लेख: GR Ranjit,
चण्डेश्वरी देवी काठमाडौँ उपत्यकाभरी नै प्रख्यात देवी हुन । वनेपामा चण्डेश्वरीको विशाल मन्दिर रहेको छ भने काठमाडौँको
टोखामा पनि प्रशिद्ध चण्डेश्वरी मन्दिर रहेको छ । धेरै नेवार समुदाय चण्डेश्वरीलाई कुलदेवी या इष्टदेवीको रूपमा पुज्ने गर्दछन । चण्डेश्वरी देवीलाई सनातन हिन्दू धर्मावलम्बीहरू चण्डेश्वरी भनेर मान्दछन । महायान बौद्धमार्गीहरू रक्षकको रूपमा मानिने एकजाती देवीको रूपमा पुज्दछन ।
चण्डेश्वरी देवी, वाग्मती र किंबदन्ति:
प्रशिद्ध चण्डेश्वरी देवीको उत्पत्ति बारे किंबदन्ति छ । श्लेष्मान्तक वनको पूर्वी भागमा रक्तचन्दनको वनदेवी चम्पावृक्षमा रहेकी छन । तिनको शरणमा जाउ तिमीहरुको जय होला भन्ने ऋषिहरुको उपदेश
देवताहरुले पाएपछि पहिले वाग्मतीमा स्नान गरी श्रीपशुपतिनाथको दर्शन गरी उनीहरु वनदेवीको शरणतिर लागे । गुह्येश्वरी, गोकर्णेश्वर, बज्रयोगिनी, दोलागिरिविषे गरुड नारायण र वागिश्वरी देवताको दर्शन गरी चाँडै चण्डेश्वरीको शरणमा पुगी स्तुति गरी बसे ।
वनदेवी चम्पक वृक्षबाट प्रकट भइन । सबैले दर्शन पाई पूजा मान्य स्तुति गर्दा ईश्वरी सन्तुष्ट हुँदा उसै बखत कोलाहल सुरु भयो । देवताहरु देवीको शरणमा गए भन्ने खबरले नारदले चण्ड दैत्यलाई कहन जाँदा चण्ड दैत्यलाई जम्मा गरी आइपुग्यो र देवताहरु ईश्वरीको चरणमा शरण गरी त्यहाँ रहन नसकी इन्द्रादि देवता मयूर हाँस आदि नाना पक्षी स्वरुपमा प्रवेश गरी लुकिरहे । भगवती पनि चम्पक वृक्षको अन्तरमा प्रवेश गर्दिभइन ।
चण्ड दैत्य सैन्यसहित गरी चम्पक वृक्षको समीप पुग्दा देवताहरु कोही देखिएनन र चण्डले चम्पक वृक्षमा प्रहार गरे । त्यहीँबाट ईश्वरी प्रकट भइन । अष्टभुजामा आयुधले सहित कोटी सूर्यसमप्रभा गरी सिंह चढेकी महादेवीमाथि दैत्यले अत्यन्त सुन्दरी देखी शस्त्रादि प्रहार नगरी रह्यो । दानवलाई देवीले देखी हुँकार गरिन । त्यसपछि महाघोर संग्राम भयो ।
चण्ड दैत्यले केही प्रकारसँग पनि देवीलाई जय गर्न नसकी आफ्नो बलहीन भएको देखी केही प्रश्न गर्न लागे । हे देवी तिमीकन मैले देवताहरुको अनुग्रहको निमित्त बसेकी देवीले शिवलिंग स्थापना गरी नसकुञ्ज्याल तिमीले मसँग युद्ध नगर्नू भनी युद्ध थामी शिवलिंग स्थापना गरी चण्डेश्वर भनी नाम राखिसक्या उप्रान्त फेरि युद्ध गर्दा दानवले प्रहार गरेको शस्त्रहरु व्यर्थ हुँदा चण्ड दैत्य बहुतै रिसाई मुठी बाँधी जाइलागे । आफूमाथि आइलागेको देखी देवताहरुको दुर्जय परम शत्रु भएको दानवलाई त्रिशुलले हृदयमा भेदी पृथ्वीमा लेटाइन भन्ने उल्लेख भाषा वंशावलीमा पाइन्छ ।
चण्डेश्वरीको स्थापना, नेपालपुरी र स्वस्थानी व्रतकथा:
