©नवीन ‘पल्लव’
सहेर कैंयौं चोटहरू
अभावको फुलबारीमा
हुर्किरहेछन् मुनाहरु
कहिले आँधी बनेर आउँछ
कहिले बाढी बनेर आउँछ
यता पल्टाउँछ,
उता पल्टाउँछ
निमोठ्न खोज्छ आँकुराहरु
न चोइटियोस् मन
न भाँचियोस् मुना
खिलखिलाओस् फुल भनेर माली
रातोदिन एक गरिरहेछ
चुपचाप सहेर पनि
परचक्रीका दुच्छर बचनहरु
बगाइरहेछ पसिना
बेचिरहेछ रगत
बाध्यताले जुराएको कर्मभूमिमा
हे सरकार!
तेरो शासनमा
अबोध मुनाहरु
अभावको जाँतोमा
पिल्सिरहनु पर्ने हो ?
धुजाधुजा पार्दै
रहरका अनगिन्ती पानाहरू
कल्पनाको डस्टविनमा
फ्यांकिरहनु पर्ने हो ?
या त
स्वाभिमानै बेचेरै पनि
सपनाहरुको टेको बन्न नसकेका मालीहरुले
अस्तव्यस्त आंकुराहरु
लथालिङ्ग छाडेर
हैरान जिन्दगीको जिजीविषा
बिट मार्नु पर्ने हो ?
©नवीन ‘पल्लव’ को facebook wall बाट
(शुभ प्रभात काव्य गोष्ठीमा आज वाचित कविता
नोट: नागार्जुन साहित्यिक प्रतिष्ठानले सञ्चालन गर्ने नियमित काव्य गोष्ठीमा हरेक सर्जकका सिर्जनाहरु माथि समीक्षा गर्ने गरिन्छ।)