कबिता
डम्बर थामी “ अनुपम ”
मेरो स्वतन्त्र बस्तीमाथिको
स्वच्छन्द आकाशमा
हजारौं माइल दूर-सुदूरबाट
एउटा चील उड्दै आएर
मेरो बस्तीका परेवाहरुलाई
केही चारो देखाएर लोभ्याईरहेछ
जब परेवाहरु चारो टिप्न खोज्छन्
तब उसले परेवाहरुलाई
आकाशमै झम्टा मारेर
शिकार गर्न खोज्ने
दाउ हेरिरहेछ
नियालेर हेर्दा
त्यो मांसाहारी चीलको ठुँडमा
इराक,अफगानिस्तान, लिबीया
र सिरियाका
जनताको आलो रगतद्वारा
एम. सि. सि. लेखिएको छ
सावधान !
आफ्ना परेवाहरुलाई जोगाउन
कुम्भकर्णे निद्राबाट जागौं
चील भगाउने अभियानमा लागौं
यदि त्यो चील भगाईएन भने
निकट भविष्यमै
त्यसले चुच्चोमा एटम बम
बोकेर ल्याउँछ
अनि हाम्रो बस्तीमा झार्छ
हाम्रा बहादुर शिरहरु
सोत्तर पार्छ
हाम्रो स्वाभिमानी बस्ती पनि
हिरोसिमा र नागासाकी जस्तै
खण्डहर-खण्डहर बनाउँछ
लेण्डुपहरु केवल
निरोले झैं बाँसुरी मात्र बजाईरहन्छन्
बजाईरहन्छन्