चण्डेश्वरीको स्थापना र चण्ड दानवको बारेमा स्वस्थानी व्रतकथामा पनि उल्लेख छ । कथाको नेपाल खण्डमा लेखिए अनुसार ’चण्ड मुण्ड प्रचण्ड’ नाम गरेका दानवलाई नेपालपूरीमा राज गर्नाको सारै मन लागेछ । त्यसपछि उनी उक्त नेपालपुरीमा पर्ने जंगलमा पुगी दानवराज धर्तीपुत्रको आराधना गर्दै तपस्या गर्न थाले ।
दिव्य १० वर्षसम्म अत्यन्त क्रूरता र भयावह अवस्थाको सिर्जना गरी हजारौ हजार मानवको बली चढाइ स्तूति गर्न थालेपछि सम्पूर्ण नरनारीहरू त्राहीत्राही हुन थाले । उता दानवराज उनको तपस्याबाट खुसी भई के वर माग्छौ भन्दा चण्डमुण्ड प्रचण्डले “हे प्रभू॥ म नेपालपुरी जस्तो सुन्दर स्वर्ग नगरीमा राज्य गर्न पाऊँ, सात पुस्तालाई पुग्ने धन आर्जन होओस तर उक्त धन कसैले नदेखोस । मनले चिताएको सबै पुगोस्, हजुरको भत्तिमा यो चित्त लागिरहोस ।“ भनी मागे । यो सुनी दानवराजले तथास्तु भनी वरदान दिए भन्ने उल्लेख छ ।
हे अगस्त्य मुनी ॥ तहॉ उप्रान्त दानवराजका वरदानका प्रभावले चण्ड मुण्ड नेपालपुरीमा राज गर्दै नेपालवासीमा त्राही त्राही गराउँदा भए । एक आपसमा मिलेर बसेका नर नारीहरुलाई जाति भाषा र धर्मका नाममा काटाकाट मारामार गर्न लगाई आफू रमिता हेर्ने गर्दथे । यिनै चण्ड दानवलाई परास्त गरेकी देवीको रुपमा चण्डेश्वरी देवीको स्थापना गरिएको हो ।
भक्तपुर जिल्लाको चण्डेश्वरी मन्दिर:
भक्तपुर नगरपालिका वडा नं ५ चासुखेलमा माता चण्डेश्वरीको भब्य मन्दिर अवस्थित रहेको छ । दुईवटा मयुरको मुर्ती सहित निर्मित सुनौलो मन्दिर हेर्ने जो कोहिलाई मोहित पार्दछ । भक्तपुर जिल्लाको चण्डेश्वरी मन्दिर उपत्यकाको पुरानो मन्दिरहरु मध्य एक हो । सम्भवत लिच्छवि राजा आनन्ददेवको पालामा निर्मित यस मन्दिरमा बर्षको २ दिन जात्रा हुने गर्दछ । बैसाख शुक्ल पुर्णिमाका अघिल्लो दिन र पुर्णिमाका दिन मनाइने चण्डेश्वरी जात्रा अरु जात्रा भन्दा पृथक रहेको छ । अघिल्लो दिन मनाउने जात्रालाई “तिप्वा” जात्रा भनिन्छ । यस दिन माता चण्डेश्वरीको मुर्तिलाई आगो तपाउने गरिन्छ । यो पृथक जात्रा हेर्न भक्तालुहरुको धुइचो लाग्ने गर्दछ । भोलिको दिन हिन्दु परम्परा अनुसार बलि दिई पुजा गर्ने गर्दछ जसलाई “बलिपुजा” पनि भनिन्छ । बलिपुजापश्चात् चण्डेश्वरीको खटलाई दरवार परिक्रमा गर्ने गरिन्छ । राजा आनन्ददेव चण्डेश्वरी माताको भक्त थिए । दिनहुुँ माताको दर्शन नगरी दिनचर्या सुरु गर्दैनथिए । समय बित्दै गयो: राजाको बुढेसकालले माताको दर्शन गर्न आउन नसकेपछि माताले नै आफ्नो दर्शन गराउन दरवार गएर दर्शन दिएको भन्ने किंवदन्ती रहेको छ । तसर्थ चण्डेश्वरीको जात्रा दरवारदेखि दत्तात्रय (पुरानो लायकु दरवार) सम्म मात्र हुने गर्दछ । जात्राको क्रममा टिप्वा (निगालोको मुठ्ठा) बाल्ने पनि गरिन्छ । अन्तमा एकदम रमणीय जात्रा हुने गर्दछ जसलाई “चतामरी जात्रा” भनिन्छ । यस जात्रामा भक्तपुरको