काठमाडौँ ।अस्ट्रेलियाले ट्वान्टी-२० विश्वकप २०२४ मा विजयी सुरुआत गरेको छ । समूह ‘बी’ को खेलमा अस्ट्रेलियाले सजिलै ओमानलाई ३९ रनले हराएको हो । ओमानको भने यो लगातार दोस्रो हार हो । जितका लागि १ सय ६५ रनको लक्ष्य पाएको ओमानले २० ओभरमा नौ विकेट गुमाएर १ सय २५ रन मात्र बनाउन सक्यो ।
ओमानका लागि आयान खानले ३० बलमा बनाएको ३६ रन नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो । यस्तै मोहरन खानले २७ रनको योगदान गरे । अस्ट्रेलियाली बलरमध्ये मार्कस स्टोइनसले तीन ओभरमा १९ रन खर्चेर तीन विकेट लिए । यस्तै मिचेल स्टार्क, नथान एलिस र एडम जाम्पाले दुई दुई विकेट लिए ।
त्यस अगाडि पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले पाँच विकेटमा १ सय ६४ रन बनाएको थियो । त्यसमा ब्याटबाट पनि चम्केका स्टोइनसले ३६ बलमा ६७ रन बनाए । उनले दुई चौका र छ छक्का प्रहार गरे । यस्तै ओपनर डेविड वार्नरले ५१ बलमा ५६ रन जोडे । उनले भने छ चौका र एक छक्का प्रहार गरे ।