काठमाडौँ । मोरङ र ललितपुरमा ९ दिनको अवधिमा ३ जनाको हत्या गरी अलगअलग खाल्डो बनाएर शव पुरिएको घटनामा संलग्न थप दुई जना पक्राउ परेका छन्।
मुख्य योजनाकारसहित हत्यामा संलग्न ३ जनालाई यसअघि नै पक्राउ गरेर प्रहरीले सार्वजनिक गरिसकेको छ। पछिल्लो समय पक्राउ परेका २ जनासहित हत्यामा संलग्न ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान अघि बढाएको हो।
पछिल्लो पटक पक्राउ पर्नेमा मोरङको रंगेली नगरपालिका–३ आमतोलाका ३३ वर्षीय मोहमद सुभाम र सुनसरीको देवानगन्ज गाउँपालिका–६ जिरोगौवाका १८ वर्षीय मोहमद हकिम रहेका छन्।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार सुभाम र हकिमलाई शुक्रबार पक्राउ गरिएको हो। हत्यापछि शव व्यवस्थापन गर्नका लागि खाल्डो खन्ने काममा उनीहरुले सहयोग गरेको पाइएको श्रेष्ठको भनाइ छ। शव गाडिएका दुवै खाल्डा बिजुलीको पोल गाड्नलाई बनाएजस्ता एकै प्रकृतिका थिए।
हत्याका मुख्य योजनाकार सिरहाको सिरहा नगरपालिका–२१ घर भइ काठमाडौं बल्खुमा बस्दै आएका ३१ वर्षीय अनिलकुमार मण्डलसहित हत्यामा संलग्न मोरङको जहदा गाउँपालिका–४ सिसवनीका २९ वर्षीय अमित साह भनिने दिनानाथ सोनार र धनपालथान गाउँपालिका–७ का ६२ वर्षीय नासिर आलमलाई पक्राउ गरेर प्रहरीले शुक्रबार सार्वजनिक गरेको थियो। त्यसपछि थप २ जना पक्राउ परेको जानकारी डीएसपी श्रेष्ठले दिए।
मोरङको धनपालथान–७ उखुबारीमा सुनसरीको धरान उपमहानगरपालिका–३ घर भइ भक्तपुरमा बस्दै आएका ४८ वर्षीय राजेन्द्रकुमार श्रेष्ठ र सप्तरीको शम्भुनाथ नागरपालिका–४ घर भइ काठमाडौंमा बस्दै आएका ३२ वर्षीय शम्भुकुमार चौधरीको शव अलगअलग खाल्डोमा फेला परेको थियो। श्रेष्ठको हत्या हत्या पुस ५ गते र चौधरीको हत्या पुस ७ गते भएको प्रहरीले जनाएको छ। नुन हालेर गाडिएको अवस्थामा खाल्डोभित्र चौधरीको शव माघ १२ र श्रेष्ठको माघ १३ गते भेटिएको हो।
यो घटनाको अनुसन्धान थालेको प्रहरीले हत्या गरेर ललितपुरको गोदावरी नगरपालिका–१२ थेचोमा गाडेको अवस्थामा तेह्रथुमको संक्रान्ति–२ घर भई काठमाडौं महानगरपालिका–८ गोठाटारमा बस्दै आएका ६३ वर्षीय मोहन लिम्बूको शव बिहीबार फेला परेको थियो। मंसिर २८ गते नै हत्या गरेर गाडिएका लिम्बूको शव उत्खनन गर्न मोरङबाट डीएपसी मञ्जील मुकारुङ काठमाडौं पुगेका थिए। अपराध महाशाखाको सहयोगमा लिम्बूको शव प्रहरीले उत्खनन गरेको हो।
श्रेष्ठ, चौधरी र लिम्बूको हत्या व्यावसायिक साझेदार मण्डलको योजनामा भएको पत्ता लागेको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जीसीले बताए। ललितपुरको क्यान्सर अस्पतालनजिक रहेको २५ रोपनी ७ आना जग्गा बैंक ग्यारेन्टी मिलाएवापत आउने १ करोड ५० लाख रुपैयाँ कमिसन एकलौटी बनाउन भाडाका अपराधी प्रयोग गरेर मण्डलले अलगअलग मिति र समयमा ३ जना व्यावसायिक साझेदारको हत्या गराएको प्रहरीको अनुसन्धानबाट खुलेको छ।
ललितपुरमा लिम्बूको हत्या गरेपछि मण्डलले श्रेष्ठ र चौधरीलाई मंसिर २९ गते विराटनगर लिएर आएको खुलेको छ। सोही दिनदेखि दुवै जनालाई विराटनगरको मेट्रोसिटी होटल एन्ड लजमा राखेर मण्डल पनि त्यहीँ बसेका थिए। होटलबाट टेम्पोमा राखेर धनपालनथान पुर्याउँदै उनीहरुको हत्या गरेको खुलेको एसपी जीसीले बताए।
जग्गाको बैंक ग्यारेन्टी मिलाएर त्यसवापतको कमिसन लिनका लागि मण्डलसहित हत्या गरिएका ३ जना गरेर ४ जनाको साझेदार टिम बनेको थियो। कमिसन लिने विषयमा आफूलाई वाईपास गर्न खोजिएको भन्दै असन्तुष्ट बनेका मण्डलले योजनावद्ध रूपमा भाडाका अपराधी प्रयोग गर्दै एउटै शैलीमा ३ जना साझेदारको हत्या गरेपछि शव खाल्डोमा गाड्न लगाएको प्रहरीको अनुसन्धानबाट खुलेको छ।
स्राेतः अन्नपुर्ण,