सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नमोबुद्ध ना.पा. वडा नं. ११ मा प्रशासकीय वडा भवन उद्घाटन,

काभ्रे । नमोबुद्ध नगरपालिका वडा नं. ९ दाप्चामा सुविधासम्पन्न वडा प्रशासनीक भवनको उद्घाटन गरेको छ । नगरबासीलाई सेवा प्रवाहमा सजहता ल्याउने उद्देश्यले नमोबुद्ध नगरपालिकाले सबै वडामा सुविधासम्पन्न भवन निर्माण गर्ने स्थानीय तहको निर्वाचन पछि कार्यपालिकाको पहिलो बैठकबाट निर्णय गरेको थियो ।

नमोबुद्ध नगरपालिकाका मेयर टिपि शर्माको प्रमुख आतित्थ्यतामा वडा नं. ९ को प्रशासनीक वडा भवनको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । यसैगरी वडा नं. ७ मा पनि वडा भवन उद्घाटन भएको समाचार प्राप्त भएको छ ।

नमोबुद्ध नगरपालिकाले यही आर्थिक बर्षभित्र सबै वडाको भवन तथा स्वास्थ्य संस्थाका भवनहरुको निर्माण सक्ने लक्ष्य लिएको थियो । यसअघि वडा नं. २, ८, १० र ११ को वडा कार्यालय भवन उद्घाटन भईसकेका छन् भने वडा नं. ३ र ६ को नयाँ भवनबाट सेवा प्रवाह सुरु भइसकेको छ । यस्तै वडा नं. १ को भवन निर्माणका लागि टेण्डर भइसकेको छ भने वडा नं. ४ र ५ को वडा कार्यालय भवन निर्माण अन्तिम चरणमा पुगिसकेको छ ।

शुक्रबार उद्घाटन गरिएको वडा नं. ९ को भवन निर्माणको ठेक्का जानुका निर्माण सेवा पनौतीले भ्याटबाहेक ४१ लाख ४४ हजार २ सय २३ रुपैयाँमा प्राप्त गरेका थिए ।

वडा कार्यालयको उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख टी.पी. शर्मा तिमल्सिनाले आफूहरु निर्वाचित भएदेखि नै नगरबासीको सहजताका लागि वडा कार्यालयहरुलाई सुविधासम्पन्न बनाउन लागिपरेको र सोही अनुसार सबै वडाको भवन निर्माणको काम थालिएको बताए । कार्यकालको अन्तिम समयमा आइपुग्दा सबै वडाको भवन निर्माण सकेर सेवा प्रवाहलाई थप सहज बनाउनु आफूहरुका लागि गौरवको कुरा भएको तिमल्सिनाको भनाई थियो । सबै वडाबाट नगरको केन्द्रसम्म पुग्ने सडकको निर्माण, सबै वडामा स्वास्थ्य संस्थाको सुविधासम्पन्न भवन निर्माण, एक घर एक धारा अभियानले मुर्तरुप पाइरहेको तिमल्सिनाले बताए । नगरको विकासका लागि आफूहरुले चुनावअघि गरेको प्रतिवद्धताअनुसार नै काम गरिरहेको र अधिकांश प्रतिवद्धता पुरा भएको तिमल्सिनाले जानकारी दिए । समृद्ध नगरको सपना साकार बनाउन सबै पक्षसँग हातेमालो गर्दै अघि बढेको पनि उनको भनाई थियो । आफूहरुले पाँच बर्षको अवधीमा गरेको कार्यको मुल्यांकन जनताले नै गर्ने पनि उनले बताए । ग्रामीण पूर्वाधार सडक कार्यक्रमबाट ४० करोड रुपैयाँमा सडक निर्माणको काम यसैबर्ष सुरु भइसकेको उनले बताए ।

यस्तै उपप्रमुख रामदेवी तामाङले नगरपालिकामा पछिल्लो समय नगरपालिकामा समय विकास निर्माणको कामले गति लिएको बताउँदै निर्माण गरिएका संरचनाको सही सदुपयोग गर्न सरोकारवाला सबैलाई आह्वान गरिन् । यसैगरी प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले विकासको काम कहिले पनि नसकिने भन्दै विकासलाई सापेक्षित ढंगले हेर्नुपर्ने र यो निरन्तर चलिरहने बताए । अहिले विकासको पहिलो खुट्किलो तयार भएको भन्दै उनले आगामी दिनमा यसमै आधारित भएर विकास निर्माणलाई तीब्रता दिइने बताए । वडा कार्यालय भवनहरु नगरबासीको सम्पति भएको भन्दै उनले यसलाई जोगाउन र सदुपयोग गर्न आग्रह गरे ।

यस्तै वडा नंं ७ का वडा अध्यक्ष धर्मसिं लामा, वडा नंं. ९ का वडाअध्यक्ष मेलवहादुर लामाले सबैको सहयोगबाट सुविधासम्पन्न भवन निर्माण भएको भन्दै धन्यवाद ज्ञापन गरे । वडा अध्यक्ष बुद्धसिं लामाले भन्नु भयो । “यसरी माया गरेर बोलाउनु हुन्छ भने म कानपुर देखि दाप्चा डाँडामा आइरहन्छु । आज मात्रै होइन सधै आइरहन्छु ।”

कार्यक्रममा वडा नं. ५ का वडा अध्यक्ष बुद्धसिं लामा लगायतले पनि मन्तव्य राखेका थिए । वडा नंं. ७ को वडा कार्यालय उद्घाटनकै अवसरमा सिलाई कटाई तालिमका सहभागीलाई प्रमाणपत्र पनि वितरण गरिएको थियो । कार्यक्रमा वडा कार्यालय निर्माणमा सहयोग गर्नेहरुलाई सम्मान पनि गरिएको थियो । वडा नं. ९ को कार्यालय उद्घाटन कार्यक्रममा स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीलाई पनि सम्मान गरिएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »