सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कस्तो छ प्रधानमन्त्री प्रचण्डको चारदिने भारत भ्रमण तालिका

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चारदिने भारत भ्रमणका लागि आज (बुधबार) प्रस्थान गर्दैछन्।

नेपाल एयरलाइन्सको नियमित उडानमार्फत् दिउँसो १ बजे भारत प्रस्थान गर्ने कार्यतालिका रहेको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जानकारी दियो।

त्यसअघि उनले मध्याह्न १२ः२५ बजे त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गर्नेछन्।

१० पुसमा तेस्रोपटक प्रधानमन्त्री बनेपछिको यो उनको पहिलो विदेश भ्रमण हो।

प्रधानमन्त्री प्रचण्ड दिउँसो २ः२५ बजे दिल्ली अवतरण हुनेछन्। त्यहाँ उनलाई भारतका राज्यमन्त्री र विदेश मन्त्रालयका अधिकारीहरूले स्वागत गर्नेछन्।

त्यसपछि प्रधानमन्त्री प्रचण्ड सीधै होटल मौर्य प्रस्थान गर्नेछन् भने त्यहाँ भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग भेटघाट गर्ने बताइएको छ।

डोभलसँगको भेटघाटपछि प्रधानमन्त्री नेपाली राजदूतावासले आयोजना गरेको रात्रिभोजमा सरिक हुनेछन्। रात्रिभोजका क्रमा प्रधानमन्त्री प्रचण्डले प्रवासी नेपालीहरूलाई पनि सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ।

बिहीबार बिहान ११ः०५ बजे प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता हुनेछ। त्यसअघि उनले राजघाटस्थिल महात्मा गान्धीको समाधिस्थल पुगेर पुष्पहार अर्पण गर्नेछन्।

लगत्तै केही परियोजनाको उद्घाटन र पत्रकार सम्मेलन आयोजना हुने र पत्रकार सम्मेलनमा दुवै प्रधानन्त्रीले सम्बोधन गर्नेछन्।

त्यसपछि ४ बजे भारतका उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेट गर्ने कार्यक्रम तय गरिएको छ। अपराह्न साढे चार बजे प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्नेछन्।

साँझ साढे पाँच बजे नेपाल, भारत दुवै देशका उद्योगी, व्यवसायीलाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ।

तेस्रो दिन प्रधानमन्त्री प्रचण्डले मध्यप्रदेशको उज्जैनमा महाकालेश्वरको पूजाअर्चना गर्नेछन्। त्यसपछि उनी इन्दोर प्रस्थान गर्ने कार्यसूची रहेको छ। 

त्यही दिन उनले मध्यप्रदेशका राज्यपालसँग पनि भेटघाट गर्नेछन्।

भ्रमणको चौथो दिन अपराह्न ४ः२० बजे दिल्लीबाट प्रधानमन्त्री प्रचण्डको फिर्ती उडान हुने बताइएको छ।

भ्रमण टोलीमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, ऊर्जा, जलस्रोत तथा सिञ्चाइमन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्रमन्त्री एनपी साउद, अर्थमन्त्री डा. प्रकाशशरण महत, उद्योगमन्त्री रमेश रिजाल रहेका छन्।

त्यस्तै मुख्यसचिव शंकरदास वैरागीसहित ८ जना सचिवहरू पनि भ्रमण टोलीमा रहेको बताइएको छ।

भ्रमण टोलीमा केही उद्योगी, व्यवसायी र पत्रकारसमेत रहेका छन्।

भर्खरै

सम्बन्धित खबर

Language »