कुटुपालीमा चण्डेश्वरी माताको खटलाई एकतर्फ मात्र बोकि घिसारेर तानिन्छ (स्थानिय भाषामा धकु टुकु गर्ने भनिन्छ) भने भक्तालुजनहरुले चतामरी उडाउने गरिन्छ । आकासतिर हेर्दा चराहरु उडेको जस्तै गरि चतामरी उडाउने गरिन्छ । बनेपाको प्रसिद्ध जात्रामा चण्डेश्वरी जात्रा हो । यस चण्डेश्वरी जात्रा सुरु गर्न भक्तपुरको चण्डेश्वरीको फुल र प्रसाद नलगे सम्म बनेपामा जात्रा सुरु गर्दैनन ।
काठमाडौँ जिल्लाको टोखाको चण्डेश्वरी मन्दिर:
काठमाडौंको उत्तरपूर्वतिर पर्ने टोखाको केही उत्तरमा प्रसिद्ध चण्डेश्वरीको मन्दिर छ । काभ्रेको चण्डेश्वरी सरह यो मन्दिर पनि वनभित्र पर्दछ । यहाँ चण्डिकाको ध्यान गरी चण्डिकेश्वर महादेवको स्थापना भएको विश्वास गरिन्छ । तसर्थ चण्डेश्वरी स्थान नजिकै चण्डिकेश्वर महादेवको मन्दिर पनि स्थापना गरिएको छ । यस स्थानमा चण्डिकाको इच्छाशक्ति पूरा भएको पनि विश्वास गरिन्छ । यस स्थानलाई मृगेन्द्र पर्वत पनि भन्ने गरिन्छ । श्री स्वस्थानी ब्रतकथा माधबनारायणको १ महिना ब्रत काठमाडौँ जिल्लाको टोखाको चण्डेश्वरीमा बस्ने गरिन्छ । टोखाको चण्डेश्वरीमा १ महिनासम्म मेला लाग्दछ। टोखाको चण्डेश्वरी मन्दिरलाई ३३ कोटी देवी देवताको देवस्थल पनि भनिन्छ। पुष महिनादेखि शुरू भएको स्वस्थानीको ब्रतकथामा एउटा प्रसंग छ: दक्ष प्रजापतिलाई अन्य प्रजापतिहरूका समान ब्रह्माजीले आफ्नो मानस पुत्रका रूपमा रचेका थिए। दक्ष प्रजापतिको विवाह स्वयं भुव मनुको तृतीय कन्या प्रसूतिका साथ भएको थियो। दक्ष प्रजापतिकी पत्नी प्रसूतिले सोह्र कन्याहरूलाई जन्म दिइन् जसमा स्वाहा नामक एउटा कन्याको अग्निको साथ, सुधा नामक एउटा कन्याको पितृगणका साथ, सती नामक एउटा कन्याको भगवान शिव शंकरका साथ, र शेष तेह्र कन्याहरूको धर्मका साथ विवाह भयो। दक्ष प्रजापतिले एउटा विशाल यज्ञको आयोजना गरेका थिए जसमा द्वेषवश उनले आफ्नो ज्वाई भगवान शंकर र आफ्नी पुत्री सतीलाई निमन्त्रित गरेनन्। सती त्यस यज्ञमा नबोलाईकन गइन्। यज्ञस्थलमा दक्ष प्रजापतिले सती र शंकरजीको घोर निरादर गरे। अपमान सहन नसकेको कारण सतीले तत्काल यज्ञस्थलमा स्वयंलाई भस्म गरिदिइन्। सतीको मृत्युको समाचार पाएर भगवान शंकरले वीरभद्रका द्वारा त्यस यज्ञको विध्वंश गराई दिए। वीरभद्रले दक्ष प्रजापतिको शीर पनि काटे। पछि ब्रह्माजीको प्रार्थना गर्नमा भगवान शंकरले दक्ष प्रजापतिलाई त्यसको शीरका बदलामामा बोकाको शीर प्रदान गरेर त्यस यज्ञलाई सम्पन्न गराए। त्यसपछि भगवान शिव सतीदेवीको मृत शरीरलाई बोकेर पागल सरि हिडेको थिए। सतीदेवीको प्राण हरण भएको सो यज्ञस्थल यही पवित्र भुमी चण्डेश्वरी मन्दिरको प्रांगनमा भएको विश्वास गरिन्छ।
काभ्रे जिल्लाको बनेपा शहरको चण्डेश्वरी मन्दिर:
