नेपालगन्ज , सशस्त्र प्रहरीले नेपालगन्जबाट धेरै ठुलो परिमाणमा चिनी लगायत अन्य अवैध सुर्तीजन्य पदार्थ बरामद गरेको छ । सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँके नेपालगन्जबाट सशस्त्र प्रहरी नायब निरीक्षक अरुण तिमिल्सिनाको कमान्डमा गएको टोलीले आज बिहान ४ बजे नेपालगन्ज १२ कोरियनपुरबाट अवैध रुपमा भारतबाट ल्याइएको ३ हजार केजी चिनी बरामद गरेको छ ।
बिशेष सूचनाका आधारमा सशस्त्र प्रहरी नायब निरीक्षक तिमिल्सिनाको कमान्डमा गएको टोलीले भारतबाट नेपालगन्ज ल्याइएको अवैध चिनीलाई नेपाली कम्पनीको नाम लेखिएको बोरामा राखिएको अवस्थामा ३ हजार केजी चिनीसहित ६० वटा भारतीय कम्पनीको नाम लेखिएको बोरासमेत बरामद गरेको सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक जनकराज बस्नेतले जानकारी दिएका छन् ।
सशस्त्र प्रहरीले सोही स्थानबाटै चिनीसँगै १ लाख ४५ हजार रुपैयाँ बराबरको २९ बोरा सुपरपावर सुर्ती बरामद गरेको छ । बरामद गरिएको उक्त चिनी र सुपरपावर सुर्ती नेपालगन्जदेखि सुर्खेत लैजानलाई तयारी हालतमा राखिएको अवस्थामा सशस्त्र प्रहरीको टोलीले बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक बस्नेतले बताए ।
त्यस्तै सशस्त्र प्रहरीले नेपालगन्जको चौलिका चेकपोस्टबाट १ लाख ३० हजार रुपैयाँ बराबरका एक थान इरिक्सा र गाडीमा लगाइने ३ थान ठुलो ब्याटरी बरामद गरेको छ । आज बिहान दक्षिणतर्फबाट नेपालगन्ज आउँदै गरेको उक्त इरिक्सालाई लागि चेकजाँच गर्दा ब्याटरी बरामद गरिएको हो ।
बरामद गरिएको ४ लाख ५५ हजारका ३ हजार केजी चिनी लगायत सबै अवैध सामाग्री आजै नेपालगन्ज भन्सार बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक बस्नेतले जानकारी दिएका छन् ।
सशस्त्र प्रहरी बाँके प्रमुख सशस्त्र उपरीक्षक बस्नेतले तस्करी विरुद्ध लाग्न बाँकेभरका सबै युनिटलाई कडा निर्देशन दिइरहँदा सशस्त्र प्रहरीले धमाधम अवैध सामाग्री बरामद गर्दै आएको छ । सशस्त्र प्रहरीको तस्करविरुद्ध दिनहुँको अपरेसनले बाँकेका तस्करहरुको सातो नै गएको छ । सशस्त्र प्रहरी प्रमुख बस्नेत बेला(बेलामा आफैं चेकपोस्ट लगायत विभिन्न साना तथा ठुला नाकामा गएर आफैं अवैध समाग्री बरामद गर्दै आएका छन् ।