विराटनगर । उपचार गराएको पैसा तिर्न नसक्दा विराटनगरको विराट नर्सिङ होममा बन्धक बनाइएका युवाको साढे ८ महिनापछि सोमबार उद्धार गरिएको छ ।
संखुवासभाको खाँदबारी नगरपालिका १० चन्दनपुरका २० वर्षीय जीवन भुजेललाई प्रदेश १ की सांसद पदमकुमारी गुरुङको पहलमा र धरान- संखुवासभा सरोकार समाजको अगुवाईमा उद्धार गर्दै अस्पतालबाट बाहिर निकालिएको हो ।
उपचारवापत लागेको खर्च बुझाउँदै जीवनलाई उद्धार गर्नका लागि सरोकार समाजका प्रतिनिधि विराट नर्सिङ होम आएका थिए ।
उनको उपचारमा लागेको सात लाख ९७ हजार मध्ये पाँच लाख रुपैयाँ सहयोग संकलन गरेर अस्पताललाई बुझाइएको समाजका अध्यक्ष मिक्मा भोटेले बताए ।
दुई लाख ९७ हजार अस्पतालले छुट दिएको छ । औषधि र चमेना गृहमा खर्च भएको एक लाख ७२ हजार रुपैयाँ पनि भुक्तानी गरिएको अध्यक्ष भोटेको भनाइ छ ।
उपचार वापतको खर्च तिरिएपछि अस्पतालले पनि युवालाई सोमबार डिस्चार्ज दिएको छ । जीवनलाई उद्धार गर्न चन्दनपुर घर भई अस्ट्रेलियामा रहेकी सविना थापाले एक लाख रुपैयाँ सहयोग गरेकी थिइन् । धर्म राईको नेतृत्वमा हङ्कङबाट दुई लाख ९३ हजार तीन सय ६० रुपैयाँ सहयोग प्राप्त भएको अध्यक्ष भोटेले बताए ।
संखुवासभाका संघीय सांसद राजेन्द्र गौतम र खाँदबारी नगरपालिकाका मेयर मुरारीप्रसाद खतिवडाको पहलमा गृह मन्त्रालयले पाँच लाख रुपैयाँ उपलब्ध गराएको थियो ।
सरोकार समाजबाट पनि २४ हजार एक सय ८० रुपैयाँ सहयोग गरिएको भोटेको भनाइ छ । उनकाअनुसार संखुवासभाको खाँदबारी नगरपालिकाले पनि एक लाख रुपैयाँ दिने निर्णय गरिसकेको छ । जीवनलाई सहयोग गर्नका लागि विभिन्न संघ संस्था र व्यक्ति सक्रिय भएर लागेका थिए ।
आर्थिक अवस्था कमजोर भएका विपन्न परिवारका युवाले उपचार खर्च तिर्न नसक्दा लामो समयदेखि अस्पतालमै बन्धक बनेर बस्नु परेको बताउँदै भोटेले उद्धार गरेर थप उपचारका लागि काठमाडौंको टिचिङ अस्पताल लग्ने तयारी गरिएको जानकारी दिए ।
उनकाअनुसार काठमाडौंमा सरोकार समाजको पहलमा सामाजिक अभियन्ता संखुवासभा निवासी रविन ढकालले उपचारका लागि सहयोग गर्ने बताएका छन्।
जीवनमाथि भोजपुरको षडानन्द नगरपालिका १ मझुवावेंसीमा गत असार ५ गते आक्रमण भएको थियो । मझुवावेंसीमा खेलमैदान बनाउने जिम्मा लिएका बुवा गणेशसँगै गएका उनलाई सामान्य विवादमा त्यहाँ निर्माणाधिन इर्खुवा हाइड्रोपावरका कामदारले रडले आक्रमण गरेर गम्भीर घाइते बनाएका थिए।
प्रहरीका अनुसार घटनामा जीवनको गल्ती देखिएन । आक्रमण गर्नेहरु प्रहरीले चलाएको अभद्र व्यवहार मुद्दामा जिल्ला प्रशासन भोजपुरले मागेको जनही पाँच हजार रुपैयाँ धरौटी बुझाएर असार ३० गते छुटिसकेका छन् ।