काभ्रे जिल्लाको बनेपा शहरको उत्तरपूर्वी दिशामा प्रसिद्ध चण्डेश्वरीको मन्दिर रहेको छ । मध्यकालतिरको यो मन्दिर नेपाली प्यागोडा शैलीमा निर्मित छ । यसको जीर्णोद्धार ने.सं. ८०१ तिर जगज्योति मल्लले गराएका थिए । हिमवत्खण्ड पुराणमा चण्डेश्वरी भगवतीले चण्ड दैत्यको संहार गर्न माता पर्वतीले माता चण्डेश्वरीको रुप धारण गर्नु भएको थियो । चण्डेश्वरी माता काठमाण्डौको स्वेतकाली (नरदेवी) कि छोरी पनि मानिन्छ । दैत्यको संहार पछि बाजागाजाका साथ जात्रा गरि देवताहरुले स्वर्ग लग्नु भएका थिए । यसै दिनलाई स्मरण गरि चण्डेश्वरी जात्रा गर्ने गरिन्छ । चण्डेश्वरी मातालाई नेवारीमा चासुद्य: भन्ने गरिन्छ र चासुद्य:को जात्रा मनाउने दिनलाई चासु पुन्ही भनिन्छ । चण्डेश्वरी मन्दिरको स्थापना राजा आनन्द देवले गराएका थिए भन्ने उल्लेख पाइन्छ । चण्डेश्वरीलाई कन्यादेवीको रुपमा पनि मानिन्छ । १० वर्षभन्दा कम उमेरका कन्याद्वारा यिनको पूजाआजा गर्ने चलन छ । चण्डेश्वरीको मूर्ति काठबाट निर्मित रहेको छ । चण्डेश्वरीले देवताहरूलाई दानवको प्रताडनाबाट बचाएको मान्यताका कारण यी देवीलाई चण्डेश्वरीका रूपमा पूजाआजा गर्न थालिएको हो । चण्डेश्वरी मन्दिरका भित्तामा विभिन्न चित्रहरू कुंदिएका छन । मध्यकालिक यी भित्तेचित्रहरू निकै महत्वपूर्ण मानिन्छन् । हाल वर्षमा एक पटक चण्डेश्वरी भगवतीलाई खटमा राखेर बजार घुमाउने चलनसमेत रहेको छ ।
बनेपा शहरको चण्डेश्वरी मन्दिर र किंबदन्ति:
वनेपाको चण्डेश्वरी शक्तिपीठ दश महाविद्या मध्येको एक हो ।
यस पुण्य क्षेत्रमा सत्ययुगमा नै भृगु ऋषि को छोरा च्यवन ऋषिले शिवजीको तपस्या गर्न उपयुक्त स्थान खोज्दै त्यस पुण्य भूमिमा आईपुगेको उल्लेख छ । भृगु ऋषि भबिश्य दृष्त्वा र भबिश्यको बारेमा बक्ता भनि प्रसिद्ध थिए । उनका छोरा च्यवन ऋषि सत्यबादी, दयालु , र भय र क्रोध जितेका थिए जस्लाई पुज्य ऋृषिश्वर बन्ने ईच्छा जाग्यो । त्यसको लागि योगेश्वर च्यवन ऋषि ले बारह बर्षसम्म संख्या योगले शिवजी को तपस्या गरेर प्रसन्न पारेर बरदान प्राप्त गर्ने ईच्छा गरे ।च्यवन ऋषि शिवजीको तपस्या गर्न उपयुक्त स्थान खोज्दै त्यहॉ आइपुगे र रुपावती र रुद्रावती को संगम उग्रतीर्थ देखेर आकर्षित भए । शोभायमान संगमक्षेत्रमा अबस्थित उग्रतीर्थ देखेर तपस्या गर्न योग्य स्थान ठहर गरी उग्रतीर्थमा स्नान गरी तपस्या गर्न बसे । च्यवन ऋषि शिव पंचाक्षरी मन्त्र जप गरेर , जितेन्द्रियलाई जितेर , निराहार वायु आहारमा बसेर , कठोर तपस्या गर्न त्यहॉ बसे । च्यवन ऋषिको कठोर तपस्या देखेर महादेव प्रसन्न भएर ज्योति रुप को दर्शन दिएर पुज्य च्यवन ऋषिको रुपमा प्रसिद्ध हुनेछौ भनेर बरदान दिएको उल्लेख छ ।
