नेपालगञ्ज, चालु आर्थिक वर्षको छ महिनामा बाँके जिल्लामा ४४ कुष्ठरोगी फेला परेका छन् । जिल्लाका आठ स्थानीय तहमा पछिल्लो छ महिनामा ४४ नयाँ रोगी फेला परेका हुन् ।
नेपालगञ्जमा उपमहानगरपािलकामा १३, कोहलपुरमा ११, जानकी गाउँपालिकामा ६, बैजनाथ र नरैनापुर गाउँपालिकामा पाँच–पाँच, खजुरामा तीन र डुडुवामा एक कुष्ठरोगी फेला परेका छन् । राप्तीसोनारी गाउँपालिकामा भने कुष्ठरोगी फेला नपरेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
गत आर्थिक वर्षमा बाँकेमा १ सय २८ कुष्ठरोगी फेला परेका थिए । सरकारले १२ वर्षअघि नै नेपालमा कुष्ठरोग निवारण घोषणा गरे पनि बाँके भने अहिले पनि कुष्ठरोगको उच्च जोखिममा देखिएको छ ।
कुष्ठरोग जोखिमका हिसाबले बाँके देशकै दोस्रो स्थानमा छ । लुम्बिनी प्रदेशको कपिलवस्तु जोखिमको हिसाबले पहिलो स्थानमा छ । प्रति १० हजारमा एक जनाभन्दा कम भए निवारण भएको मानिन्छ ।