नेपालगन्ज,नेपालगन्ज त्रिभुवनचोकमा द केक एण्ड बेकरीका संचालक अतुल कुमार गुप्तालाई मिठाई विक्री गर्न भ्याइनभ्याइ छ ।
गएको वर्ष कोरोना महामारीका कारण खासै व्यापार भएन । तर अहिले उहाँ आफ्नो व्यापारदेखि सन्तुष्ट हुनुभएको छ । ग्राहकको माग धान्न नसकेर यसअघि भारतबाट समेत मिठाई भित्र्याउने व्यापारीहरुले अहिले भने आफैले उत्पादन गर्न थालेका छन् ।
गुप्ताले दुधको खुवाबाट बनेका मिठाइका परिकारहरु उत्पादन गर्दै आउनुभएको छ । फेरिदो जीवनशैली, व्यवस्ताका कारण तिहारमा रोटीको प्रयोग घट्दै गएको छ भने मिठाईको प्रयोग बढ्दो छ ।
ग्राहकले ताजा र गुणस्तरीय मिठाई मन पराउने भएकाले भारतीय मिठाइएको आयात प्रतिस्थापन भएको व्यवसायी बताउँछन् ।
नेपालगन्जकै व्यापारीहरुले अत्याधुनिक मेसिनको प्रयोगमार्फत विभिन्न भेराइटीका मिठाइ बनाउन थालेपछि ग्राहकहरुको आर्कषण पनि बढेको छ । जनचेतनाको अभाव र सस्तोमा पाइने लोभमा केही मानिसहरु भारतीय बजारसम्म मिठाइ लिन पुग्छन् ।
तर गुप्ता स्वदेशको गुणस्तरीय र ताजा मिठाई प्रयोग गर्न सबैलाई सुझाव दिनुहुन्छ । तिहारको समयमा नेपालगन्जमा करिव दुई सय क्वीन्टलसम्म मिठाई खपत हुने गरेको छ । विगतका बर्षमा २० देखि २५ क्वीन्टल मिठाई भारतबाट आउने गरेको थियो । तर अहिले योक्रम ह्वात्तै घटेको छ ।