सत्ययुगमा नै अन्धक दैत्यको छोरा बीर चण्डासुर दैत्य नाम भएको एक वलवान दैत्य थियो । चण्डासुरलाई कठोर तपस्या गरेर महादेव लाई प्रसन्न पार्ने र तीनै लोकका सबैलाई बशमा पार्ने ईच्छा जागेर तपस्या गर्न स्थान खोज्दै जॉदा यही उग्रतीर्थमा आइपुगे । सो पुण्य क्षेत्रलाई उपयुक्त ठानेर त्यहीं उग्रतीर्थमा स्नान गरी उग्ररुप स्वयम्भू शिवलिंग को महामन्त्र जप गरेर तपस्या गरे । त्यस्तो कठोर उग्रतपस्या गरेको देखेर शिवजी प्रसन्न भएर प्रत्यक्ष दर्शन दिएर बरदान माग्न आज्ञा दिए । चण्डासुरले प्रणाम गर्दै देव , दानव , मनुस्य कसैले पनि मार्न नसक्ने बरदान मागे । महादेवले अमरबाहेक अन्य बरदान माग भनेपछि चण्डासुरले नारी बाहेक अरु कसैले मार्न नसकुन भनेर मागे । महादेवले तथास्तु भनेर बरदान दिए ।चण्डासुरले यस्तो बरदान पाएपछि पातालमा गएर दैत्य फौजहरु जम्मा गरेर देवलोकमा आक्रमण गर्ने खबर ईन्द्रादि देवताहरुलाई पठाए । यो खबर पाएर देवताहरु पनि शस्त्रअस्त्रहरु लिएर युद्ध गर्न तैयार भए । दैत्यराज चण्डासुर र देवताहरु बिच घोर युद्ध भयो तर चण्डासुरको अगाडि टिक्न सकेनन् । चण्डासुर दैत्यको तेज र बल बढ्दै गएको देखेर देवताहरु सबै भागेर यस पुण्य भूमिमा महादेवको शरणमा आए । देवताहरु देवलोक छोडेर भागेर गएता पनि चण्डासुर ले पिछा गर्न छोडेनन् । महादेवको शरणमा गएको थाहा पाएर चण्डासुर पछि लागेर त्यहीं पुगे । महादेवले शरणमा आएका देवताहरुलाई बचाउनको लागि चराचुरुंगी भएर रक्तचन्दन वनमा बृक्षहरुमा लुकेर बस्न सल्लाह दिए । चण्डासुरको नियत थाहा पाएर महादेवले गुह्येश्वरीको आराधना गरेर चण्डासुर दैत्यको बध गर्न आवाहन गरे । महादेवको आवाहनमा निराकार स्वरुपको दश महाविद्या मध्येको एक (श्री छिन्नमस्ता ) को रुपमा रक्तचन्दनको रुखमा अदृश्य भइन् । दैत्यराज चण्डासुरले देबताहरु रक्तचन्दन वनमा रुखमा लुकेर बसेको थाहा पाएर धमाधम रुखहरु काट्न र जंगल नै नाश गर्न लागे । यसरी रुख़ काट्दै जॉदा देबी बसेको रुख़ पनि काट्न पुगेछ । यसरी काटिएको रक्तचन्दनको रुखबाट ( शिर छेडन भएको छिन्नमस्ता को रुपमा ) देवी उत्पत्ति भइन् । त्यो देखेर चण्डासुर झन रिसाएर देवी माथिनै आक्रमण गरे । देवी र चण्डासुर बिच कठोर घोर युद्ध भयो । चण्डासुरले पुरा बल लगाएर युद्ध गर्दा पनि हराउन सकेन । यो देखेर चण्डासुरले सबै प्रकारका शस्त्र अस्त्र हरु प्रयोग गरे । तर यसले देवीलाइ पटक्कै नछोएको देखेर चण्डासुर तर्से र महादेवको बरदान याद गरे । महादेवको बरदान अनुसार नारीको हातबाट मृत्यु हुने कुरा सम्झेर झस्केर डराए । यसरी आफु कमज़ोर भएको महसुस गरेर चण्डासुर युद्ध मैदानबाट भागे । चण्डासुर दैत्य भागेको देखेर देवीले पछ्याउंदै गएर बनेपा वकुटोल नेर चण्डासुरको बध गर्नु भयो । दैत्यराज चण्डासुरको बध भएपछि अन्य