काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले नेपाललाई उच्च जोखिममा राखेको तथा नेपालमा बाक्लो आवातजावत रहेका चीनबाहेकका अन्य देशहरुमा समेत भाइरस देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार मन्त्रीहरुको बैठक बोलाएका थिए ।
बालुवाटारमा बसेको बैठकले कोरोना रोकथामको पूर्व तयारी गर्न उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा उच्चस्तरीय समन्वय समिति बनाएको छ । गृह, पर्यटन, स्वास्थ्य, अर्थ, शिक्षा लगायतका मन्त्री समेत रहेको यो समितिले नेपालसँग हवाईसहित यातायात सञ्जालले जोडिएका देशहरुको गतिविधिलाई नजिकबाट हेर्नेछ र रोकथामका लागि आवश्यक निर्णय गर्नेछ ।
स्रोतकाअनुसार बैठकमा कोरोना भाइरसको संक्रामण फैलिएका देशबाट उडान आजतजावत तथा रोक्ने विषयमा समेत छलफल भएको थियो । अब यो समितिले नै यसबारे अध्ययन गरेर आवश्यक निर्णय गर्नेछ ।
प्रधानमन्त्री ओलीले कोरोना रोकथामका लागि आवश्यक निर्णयहरु यही समितिमार्फत गर्न निर्देशन दिएको पर्यटनमन्त्री योगेश भट्टराईले जानकारी दिए ।
प्रधानमन्त्रीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हरेक यात्रुको चेकजाँच गर्न, चेकजाचको उपकरण र औषधिहरु पर्याप्त भण्डारण गर्न र चिकित्सकहरुलाई परिचालन गर्न निर्देशन दिएका छन् ।
चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसबाट संक्रमित एक जना नेपालमा पनि भेटिएका थिए । तर उनी उपचारपछि स्वस्थ्य भइसकेका छन् । कोरोना संक्रमणको आशंकामा दुई सय बढीको नमूना लिइएको थियो तर सबैको रिपोर्ट नेगेटिभ अर्थात संक्रमण नभएको आएको छ ।
तर, पछिल्लो समय इरान, इटली र दक्षिण कोरियामा कोरोना संक्रमण फैलिएको छ भने मध्ययूर्व र युरोपका देशहरुमा पनि देखिएको छ ।