उनीमाथि हाइड्रोपावरका कामदार मोरङको धानपालथान गाउँपालिका ७ का २३ वर्षीय सुशीलकुमार गिरी, १९ वर्षीय प्रल्हाद गिरी, विराटनगर महानगरपालिका १९ का ३० वर्षीय माधव भनिने सन्तकुमार गिरी र रुद्र गिरीले आक्रमण गरेको प्रहरीले बताएको छ ।
आक्रमणपछि उनलाई बुवा गणेशले उपचारका लागि धरान हुँदै असार ६ गते विराटनगर ल्याएका थिए । उपचार वापत लागेको पैसा खोज्नका लागि भन्दै त्यसको तीन महिनापछि छोरालाई अस्पतालमै छाडेर घर गएका गणेश भने अहिलेसम्म अस्पताल फर्किएनन् । अरु आफन्त पनि सम्पर्कमा आएनन् ।
‘पारिवारिक आर्थिक अवस्था नाजुक छ,’ छिमेकी विमला भण्डारी चापागाईंले भनिन्, ‘गाउँमा ऋण नपाएका कारण छोराको उपचार खर्च तिर्न सक्ने अवस्था नभएपछि बुवा अस्पताल फर्कन नसकेको पाइयो ।’
अस्पतालमा उनलाई साढे ८ महिनासम्म अस्पतालको पाँचौ तलाको सर्जिकल वार्डमा सुरक्षा गार्डको निगरानीमा राखियो । अस्पतालकै कर्मचारीले कर्मचारीले क्यान्टिनबाट खानेकुरा लगिदिने र हेरचाह गर्ने गर्थे । विपन्न भएका कारण उपचार खर्च तिर्न सक्ने अवस्थामा परिवार नहुँदा जीवन लामो समय अस्पताल भित्र बन्धक बनेर बस्न बाध्य भएको चापागाईंको भनाइ छ । विदेश जाने तयारीमा रहेका उनको त्यो सपना पनि तुहियो ।
उनी परिवारका माइला छोरा हुन् । आमा बितेपछि परिवारमा बुवा, एक दाजु, दिदी र दुई भाइ थिए । आमा सीतुको मृत्यु भएको भदौ १४ मा आमाको वर्ष दिनको काम भयो । उपचार खर्च तिर्न नसकेर भाइ अस्पतालमै बन्धक भएको भन्दै ऋण खोज्नका लागि चारैतिर भौतारिरहेका दाजु नवीनले पनि त्यही तनावका कारण गत कात्तिक अन्तिम साता आत्महत्या गरेको स्थानीयको भनाइ छ । तर दाजुको अन्तिम संस्कार र आमाको वर्ष दिनको काममा पनि जीवन घर पुग्न पाएनन् । घाँटीमा प्वाल पारेर पाइप राखिएकाले उनको बोली आउँदैन ।
अस्पतालका नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा। राजीवकुमार साहले घाँटीमा रड प्रहार भएका कारण जीवनको घाँटीमा पाइप राख्नु परेको बताए । ‘श्वास फेर्न गाह्रो भएपछि घाँटीमा प्वाल पारेर पाइप राखिएकाले शल्यक्रियामार्फत यसलाई निकाल्नु पर्छ,’ डा। साहले भने, ‘प्रदेश १ मै सम्भव नहुने र काठमाडौंमा गरिने यो शल्यक्रिया जटिल खालको हुन्छ ।’
उनले घाँटीको शल्यक्रिया गरेर पाइप निकालेपछि बोली आफै खुल्ने बताएका छन्। । अस्पतालका प्रशासन प्रमुख पदन विनारीले आफन्त र परिवारका कोही पनि सम्पर्कमा नआउँदा यति लामो समयसम्म जीवनलाई जिम्मा लगाउन नसकिएको बताए ।