दैत्यहरुको पनि भागमभाग भए । देवी स्वयम् आफु सोही काटिएको रुखमा फर्केर गएर महादेवसंग बिंदा लिइन् । सोही बेलामा सबै देवताहरु र मनुष्यहरु मिलेर आराधना गर्न लागेर त्यही शक्ति पीठको रुपमा उत्पत्ति हुन आग्रह गरे। यसरी चण्डेश्वरी शक्ति पीठ: काठको शक्ति पीठमा स्थापित भएको मान्यता छ । यसबाट पनि चण्डेश्वरी शक्तिपीठ दश महाविद्या मध्येको एक हो भन्ने मान्यता रहन्छ ।
ईतिहास बिद् ज्ञानकाजी मानन्धर को खोज अनुसार ईसापूर्ब ५११ को तादपत्र नै भेटिएकोले पनि चण्डेश्वरीको ईतिहास धेरै पुरानो मान्न सकिन्छ । ईतिहासमा बंशावलीको आधारमा लिच्छवि राजा आनन्ददेवले बि स ११५१ मा सातगाउं बस्ती बसालेको उल्लेख भएको छ । तर यी सात गाउंहरुमा परापूर्ब कालदेखि नै शक्ति पीठहरु र स्वयम्भू शिवलिंगहरु स्थापित भएको धार्मिक ईतिहास छ ।
चण्डेश्वरी शक्ति पीठलाई वनेपावासीहरुले परापूर्ब काल देखि नै शक्तिको श्रोत र कुलदेवता मानेर आएका छन् । शास्त्र अनुसार शक्ति पीठ उत्पत्ति भएको पुण्य क्षेत्रमा शान्ति सुरक्षा क़ायम गर्ने , शक्ति पीठ वरिपरि मनोरम जंगल हुने , वस्तीहरु स्थापना र बृद्धि गर्न सहयोग पुग्ने , शक्तिको श्रोत र कुलदेवताको मान्यता हुने भनिए अनुसार चण्डेश्वरी शक्तिपीठमा यी सबै कुराहरु पुर्याएको पाईन्छ।
चण्डेश्वरी शक्तिपीठ दश महाविद्या मध्येको एक हो ।यो कुरा चण्डेश्वरी शक्तिपीठको उत्पत्तिको आधारमा पनि भन्न सकिन्छ । यस चण्डेश्वरी मन्दिर अगाडि शिला स्तम्भमा मयूरको मूर्ति छ ।
चण्डेश्वरी शक्तिपीठको आगनमा अबस्थित शिवलिंग, चण्डेश्वर चौसट्ठी शिवलिंग हरु मध्येको एक हो । चण्डेश्वरको आवाहनमा चण्डेश्वरी प्रकट भएर चण्डासुरसंग युद्ध गरेर बध गरेको मानीआएको छ । चण्डेश्वरी रक्तचन्दन रुख़ काट्दा प्रकट भएकि हुन् र सोही काटिएको भागमा पीठको रुपमा अबस्थित छन् भन्ने मानिएको छ । अहिले पनि सोही रक्तचन्दनको रुखको टुकडालाई नै शक्तिपीठ मानिन्छ र पूजा गरिन्छ र शक्ति साधना भइरहेको छ । यस शक्तिपीठमा अष्ट मातृकाहरु पनि भएको मान्यता छ । चण्डेश्वरी सिंह वाहन भगवतीको साकार मूर्ति नभइ एक निराकार शक्ति पीठको रुपमा स्थापित भएको पाईन्छ । चण्डेश्वरी “मयूर-वाहन कौमारी” चन्द भैरबसंग बसेको देखिंदैन । चण्डेश्वरीमा अष्ट मातृकाहरुको गुणहरु पनि देखिंदैनन् । चण्डेश्वरी जात्रामा हुने जात्रामा पनि सिधा जलेश्वर शिवलिंगको पूजा गरि साथ लिई चण्डेश्वरीको मत पूजा भएको पाईन्छ: हुन त ईतिहासबिद् ज्ञानकाजी मानन्धरज्यु अनुसार मत पूजा चण्डेश्वरी देवीलाइ लसकुस अर्थात् स्वागत गर्न प्रतीकको रुपमा गरिएको हो भन्नुहुन्छ । यसरी चण्डेश्वरी शक्तिपीठलाई दश महाविद्या मध्येको एक छिन्नमस्ता हो भन्न पुरा आधारहरु नेवा दर्शन र सिद्धान्तमा आधारित छन् ।