।
बाँके युनेस्को क्लबले जिल्ला समन्वय समिति बर्दियासंगको समन्वयमा ठाकुद्धारामा आयोजना गरेको ‘स्थानीय तहमा बाल अधिकार संरक्षण तथा सेवा प्रवाह सम्बन्धि ३ दिने आवासीय तालिम’ को समापनको अवसरमा पालिकाहरुले सो प्रतिवद्धता जनाएका हुन् ।
तालिममा सहभागि पालिकाका उपप्रमुख र विभिन्न शाखाका प्रमुखहरुसहित जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखले समेत बाल संरक्षणका लागि तिव्र गतिमा काम गर्ने प्रतिवद्धता जनाए ।
समापन कार्यक्रमको अध्यक्षता गर्दै जिल्ला समन्वय समिति बर्दियाका प्रमुख शंकर प्रसाद थारुले बालबालिका भविष्यका कर्णधार भएकोले उनिहरुलाई बिशेष ध्यान दिएर पालन पोषण लगायत सबै अधिकार दिनुपर्नेमा जोड दिनुभयो । उहाँले बाल अधिकार संरक्षणका लागि स्थानीय सरकाले बढी भन्दा बढी काम गर्न सक्ने हुँदा ध्यान दिनुपर्ने बताउनुभयो ।
सो अवसरमा बोल्दै जिल्ला समन्वय समिति बर्दियाका उपप्रमुख मान बहादुर विष्ट, ठाकुरबाबा नगरपालिकाका उपप्रमुख कृष्णा कुश्मा थारु, राष्ट्रिय बाल अधिकार परिषदका आत्माराम थापा, बाँके युनेस्को क्लबका सल्लाहकार सिराज खान र कार्यकारी निर्देशक रवि तुलाधर तथा परियोजना संयोजक बसन्त विसी लगायतले बाल अधिकार संरक्षण र बालविवाह रोकथाममा झनै सक्रिय भएर लाग्ने प्रतिवद्धता जनाउनुभयो ।
तीन दिनसम्म चलेको सो कार्यक्रम क्लबद्धारा प्लान नेपालको सहयोगमा सञ्चालन गरिएको बालविवाह, कम उमेरमा गर्ने विवाह र जबरजस्ती गर्ने विवाह रोकथाम परियोजना अन्तर्गत जिल्ला समन्वय समिति बर्दियाको आयोजनामा तथा राष्ट्रिय बाल अधिकार परिषदको सहजीकरणमा सो तालिम सञ्चालन गरिएको थियो ।
सो तालिममा जिल्लाका ८ वटै पालिका, जिल्ला समन्वय समीति, प्रहरी, जिल्ला बाल अधिकार समिति, ८ वटै पालिकाबाट उपप्रमुख, शिक्षा अधिकृत, महिला तथा बालबालिका शाखा अधिकृत, न्यायिक समिति र स्वास्थ्य शाखा बाट सहभागिता रहेको थियो । प्लान नेपालको सहयोगमा बाँके युनेस्को क्लबले जिल्ला समन्वय समिति बर्दिया र बर्दिया जिल्लाका आठ वटै स्थानीय तहसंगको समन्वयमा बाल अधिकार, बाल संरक्षण र बाल विवाह रोकथामका लागि विभिन्न गतिविधिहरु गर्दै आएको छ ।