काठमाडौं । सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिकाका प्रमुख, उप प्रमुख तथा अधिकांश वडा अध्यक्षहरु जनप्रतिनिधिको रुपमा काम नगरि कमाउ धन्दामा लागेको भन्दै बलेफी गाउँसभा सदस्य सुनील पौडेलले आफ्नो आधिकारीक फेसबुकमा स्टाटसनै हालेका छन् ।
बलेफी वडा नम्बर सातबाट नेकपा(एमाले)को तर्फबाट वडा सदस्यमा निर्वाचित पौडेलले बलेफीका जननिर्वाचित पालिका अध्यक्ष, उपाध्यक्ष र अपवाद बाहेकका वडाध्यक्षहरु समाज र जनताप्रतिको आफ्नो कर्तव्य, जिम्मेवारी र उत्तरदायित्वलाई पूरै बेवास्ता गरेर आफ्नो जित, पदीय शक्ति र दलीय अनि व्यक्तिगत स्वार्थबाट प्रेरित भई सोही किसिमको स्वार्थ र आत्माकेन्द्रित गतिविधिमा लागेर सिङ्गो समाज र जनसमुदायप्रति सरासर अन्याय गरिरहनुभएको,पालिकाका कतिपय कर्मचारीहरुले पनि जनप्रतिनिधिका नकामको विरोध र रोकमा सचेततापूर्वक लाग्नुको सट्टा टुलुटुलु हेरेर बसि रहेको भनेका छन् ।
उनको फेसबुक स्टाटस जस्ताको तेस्तै
हार्दिक आह्वान , अपिल र अनुरोध
समाजका जो कोहीले सामाजिक हितका निम्ति चिन्तन र व्यवहार गर्नुपर्छ । त्यसमाथि जनप्रतिनिधिले त सामाजिक न्याय स्थापनालाई आफ्नो परम कर्तव्य ठान्नुपर्छ र त्यस अनुसारको व्यवहार गर्नुपर्छ ।
तर बलेफीका जननिर्वाचित पालिका अध्यक्ष, उपाध्यक्ष र अपवाद बाहेकका वडाध्यक्षहरु समाज र जनताप्रतिको आफ्नो कर्तव्य, जिम्मेवारी र उत्तरदायित्वलाई पूरै बेवास्ता गरेर आफ्नो जित, पदीय शक्ति र दलीय अनि व्यक्तिगत स्वार्थबाट प्रेरित भई सोही किसिमको स्वार्थ र आत्माकेन्द्रित गतिविधिमा लागेर सिङ्गो समाज र जनसमुदायप्रति सरासर अन्याय गरिरहनुभएको छ । पालिकाका कतिपय कर्मचारीहरुले पनि जनप्रतिनिधिका नकामको विरोध र रोकमा सचेततापूर्वक लाग्नुको सट्टा टुलुटुलु हेरिबस्नु र साथ दिनु दुखलाग्दो छ ।
पद र बहुुमतका आडमा कमाउधन्दा चलाउने जस्तो घृणित कार्यमा तपाईंहरु लागिरहनुभएको कुरा तपाईंले जति लुकाउन खोजेपनि हामी जनताबाट छिपेको छैन ।
शिक्षकको सरुवा र दरबन्दी मिलानमा तपाईंका स्वार्थले समाजमा चरम अन्याय भएको हामी आम जनताले निगरानी र मूल्याङ्कन गरिरहेका छौं ।
एकदुई जना व्यक्तिको हित, सहजता र स्वार्थपूर्ति लागि ठूलो जनसमुदायलाई अहित हुने किसिमको काम गर्नु सरासर सामाजिक अन्याय हो । आवश्यकताका आधारमा समानुपातिक र न्यायीक वितरण नगरेर एकदुई थान मानिसको आग्रह र पूर्वग्रहमा अन्यायपूर्ण, असामाजिक र अराजनीतिक वितरण र व्यवहार गरिएको टुलुटुलु हेरेर बस्न हुँदैन र सकिँदैन । अन्याय गर्नु महापाप हो भने अन्याय सहनु पनि पाप नै हो । कोहीलाई पोस्न कसैलाई मार्न र मर्न दिन सकिँदैन ।
यसर्थ मैले अन्यायका विरुद्धमा उत्रने आफ्नो सदासर्वदाको नीति बमोजिमका गतिविधिलाई तीव्रताका साथ गति दिने निधो गरेको छु । आशा छ सामाजिक अन्यायविरुद्धको जिम्मेवारीवोध भएका तमाम न्यायप्रेमी जनसमुदायको साथ प्राप्त हुनेछ ।
केही सामान्य थिचोमिचो सहियो वा वेवास्ता गरियो । आफूभन्दा उच्च ओहदाको जनप्रतिनिधिको विवेकले भ्याएन भनेर आफ्नो ब्रह्मले बुझेको र सही ठानेको सल्लाह सुझाव दिइयो । सुझाव ग्रहण गर्नुपर्नेले नगरेपनि त्यसलाई उसको अविवेकपुर्ण विचार र व्यवहार मानेर सहियो । दलगत विरोधको भाष्य नबनोस् भनेर पनि कतिपय विरोधयोग्य सन्दर्भमा समेत मौन बसियो ।
तर असामाजिक र अन्यायपूर्ण व्यवहार सच्चिनु र सुध्रनुको सट्टा झन् झन् बढ्न थालेको छ । अब पनि अन्यायको पराकाष्ठा सहेर बसियो भने अन्यायको दोषको भागिदार आफैं पनि बन्नुपर्ने अवस्था आइलाग्न सक्ने खतरा बढेको छ ।
त्यसैले अब सामाजिक न्यायका निमित्त सबल र सशक्त ढङ्गले लागिपरिने छ । कृपया न्यायप्रेमी र सामाजिक हितापेक्षी जनसमुदायले सक्दो साथ र सहयोग गरिदिनु होला ।
हार्दिक आह्वान, अपिल र अनुरोधका साथमा धन्यवाद ।
( नोटः यो मेरो आम रुपमा सरोकारवाला सबैका लागि आह्वान हो । फेसबुक ट्यागको सिमिततालाई बुझिदिनुहुन पनि अनुरोध छ । ) सुनील पौडेल
वडा एवम् गाउँसभा सदस्य
बलेफी गाउँपालिका — ७,
सिन्धुपाल्चोक